विराटनगर । भारतदेखि तस्करी गरि प्रतिबन्धित औषधी ल्याएको आरोपमा पक्राउ परेका आरोपीलाई औषधी व्यवस्था विभाग विराटनगरले ‘हाजिरी जमानत’ मा छोडेको छ ।
प्रतिबन्धीत औषधीसहित पक्राउ परेका विराटनगर–१३ का ३६ वर्षीय नरेश यादवलाई विभागले आइतबार हाजिरी जमानतमा छोडिदिएको हो ।
मोरङ प्रहरीबाट खटिएको टोलीले प्रतिबन्धित चार कार्टुन औषधीसहित ८ मंसिरमा यादवलाई पक्राउ गरेको थियो । सिआरबी जतुवाको टोलीले यादवको घरमा भण्डारण गरिएको अवस्थमा ‘रेमडिसिभिर’ इन्जेक्सनसहितका औषधी व्यवस्था विभागमा दर्ता नभएका प्रतिबन्धित औषधीहरू बरामद भएको थियो ।
घरबाट तस्करीको औषधी बरामद भएपछि यादवलाई प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि ९ मंसिरमा औषधी व्यवस्था विभाग विराटनगरलाई बुुझाएको थियो । प्रहरीले बुझाएलगत्तै विभागले ९ मंसिरमा पक्राउ परेका यादवलाई मोरङ अदालतमा ‘प्रतिबन्धित औषधीको पैठारी तथा ओसारपसार’ मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरू गरेकोमा तीन दिनमै छाडेको हो ।
विभागका प्रमुखसहितका कर्मचारीहरूलाई राजनीतिक दलका नेता र व्यवसायीहरूले दवाब दिएपछि यादवलाई अदालतमा उपस्थित गराउने सर्तमा छोडेको विभाग स्रोतको दाबी छ । आरोपी यादवलाई छुटाउन प्रहरीले पक्राउ गरेको दिनदेखि तस्करीमा संलग्न गिरोहको प्रभावमा परेर एक जना नेकपाका केन्द्रीय तहका नेता र केही व्यवसायी लागिपरेका थिए ।
मोरङ प्रहरीले दबाबबीच पनि ओरोपीलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभागलाई बुझाएको थियो । प्रतिबन्धित औषधी सम्बन्धी मुद्दा औषधी व्यवस्था विभागले अनुसन्धान गरि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग दर्ता गर्दछ । तर, यसरी आरोपलाई हाजिरी जमानतमा छोडेर विभागले अनुसन्धान गर्दा प्रतिवादीले प्रमाण लोप गराउनसक्ने कानून व्यवसायी बाताउँछन् ।
औषधी व्यवस्था विभाग विराटनगरले घटनामा अनुसन्धान भइरहेकोले मुख्य व्यक्तिलाई पक्राउ गर्न प्रतिवादीलाई बोलाएको बेला उपस्थित हुनेगरि हाजिर जमानतमा छोडेको जानकारी दिएको छ । अहिले नै यो मुद्दा टुंगोमा नपुगेकोले अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै आएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले जानकारी दिनुभयो ।
तस्करीको औषधी मगाउने फरार
यादवलाई प्रयोग गरि तस्करी गरि औषधी मगाउने स्वास्थ्य क्षेत्रमा व्याक्ति रहेको औषधी व्यवस्था विभागको अनुसन्धानबाट खुलेको छ । भारतदेखि तस्करी गरि विराटनगरसम्म प्रतिबन्धित औषधी ल्याउने यादवले निश्चित रकम पाउने गर्दछ ।
कति रकम यादवले पाउथे त्यो अहिले नै नखुलेको बुझिएको छ । प्रतिबन्धीत औषधी मगाउने व्यक्त फरार छन् । विभागले ती व्यक्तिलाई पक्राउ मोरङ प्रहरीलाई पत्रचार गर्दा पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।
यादवलाई तस्करीको औषधी मगाउने स्वास्थ्य क्षेत्रमा व्यक्ति रहेको औषधी विभागको अनुसन्धानबाट खुलेको छ । उनी ग्रामिण क्षेत्रमा बसोवास गरि विराटनगरसहितका अन्य स्वास्थ्य क्षेत्रको हव भएको ठाउँमा तस्करीको औषधी कारोबार गर्ने यस क्षेत्रका जानकारहरू बताउँछन् । प्रहरीले तस्करीको औषधी मगाउने व्यक्ति पक्राउ गरि नसकेको कारणले परिचय गोप्य राखेको छ ।
मंसिर ८ गते मोरङ प्रहरीले विराटनगर–१३ सैनिक टोलका नरेश यादवको घरदेखि १० भाइल रेमडिसिभिर इन्जेक्सन, औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ सहितका चार कार्टुन विभिन्न नाम गरेको औषधी बरामद गरेको थियो ।