स्थानीय तहमार्फत मल वितरण गर्ने सरकारको तयारी

विराटनगर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले अब स्थानीय सरकारमार्फत किसानलाई रसायनिक मल वितरण गर्ने बताउनुभएको छ । मल आपुर्ति र वितरणको विद्यमान परिपाटीलाई निरन्तरता दिएर समस्या समााधान नहुने निष्कर्शपछि स्थानीय सरकारलाई अधिकार दिने नीति तर्जुमा गरेको मन्त्री भुषालले बताउनुभएको हो ।

विराटनगरमा पार्टीका अगुवा नेताहरुसँगको छलफलका क्रममा मन्त्री भुषालले किसानका लागि सरकारले अनुदानमा ल्याएको मल उद्योगहरुले प्रयोग गरेर दुरुपयोग हुने समस्या समाधान गर्न गाउँ तथा नगरपालिकामार्फत रसायनिक मल वितरण गर्ने निर्णय लिएको जानकारी दिनुभयो । मन्त्रालयले त्यसका लागि आवश्यक कार्यविधि पारित गरिसकेको भन्दै उहाँले स्थानीय सरकारले स्थानीय सहकारीहरु मार्फत मल वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण संघीय मन्त्रालयले वेवसाइटमै प्रशासन गर्ने गरी तयारी पुरा गरेको बताउनुभयो ।

किसानलाई अनुदानमा वितरण गर्न सरकारले ल्याएको रसायनिक मल रक्सी उद्योग, रेक्जिन उद्योग, दाना उद्योग आदिले प्रयोग गरिरेहेको भन्दै मन्त्री भुषालले त्यसलाई नियन्त्रण गर्न पनि स्थानीय सरकारले सहकारी मार्फत मल वितरण गर्नु उपयुक्त हुने बताउनभुयो । किसानहरुले धान खेतीका लागि प्रयाप्त मल नपाएपछि आफ्नो आलोचना भएको र आलोचना स्वभाविक भएको भन्दै उहाँले न्यून मूल्यमा ठेक्का लिने नयाँ ठेकेदारले मल ल्याउन नसक्दा सरकारले आलोचना व्यहोर्नु परेको बताउनुभयो ।

कोरोना महामारीका कारण लामो समय पानी जहाजहरु बन्द भएका कारण पनि मल आउन नसक्ने कारण बनेको उहाँको भनाई थियो । नेपालमा मल आयात गर्न धेरै जटिलताहरु रहेको भन्दै मन्त्री भुषालले मन्त्रालयले नीतिगतरुपमै सुधारको प्रयत्न गरिरहेको बताउनुभयो ।

‘विगत ४० वर्षदेखि जुन प्रणालीबाट मल आउँथ्यो र जस्ता समस्याहरु थिए अब त्यसलाई अन्त्य गर्ने तर्फ काम थालिएको छ,’ मन्त्री भुषालले भन्नुभयो ‘इन्धनको आयात र मूल्यमा जस्तै स्वचालित मूल्य प्रणालीमा आधारित हुनेगरी मल आयात गर्ने काम यसै वर्षबाट सुरु गर्छौं ।’ संघीय सरकारबाट कृषि चलाएसम्म उत्पादन बढाउन नसकिने र समस्याहरु समाधान गर्न नसकिने मन्त्री भुषालको बुझाई छ ।

कृषि क्षेत्रमा बिचौलिया अन्त्य गर्नेतर्फ काम गरिरहेको भन्दै भुसालले दलाल पूँजीवाद अन्त्य नभएसम्म राष्ट्रिय पूँजीको विकास सम्भव नहुने उल्लेख गर्नुभयो । ‘दलाल पूँजीवाद जहाँ छ, मैले त्यही प्रहार गरिरहेको छु र त्यो क्रम जारी राख्नेछु’ उहाँले भन्नुभयो । मजदुर किसानको नेतृत्व गर्ने पार्टी सरकारमा पुगेको बेला मजदुर र किसानहरु नै बेखुसी हुने अवस्था अन्त्यन्त गम्भीर रहेकोले पार्टी नेतृत्वले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

रसायनिक मल नआएपछि आफूमाथि पनि प्रश्नहरु उठेको र दिगो समाधान दिएर त्यसको जवाफ दिने मन्त्री भुषालले बताउनुभयो । उहाँले खेतीयोग्य जमिनहरु टुक्रिदै जाने क्रमलाई रोक्न दिर्घकालमा बपौति कर लागू गर्ने र मानिसहरुलाई स्वरोजगार बनाउँदै लैजानेगरी सरकारले काम गर्ने पनि बताउनुभएको छ ।

कार्यक्रममा किसानले मल नपाएको, उत्पादनले मूल्य नपाएको, उत्पादन वृद्धि तर्फ सरकारको ध्यान नपुगेको, बजार व्यवस्था नभएको, उत्पादन सुरक्षाका लागि भण्डारहरुको प्रवन्ध नभएको, आन्तरिक उत्पादन प्रोत्साहन गर्न आयातमा कडाई नभएको, अनुदान वितरणमा वास्तविक किसानहरुको सहभागिता नहुने र सहरीया घरानीयाहरुले अनुदान कब्जा गर्ने गरेको जस्ता विषयहरु पार्टीका जिल्ला नेताहरुले प्रश्नको रुपमा उठाउनुभएको थियो । कार्यक्रममा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले कृषिसँग सम्वन्धित सूचनाहरु व्यवस्थित नभएको भन्दै ठूलो आन्दोलनबाट व्यवस्था, प्रणाली आदिमा परिवर्तन आएपनि जनताले अनुभूति भने गर्न नसकेको टिप्पणी गर्नुभएको थियो ।

मोरङका सचिव गणेश उप्रेतीले सहकारीहरु नयाँ सामन्तको रुपमा उदाएको र अहिलेकै ढंगबाट सहकारी सञ्चालन हुने हो भने किसानले उत्पादन बढाउन सक्ने अवस्था नरहेको भ्रन्दै सहकारीको बारेमा पुनर्बिचार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

शुक्रबार, ०९ असोज, २०७७, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर