विराटनगरबाट आजबाट हवाई उडान सुचारु : बुकिङ उत्साहजनक, भाडादर पुरानै

विराटनगर । कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि चैत ११ गतेबाट बन्द भएको नेपालको आन्तरिक हवाई सेवा ६ महिनापछि सोमबारबाट सुरु हुँदैछ । साविकको २५ प्रतिशत उडान गर्ने अनुमित सरकारले दिएकोमा सोमबार विराटनगरबाट काठमाडौका लागि हुने उडानको अधिकांश टिकट बुकिङ भएको छ ।

आन्तरिक हवाई सेवा पुनः आरम्भ हुने पहिलो दिन असोज ५ गते विराटनगरका लागि दुईवटा विमान कम्पनीले उडान भर्ने भएका छन् । बुद्ध एयरले ३ र यती एयरलायन्सले २ उडान गर्ने तालिका सार्वजनिक भएको छ । शुक्रबारदेखि टिकट बुकिङ्ग खुला भएकोमा यात्रुहरुको उत्साहजनक रेस्पोन्स पाएको विमान कम्पनीहरुले बताएका छन् ।

बुद्ध एयरका विराटनगर कार्यालयका प्रमुख कौशल भण्डारीका अनुसार बिहान ९ः५५ बजे बिराटनगरबाट काठमाडौका लागि हुने उडानको टिकट बुकिङ्ग सकिएर बन्द भइसकेको छ । त्यस्तै दिउँसो ३ः५० को उडानमा पनि केही थान टिकट मात्र बुकिङ्ग हुन बाँकी छ । अपरान्ह ५ बजेको उडानका लागि पनि आधाभन्दा बढी टिकट बुकिङ्ग भइसकेको र सबै सिट भरिने अवस्था देखिएको उहाँले बताउनुभयो ।

लामो समयदेखि बन्द रहेको उडान सुरु हुँदा यात्रु नपाउने चिन्तामा रहेका निजी वायु सेवा कम्पनीहरु सोचेभन्दा राम्रो टिकट बुकिङ्ग भएपछि उत्साहित देखिएका छन् । ‘हामीलाई यसरी टिकट बुकिङ्ग होला भन्ने विश्वास थिएन,’ भण्डारीले भन्नुभयो ‘तर, यात्रुहरु यात्रा गर्न उत्सुक पायौं र सोचेभन्दा धेरै राम्रो बुकिङ्ग भएको छ ।’ बुद्ध एयरले सोमबार विराटनगरबाट ७० सिटे बिमानमार्फत उडान भर्नेछ ।

यती एयरले पनि टिकट बुकिङ्गको अवस्था राम्रो रहेको जनाएको छ । अहिलेसम्मको बुकिङ्गको अवस्था हेर्दा सबै सिट भरिने अवस्था रहेको बताइएको छ ।

नेपाल वायु सेवा निगमको जहाजले मर्मत नभएका कारण तत्काल विराटनगरमा उडान हुनेछैन । विराटनगरमा नियमित सेवा दिँदै आएको श्री एयरलायन्सले तीन दिनपछिबाट मात्र सेवा आरम्भ गर्ने जनाएको छ । यस्तै सौर्य एयरले अक्टोबर १ देखि मात्र विराटनगरबाट सेवा आरम्भ गर्ने तयारी गरेको छ ।

निजी विमान कम्पनीहरुले कोरोना महामारीबाट आक्रान्त भएका नागरिकको हितलाई ध्यानमा राखेर न्यूनतम मूल्यमा टिकट बिक्री गरेका छन् । विराटनगर–काठमाडौं उडानको इकोनोमी क्लासको भाडा ४ हजार २५५ रुपैयाँ रहेकोमा विशेष स्किम दिएर ३ हजार ५०० रुपैयाँमा टिकट बिक्री गरिएको थियो । पछि यात्रुहरुलाई आकर्षित गर्न ३ हजार ३०० को स्किम दिएर टिकट बिक्री गरेको भण्डारीले जानकारी दिनुभयो ।

लामो समयपछि उडान आरम्भ हुन लागेको विराटनगर विमानस्थलमा यात्रुहरुमा कोरोना संक्रमणको जोखिम हुन नदिन प्रर्याप्त सुरक्षा प्रवन्ध मिलाइएको भेण्डर कम्पनीहरुले जानकारी दिएका छन् ।

विमानमा यात्रा गर्न केही सर्त भने पुरा गर्नुपर्नेछ । विमानस्थलको मुख्य प्रवेशद्वारमा सुरक्षाकर्मीहरुले यात्रुहरुको तापक्रम (ज्वरो) मापन गर्ने छन् । ज्वरो आएको र रुघाखोकी लागेका यात्रुलाई यात्रा गर्न दिइने छैन । असहाय र अशक्तलाई बाहेक अरुले सहयोगीसहित विमानस्थल प्रवेश गर्न पाउने छैनन् । आवश्यक भए सुरक्षाकर्मीले सहयोग गर्नेछन् ।

पार्किङमा अनावश्यक भीड नियन्त्रण गर्न जहाज अवतरण हुनु १५ मिनेट पहिले मात्र यात्रु लिन जान दिने व्यवस्था मिलाइएको छ । तत्कालका लागि ७० वर्षभन्दा माथिका यात्रुलाई यात्रा अनुमति नदिइएको बुद्ध एयर विराटनगरका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

कोरोना महामारीले गर्दा विमान चढ्दा र ओर्लदा पनि सामाजिक दुरी पालना गर्नुपर्नेछ । यात्रु चढ्दा र ओर्लदा ४–४ जनाको दरले जानुपर्नेछ । विगतमा जस्तो यसपटक हाते झोला यात्रुले बोक्न पाउने छैनन् । पर्स र ल्यापटप बाहेक सबै सामान लगेज ब्यागमा राख्नुपर्नेछ ।

उडान प्रतिक्षाका क्रममा पनि यात्रुहरुले सामाजिक दुरी कायम गर्नुपर्ने छ भने सामान बुझ्ने ठाउँमा पनि तोकिएका ठाउँमा उभिनुपर्नेछ । त्यसअघि आउने र जाने दुबैका लागि हात धुने र सेनिटाइजरको पर्याप्त मिलाइएको विराटगनर विमानस्थलले जनाएको छ । यात्रु जाँच गर्ने महिला र पुरुष सुरक्षाकर्मीहरुले पिपिई लगाएर यात्रुको जाँच गर्नेछन् ।

उनीहरुको हरेक २ घण्टामा पालो परिवर्तन हुने व्यवस्था गरिएको छ । विमानस्थलमा यात्रु ओरालिसकेपछि विमान पुरै निर्मलीकरण गर्ने प्रवन्ध मिलाइएको र विमान अवतरणदेखि उडानसम्मको प्रक्रिया पुरा गर्न १ घण्टा समय लाग्नेगरी व्यवस्थापन मिलाइएको छ ।

सोमबार, ०५ असोज, २०७७, बिहानको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर