मल नल्याउने ठेकेदार कम्पनीमाथि कारबाही

काठमाडौं । सम्झौता बमोजिम युरिया मल आयात नगर्ने २ ठेकेदार कम्पनीमाथि कारबाहीको निर्णय भएको छ ।

कृषि सामाग्री केन्द्रले ५० हजार मेट्रिय टन युरिया मल आयातको सम्झौता अनुसार काम गर्न नसक्ने शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिलाई कार्वाही गर्ने निर्णय गरेको हो ।

गत अप्रिल २४ र २७ मा मल ल्याउने सम्झौता भएपनि तोकिएको समयभित्र मल ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो । दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर, हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ ।

दुबै सप्लायर्सले मल आयातका लागि १२ मेमा नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकमा प्रतितपत्र खोलेका थिए । प्रतितपत्र खोलेको मितिले पहिलो शिपमेन्ट ४२ दिन र दोस्रो सिपमेन्ट ७२ दिनभित्र गरी सम्पूर्ण सामान भदौ ७ भित्रै नेपाल आइसक्नुपर्ने थियो । तर, थप भएको २५ दिनमा पनि उनीहरुले एक बोरा पनि मल ल्याएनन् ।

सम्पूर्ण सामान डेलिभरी गरी सक्नुपर्ने म्याद ५ सेम्टेम्बर अर्थात भदौ २० सम्म रहेकामा सो मितिमा समेत कम्पनीले माग गरेको भेसल नोमिनेसन, भेसलको नाम उपलब्ध नगराएको र सामान शीपमेन्ट हुने वा भएको कुनै बस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले मिति २०७७–०५–२१ गतेको निर्णयअनुसार निज सप्लायर्सहरुले कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको छ केन्द्रले जनाएको छ । प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने केन्द्रले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याएको आरोपमा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको छ।कम्पनीको आइतबार बसेको बैठकले दुवै कम्पनीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो। शैलुङले चार लाख ४०२ अमेरिकी डलर र होनिको मल्टिपलले तीन लाख ७७ हजार ३७५ डलर रकम धरौटी राखेका थिए।

त्यसबेलाको प्रचलित डलरको दरअनुसार शैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ र होनिकोको चार कोरड ५६ लाख ६२ हजार ३७५ नेपाली रुपैयाँ जफत भएको कम्पनीले जनाएको छ। दुवैको जोडेर ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ धरौटी हुन आउँछ।

आइतबार, २१ भदौ, २०७७, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर