विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा बालिकाका काका नाता पर्नेसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार बालिकाका अपहरण गरि काठमाडौं लैजाने क्रममा नातामा बालिकाकाकै दाजु पर्ने २१ वर्षीय सुजन रणपहेलीसहित उनका सहयोगी काभ्रेको साँगाबाट पक्राउ परेका छन् ।
बालिकालाई अपहरण गरी एम्बुलेन्समा हालेर काठमाडौं लगिरहेको अवस्थामा सुजनसहित को२च २८८२ नम्बरको एम्बुलेन्सका चालकहरु पथरी–शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक मोरङ सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई भदौ १७ गते साँगाबाट उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो।
चार दिन अगाडिको घटना भएपनि प्रहरीले ढिलो मात्र सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार बालिकाकी आमाले भदौ १६ गते पथरीस्थित एक माइक्रो फाइनान्सबाट निकालेको २ लाख रुपैयाँकै लागि बालिकाको अपहरण भएको खुलेको छ ।
प्रहरीका अनुसार आमाले निकालेको पैसा लिएर नहिँडे ज्यान मार्ने धम्की दिएर रणपहेलीले बालिकालाई लिएर हिँडेका थिए । १७ गते पैसा लिएर घरबाट निस्केकी
बालिकालाई को२च २८८२ नम्बरको एम्बुलेन्समा राखेर रणपहेलीले हिँडाएका थिए । एम्बुलेन्सका चालक आचार्य र रणपहेलीका पुरानै साथी भएको खुलेको छ ।एम्बुलेन्सलाई पथरीबाट काठमाडौं पुग्ने भाँडा २०–२० हजार दिने सर्तमा लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आचार्यले इटहरीसम्म ल्याएर बालिकालाई आफूले चिनेको अर्को एम्बुलेन्स को२च ३१२१ नम्बरका चालक तामाङको जिम्मा लगाएका थिए । पैसा र बालिका दुवै हराएपछि आमाले सोधीखोजी गर्दा बालिका एम्बुलेन्स चढेर हिँडेको खुलेपछि पथरीमा जानकारी दिएकी थिइन् ।
बालिकारकमसहित एम्बुलेन्समा चढेर हिँडेको सूचनापछि प्रहरीले बालिकाको हुलियासहित सबै प्रहरी युनिटमा जानकारी गरायो । सो क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले साँगा चेक प्वाइन्टबाट बालिका र दुवै एम्बुलेन्सलाई समातेको हो । बनेपा पुगेपछि रणपहेलीले बालिकालाई तामाङको एम्बुलेन्सबाट ओरालेर आचार्यले चलाएको एम्बुलेन्समा राखेका थिए। दुवै एम्बुलेन्स चालक र रणपहेलीलाई प्रहरीले साँगाबाट समातेर १८ गते पथरी ल्याएको हो ।
लागुऔषध दुर्व्यसनी रणपहेलीले पैसा लुट्न अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यद्यपी बालिकालाई काठमाडौं लैजानुको कारण भने खुलेको छैन । त्यसबारे अनुसन्धान भइहरेको डिएसपी गिरीले बताउनुभयो । उनले प्रहरीसँग भतिजीलाई काठमाडौं डुलाउन लगेको भन्दै आएका छन् ।
बालिकाले आफूलाई रणपहेलीले जबरजस्ती धम्की दिएर लगेको बयान प्रहरीमा दिएको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई अपहरण तथा ज्यान मास्ने–बेच्ने मुद्दामा शुक्रबार म्याद थपेर अनुसन्धान थालिएको पथरी प्रहरीले जनाएको छ।