विराटनगर । बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ ।
शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात गरिएको छ । प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेती, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले धान रोपेर अभियान सुरुवात गर्नुभयो ।
जीवन विकास समाज यो वर्ष करिब ५ सय विघा जमिनमा खेती गर्ने अभियानसहित कार्यक्रम सुरु गरेको मण्डलले जानकारी दिनुभयो । खोलाको बगर, व्यक्तिको बाँझो जमिन र अन्य प्रकारका खेतमा यो अभियान चलाइनेछ ।
खाद्यान्नलगायतका सामग्रीहरूको उत्पादनलाई बढाउन र स्वदेशका जमिनलाई अधिकतम् प्रयोग गरी प्रेरणा दिनका लागि यो अभियानको सुरुवात गर्नु परेको मण्डलको भनाई छ ।
कार्यक्रमका लागि विभिन्न मोडलहरू विकास गरिएको छ । कुनै व्यक्तिको जग्गा बाँझो भएमा उससँग अधिया लिएर या भएको उत्पादनबाट नै लागत लिने गरी काम सुरु गरिएको छ । ‘यदी कसैले खेत दिन्छ भने सबै काम संस्थाले गरीदिन्छ र आफ्नो लागत लिएर बढी भएको आम्दानी सम्बन्धित धनीलाई उपलब्ध गराउने छ,’ मण्डलले भन्नुभयो, ‘यदी सरकारको अधिनश्त भएका छन् भने पनि हामी प्रक्रिया पु¥याएर उत्पादनका काम गर्ने छौं ।’
जीवन विकास समाजका दमोदर रेग्मीका अनुसार यो बाँझो खेतमा खेती लगाउने अभियानमा समाजका कर्मचारी र स्वयसेवीहरू प्रयोग गरिनेछ । अन्य सम्पूर्ण व्यवस्थापन समाजले नै गर्छ । खेतमा मौसम अनुसार धान, मकैलगायतका अनुकुलका बाली लगाइने छ ।
प्रदेश सरकारको कृषि मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेतीले यो उदारणीय र प्रभावकारी हुने बताउनुभयो । उहाले यस्ता अभियानले सरकारले चालेको भूमि बैंक र उत्पादन वृद्धिका कामलाई सहयोग पु¥याउने र सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अवधारणा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।