विराटनगर । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलाई मल वितरण गर्ने सहकारीको चाहना अनुसार रासायनिक मल विक्री वितरण गर्न साल्ट ट्रेडिङ कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरलाई निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीबार सहकारीको चाहना अनुरूप मल बिक्री गर्न साल्ट ट्रेडिङलाई निर्देशन दिएपछि कमिसनको खेलमा जबरजस्ती बिक्री गरिएको सिंगल सुपर फास्फेट (एसएसपी) किन्नु नपर्ने भएको छ ।
हाम्रोमतले बुधबार ‘कमिसनको लोभमा एसएसपी मल जवरजस्ती भिडाउँदै’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचारपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले साल्ट ट्रेडिङका क्षेत्रीय प्रमुख राधेश्याम चौधरीलाई बाध्यकारी नियम हटाउन निर्देशन दिनुभएको थियो ।
यसअघि युरिया मल किन्दा सहकारीहरूलाई जबर्जस्ती सिंगल सुपर फास्फेट (एसएसपी) मल किन्न साल्ट ट्रेडिङले बाध्य बनाएको थियो । एसएसपी मल र साबुन खरिद नगरे सहकारीलाई यूरिया मल नदिने भएकोले सहकारीहरू बाध्य भएर मल खरिद गर्दै किसानलाई पनि जबरजस्ती बेच्दै आएका थिए ।
साल्ट ट्रेडिङको बद्मासीको कारण किसानलाई युरिया मल किन्दा अतिरिक्त आर्थिक भार परेको थियो । एसएसपी मल नकिन्ने किसानलाई युरिया नै सहकारीले बेच्न नमानेपछि किसानहरु समस्यामा थिए । उनीहरुले काम नै नभएको एसएसपी किन्नुपर्ने बाध्यता थियो ।
सहकारीहरूलाई १ सय बोरा युरिया खरिद गर्दा अनिवार्य २५ बोरा एसएसपी र ६ कार्टुन साबुन साल्ट ट्रेडिङले भिराउँदै आएको थिययो । मन्त्रालयले चासो राखेपछि शुक्रबारदेखि साल्ट ट्रेडिङको बाध्यकारी नियम हटेको छ । मोरङ बेलबारीका शुक्रपथ कृषि सहकारीका सञ्चालक लाक्पा भुटियाले शुक्रबारदेखि स्वेच्छाले रासायानिक मल खरिद गर्न पाएको बताउनुभयो ।
‘यसअघि यूरिया मल खरिदमा २५ प्रतिशत डिएपीको बिकल्पको रूपमा एसएसपी खरिद गरेर लैजानुपर्ने बाध्यकारी नियम थियो,’ साल्ट ट्रेडिङमा मल खरिद गर्न आउनुभएका भुटियाले भन्नुभयो, ‘त्यसबारे हाम्रोमतले समाचार लेखेपछि बाध्यकारी नियम हटेछ, अब कृषकलाई आवश्यक परेको यूरिया मल मात्र लैजान्छौं ।’
साल्ट्र ट्रेडिङमा तीनथरी मूल्य पर्ने एसएसपी मल छ । प्रतिबोरा ९ सय ६०, १ हजार २० र १ हजार ४० रुपैयाँको एसएसपी मल रहेको छ । गतवर्षकै साल्ट टे«डिङमा ११ हजार ९ सय बोरा अर्थात ५ सय ९५ मेट्रिक्टन एसएसपी मल रहेको स्टक रहेको छ । गैरअनुदानको एसएसपी मल कोटा अनुसार विक्री गर्दा कम्पनीले विदेश घुमाइदिने र निश्चित प्रतिशत कमिसन दिने भएकोले सहकारीलाई जवरजस्ती मल बिक्री गरिएको स्रोतको दाबी छ ।
साल्ट ट्रेडिङङ क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले जबर्जस्ती रुपमा सहकारीहरुलाई गैरअनुदानित एसएसपी मल नभिडाइएको दावी गर्दै आउनुभएको छ । ‘पहिले पनि जवरजस्ती भिडाएको थिइन्,’ उहाँले भन्नुभयो, ‘अहिले पनि छैन ।’
साल्ट ट्रेडिङ क्षेत्रिय कार्यालय विराटनगर मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमा गरि ६ वटा डिपो र २ सय ६४ वटा सहकारीलाई मल वितरण गर्दै आएको छ । बिहीबारसम्म ९ सय ३६ मेक्ट्रिन यूरिया मलमध्ये ७० वटा सहकारीलाई ६ सय ६० मेक्ट्रिन यूरिया मल वितरण गरेको कम्पनीले जनाएको छ ।