विराटनगर । कोरोना महामारीको बेला रोजगारी र पारिश्रमिक कटौती गरेको भन्दै विराटनगरका सरसफाईकर्मीहरु आन्दोलित भएका छन् ।
विराटनगर महानगरपालिका र वेष्ट म्यानेजमेन्ट गु्रपको संयुक्त साझेदारीमा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत १ सय ८० जना सरसफाईकर्मीहरु आन्दोलित भएका हुन् ।
विराटनगरको फोहोर संकलन तथा व्यवस्थापन गर्ने जिम्मा पाएको वेष्ट म्यानेजमेन्ट गु्रपले रोजगारी तथा पारिश्रमिक कटौती गरेको भन्दै सरसफाईर्मीहरु सडकमा ओर्लिएका छन् । कोरोना महामारीबिच पारिवारिक आयश्रोतसमेत शुन्य बन्दै गईरहेको अवस्थामा वेष्ट म्यानेजमेन्ट गु्रपले १५ दिनको रोजगारी कटौती गरेकोले आन्दोलित हुनुपरेको विराटनगर–११ का सिकन्दर मरिकल बताउनुभयो ।
वि.सं. २०७३ वैशाख १२ गते भएको सम्झौता बमोजिम वेष्ट म्यानेजमेन्ट गु्रपले विराटनगरको फोहोर व्यवस्थापन गर्दै आएको छ । विराटनगरको १७ वडाको फोहोर व्यवस्थापनका लागि करिब ३ सय बढी सरसफाईकर्मीहरु चाहिनेमा १ सय ७० जनाले काम गरिरहेका छन् । धेरै काम गरेपनि अहिले रोजगारी खोस्न खोजिएको सरसफाईकर्मी मरिकको आरोप छ ।
शतप्रतिशत रोजगारी पाउनुपर्ने र सबै सरसफाईकर्मीहरुको कोरोना बिमा गरिनुपर्ने माग उनीहरुले राखेका छन् । माग पुरा नहुन्जेलसम्म विराटनगरको फोहोर सफा नगर्ने तथा व्यवस्थापनको काम ठप्प पार्ने सरसफाईकर्मी कुलदिप मरिकले बताउनुभयो ।
विराटनगरमा ६ घण्टा काम गर्ने सरसफाईकर्मीको पारिश्रमिक ८ हजार र ८ घण्टा काम गर्नेको सरसफाईकर्मीको पारिश्रमिक १५ हजार तोकिएको छ । चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउन र विराटनगरमा जारी निषेधाज्ञाका कारण आर्थिक व्ययभार थपिएकाले रोजगारी कटौती गर्नुपरेको वेष्ट म्यानेजमेन्ट गु्रपका प्रमुख देवी आचार्यले बताउनुभयो ।
फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिकाले वेष्ट म्यानेजमेन्टलाई अनुदानस्वरुप मासिक ११ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यस्तै वेष्ट म्यानेजमेन्ट गु्रपले पनि सेवाग्राहीहरुबाट सेवा शुल्कबापत मासिक २८ देखि २९ लाख रुपैयाँसम्म आम्दानी गर्ने महानगरको तथ्यांक छ । तर, लकडाउनका कारण विगत ५ महिनादेखि मासिक १० लाख घाटा व्यहोर्दै आएकोले समस्या आएको गु्रपको दावी छ ।
निषेधाज्ञा जारी गरिएको हुनाले बजार क्षेत्रका अधिकांश पसल तथा व्यावसायहरु बन्द रहेकोले व्यापारिक प्रतिष्ठानहरुबाट उठ्नुपर्ने रकम नउठेको आचार्यले बताउनुभयो । यो अर्थिक व्ययभारलाई रोक्न वेष्ट म्यानेजमेन्टले विकल्पको रुपमा १ दिन काम गर्ने र १ दिन सेवा स्थगित गर्ने निर्णय गरेको थियो । त्यस विरुद्ध सरसफाईकर्मीहरु आन्दोलित भएका हुन् ।