विराटनगर । मोरङको रंगेली नगरपालिकाभित्र शुक्रबार २८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये १९ पुरुष र ९ महिला छन् ।
थपिएका २८ सहित रंगेलीमा संक्रमितको संख्या शुक्रबारसम्म ९० जना पुगेको रंगेली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो । रंगेली ८ मा एक जना पुरुषको कोरानाको कारण मृत्यु भइसकेको छ ।
शुक्रबार थपिएका २८ संक्रमितमध्ये रंगेलीको एउटै वडामा १७ जना छन् । रंगेली ७ मा ९ पुरुष र ८ महिला एउटै वडामा संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस वडामा यसअघि पनि २३ जना संक्रमित भेटिएको थियो । ठूलो संख्यामा संक्रमित भेटिएको वडा रंगेली बजार क्षेत्र समेटिएको वडा हो ।
शुक्रबार रंगेली ६ मा ३ पुरुष १ महिला र ३ र ४ वडामा १ जना संक्रमण पुष्टि भएको छ । बाँकी ५ जना संक्रमित पुरुषको रंगेली मात्र लेखिएको भएपनि वडा खुलेको छैन ।