सञ्चालकले जबरजस्ती गर्दाको परिणाम : एउटै उद्योगका ५१ मजदुरलाई कोरोना

विराटनगर । भारतीय मजदुर ल्याएर सुरक्षा मापदण्डविनै उद्योग सञ्चालन गरेको कारण मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा ५१ जना कर्मचारी र कामदारलाई कोरोना संक्रमण देखिएको छ ।

सुरुवातामा २ जना मजदुरमा कोरोना देखिएपछि उद्योग शिलबन्दी गरेर अन्य मजदुरलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा जबरजस्ती उद्योग सञ्चालन गर्दा अन्य मजदुरमा पनि कोरोना व्यापक रुपमा फैलिएको हो ।

यसअघि उद्योगका ३० मजदुर र कर्मचारीमा कोरोना देखिएकोमा बिहीबार २१ जना थपिएका छन् । बुढीगंगा गाउँपालिकाकाले दिएको जानकारी अनुसार उद्योगका २ सय जनाको पीसीआर जाँच गर्दा ५१ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि भएका कामदारलाई उद्योगभित्रै आइसोलेशन बनाएर राख्न प्रशासनले निर्देशन दिएको छ । केही कर्मचारी भने होम आइसोलेसनमा छन् ।

संक्रमण पुष्टि भएकामध्ये दुई जना भारतीय भने फरार छन् । फरार भएकाहरु भारत गएको आशंका गरिएको छ ।

बुढिगंगा १ का वडाध्यक्ष युवराज पौडेलका अनुसार उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय नागरिकहरुलाई लकडाउन खुकुलो भएसँगै उद्योगले लुकिछिपी ल्याएर काम लगाएकोले कोरोना फैलिएको हो । लकडाउन सुरु भएपछि भारतीय कामदारहरु फर्किएकोमा लकडाउन खुकुलो भएसँगै मालबहाक गाडीमा लुकाएर उद्योगले कामदार ल्याएको पाइएको छ ।

उद्योगमा संक्रमण फैलिएपछि आसपासको बस्तीका बासिन्दा पनि त्रसित छन् । उद्योगका केही कामदार आसपासको बस्तीमा बस्ने गरेको र उनीहरुमा पनि कोरोना पुष्टि भएकोले उनीहरुबाट समुदायमा कोरोना फैलिएको छ ।

बुढिगंगा गाउँपालिकाले उद्योग सिल गरी वडा नम्बर १ मा सर्वसाधारणलाई हिँडडुल गर्न कडाइ गरेको छ ।

शुक्रबार, ३० साउन, २०७७, बिहानको ११:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर