विराटनगर । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । भने आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार पर्साको वीरगन्ज ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएकोमा नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको हो ।
सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी मिर्गौलाका बिरामी थिए ।
यसैगरी सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएकोमा स्वाब संकलन गरि परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।
साथै पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी थिए । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।