मोरङमा एकैदिन ६४ संक्रमित थपिए: विराटनगरमा ३२, रंगेलीमा २९

विराटनगर । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको कारण मोरङमा संक्रमितको संख्या लगातार उकालो लागेको छ ।

शुक्रबार मात्र मोरङमा ६४ जना संक्रमित थपिएका छन् । जसमा विराटनगर महानगरपालिकाभित्र ३२ छन् भने पुरानो सदरमुकामा रंगेलीका २९ छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा २४ पुरूष र ८ महिलालाई कोरोना संक्रमण देखिएको छ । उता रंगेलीमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । रंगेलीमा २३ पुरूष र ६ महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको बढुीगंगा गाउँपालिकामा २ पुरूष र कटहरीमा १ महिलामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाको कारण मोरङमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना विराटनगरका छन् भने एक जना रंगेलीका र एक जना सुनवर्षीका छन् ।

प्रदेश १ मा अहिलेसम्म १३२२ जनामा कोरोना पुष्टि भएकोमा सबैभन्दा धेरै मोरङका ५०३ जना छन् ।

शुक्रबार, २३ साउन, २०७७, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर