विराटनगर । समुदायमै कोरोना भाइरसको संक्रमण देखिएको विराटनगरका अस्तालभित्र धमाधम संक्रमण फैलिएको छ ।
यसअघि विराटनगरको कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालका डाक्टरसहित ११ जनामा कोरोना पुष्टि भएको छ ।
विराटनगरस्थित मोरङ सहकारी, न्यूरो र गोल्डेन हस्पिटलका कार्यरत तीन जना चिकित्सकसहित ११ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार आएको रिपोर्टमा मोरङ सहकारीका ५, गोल्डेनका ३ र न्यूरोका ३ जनालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमित देखिएकामध्ये मोरङ सहकारीका ३ महिला र २ जना पुरूष, गोल्डेनका २ पुरूष र १ महिला तथा न्यूरोका २ महिला र १ पुरूष छन् । मोरङ सहकारीका रेडियोलोजी विभागका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सोही अस्पतलामा ए–क्सरे विभागका २ कर्मचारी र एक जना काउन्टरमा कार्यरत कर्मचारीमा कोरोना देखिएको हो ।
कोशी अस्पतलामा बुधबार दिउँसो कोरोनाबाट मृत्यु भएका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरूष त्यसअघि मोरङ सहकारीमा आएको खुलेको छ । उनले सहकारी अस्पतालमा एक्स–रे गरेपछि थप उपचारको लागि कोशी गएको पाइएकोले उनबाटै सहकारीमा कोरोना भित्रिएको अनुमान गरिएको छ ।
कन्ट्रयाक ट्रेसिङमार्फत संक्रमितको सम्र्पकमा देखिएकासहित अस्पतलामा भर्ना भएका ८ जना विरामीको पनि स्वाब संकलन गरिएको थियो । अस्पतलामा कार्यरत सबै कर्मचारी र स्वास्थ्यकर्मीहरूको स्वाब संकलन गरेकोमा ५ जनाको पोजेटिभ देखिएको अस्पतालका निर्देशक विकास अधिकारीले जानकारी दिनुभयो । कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द गरि अस्पतालब सेनिटाइज गर्न सुरू गरेको उहाँको भनाइ छ ।
उता गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष बन्द गरिएको छ । मंगलबार अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा बिहीबार ३ जनामा कोरोना संक्रमण देखिएको हो । एकजना कर्मचारी र दुई जना चिकित्सकमा कोरोना देखिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष मेहताले जानकारी दिनुभयो ।
गोल्डेनको आकस्मिक विभाग र डाईलासिसमा काम गर्ने २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि दुबै कक्ष बन्द गरिएको छ । कोरोना संक्रमित काम गर्ने स्थानमा डिस्इन्सफेक्सन र सेनिटाईज गरिने अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले सुचना टाँसेर बिहीबारदेखि अर्को सूचना जारी नगरेसम्म ओपीडी सेवा बन्द रहने जनाएको छ ।
यसैगरी न्युरो अस्पतालका २ जना नर्स र एक जना भिजिटरमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।