कोरोनाबाट बुधबार २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६० पुग्यो

विराटनगर । नेपालमा बुधबार कोरोना भाइरसको कारण थप दुई जनाको मृत्यु भएको छ । पर्सामा दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको छ।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति अस्पताल भर्ना गरिएका उनको बुधबार बिहान ६ बजे मृत्यु भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.मदन उपाध्यायका अनुसार उनी वीरगञ्ज १५ निवासी हुन्। मृतक मधुमेहका विरामी रहेको बताइएको छ ।

बुधबार नै पर्साकै अर्का एकजना १८ वर्षीया किशोरीमा पनि मृत्युपछि संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिका निवासी उनको नेसनल मेडिकल कलेजमा भर्ना हुनलाग्दा मृत्यु भएको थियो।

उनलाई आइतबार राति पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो। वान्ताको समस्या भएपछि पोखरिया अस्पतालले गम्भिर अवस्थामा रिफर गरेकोमा अस्पताल भर्नाको तयारी भइरहँदा मृत्यु भएको हो ।

मृत्यु भएपछि स्थानीय प्रशासनले अस्पताललाई किशोरी कोभिडको शंकास्पद हुन् भन्ने खबर आएपछि उनको शव अस्पतालमै राखेर कोरोना परीक्षण गर्न स्वाब पठाइएको थियो। यसअघि कुनै रोग नभएकी उनमा पनि कोरोना देखिएको छ ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्जमै उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार, २१ साउन, २०७७, दिउँसोको ०२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर