काठमाडौंलाई नाकावन्दी गर्नुपर्छ

काठमाडौंलाई नाकावन्दी गर्नुपर्छ

कहिलेकाही लाग्छ, यो काठमाण्डौं विरुद्ध जेहाद छेड्नुपर्छ । यसलाई नाकाबन्दी गर्नुपर्छ । अनि चोभारको डाडाँवाट पृथ्वीनारायण साहले गरेजस्तै चौतर्फी आक्रमण गर्नुपर्छ र हाम्रो नेपाल फेरि गोरखामा नै ल्याउनुपर्छ । यो काठमाडौंले अहिलेसम्म काठमाडौं बाहिर नेपाल देख्न सकेको छैन । खाल्डोबाहिर बस्ने जनता नेपाली हुन सकेका छैनन् । लाग्छ, काठमाडौ मालिक हो, हामी उसका दास । राणाशासन, पञ्चायती शासन हुँदै प्रजातन्त्रबाट संघीय गणतन्त्रमा आइपुग्दासमेत यी भ्यागुताहरुको सोच र व्यवहार परिर्वतन हुन सकेको छैन । आज काठमाडौ सातबाट प्रदेश नचाइ रहन्छ, हाम्रा घरआँगनमा आएका सिंहदरबार काठमाडौंकै इसारामा नाच्ने गर्छन् । अनि हामी त्यसैमा ताली बजाएर रमाइरहेका छौं ।

कोभिड–१९ को सन्त्रास सबैतिर छ । तर, कामाडौंमा देखिने कोभिड र बाहिर देखिने कोभिडमा धेरै अन्तर छ । काठमाडौंमा एउटालाई कोरोना देखियो भने महाभुकम्प आएजस्तै हुन्छ । लाग्छ, ठूलै प्रलय भएको छ । बाहिर ५० जनालाई कोरोना देखिँदा काठमाडौंको कानमा बतास लाग्दैन । अनि अहिले सबैको पीँडा काठमाडौं जानलाई हो । अहिले काठमाडौं जानभन्दा यमदरवार जान सजिलो छ । काठमाडौं प्रवेश गर्न गृह मन्त्रालयदेखि वडाका महाराजासम्मकोमा विन्तीपत्र बुझाउनुपर्छ । अनि कोरोना परिक्षणको सर्टिपिकेट गोजीमा हुनुगर्छ । काठमाडौंका महाराजाहरुको मर्जी भयो भने मात्र प्रवेश पाइयो । नत्र सडकमा घण्टौं लावरिस भएर फर्कनुपर्छ । यो काठमाडौं आफूले आफूलाई के सोच्छ खै ? यसको चेतना खुलाउन नसक्नु हाम्रो कमजोरी हो । यसरी अपमानित भएर आफ्नै देशमा बस्नुभन्दा एक पटक काठमाडौं विरुद्ध जेहाद छेड्नु उत्तम हो । तराईमा भारतबाट प्रवेश गर्ने अधिकांश कोरोना संक्रमित आइरहेका छन् । त्यो कुरा काठमाडौलाई थाहा छैन ।

हुन त मेरो प्रदेश सरकारको नाम पनि काठमाडौंले राखिदिने अरे । मेरा प्रदेशका दुईतिहाई माननीयहरु आफ्नो प्रदेशको नाम कोसी–किराँत राख्न चाहन्छन् । तर, काठमाडौंलाई त्यो नाम मन परेको छैन् । किराँतीको सुपुत्र मेरा मुख्यमन्त्री यहाँनेर मुख खोल्न सक्ने अवस्थामा हुनुहुन्न । अलिदिन अघि काठमाडौंको हिसाबकिताव मिलाउन उहाँको पनि विकल्प खोजिदै गरेका खबर सडकमा आएका थिए । त्यही भएर पनि होला बैगुनी काठमाडौंसँग लड्न हाम्रा मुख्यमन्त्रीहरुले खुट्टा कमाउनु भएको होला । प्रदेश २ का मुख्यमन्त्रीले काठमाडौ विरुद्ध जेहाद छेड्ने घोषणा गर्नुभएको थियो । तर, त्यो पनि धेरै समय टिकेन । अहिले उहाँ काठमाडौंसँग मौन हुनुहुन्छ । सायद उहाँ अमेरिका जाने कुरा काठमाडौंलाई मन नपरेपछि उहाँको मुख पनि बन्द भएको हुनसक्छ । बेला–बेला गण्डकीका मुख्यमन्त्री काठमाडौ विरुद्ध खरो उत्रनुहुन्छ, त्यो उहाँको साहस हो । यदि सातै प्रदेशका मुख्यमन्त्रीले काठमाडौलाई नाकाबन्दी गर्ने हो, भने काठमाडौंको चेत खुल्नसक्छ । नत्र राणाकाल, पञ्चायती शासन, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा काठमाडौंको न सोच परिर्वतन भएको छ न त व्यवाहार नै ।

विराटनगरका मेयर भिम पराजुलीले आफ्ना नागरिकलाई काठमाडौंबाट ल्याउने र यहाँबाट काठमाडौं जान चाहनेहरुलाई केहि समयअघि बसमा हालेर पठाउने व्यवस्था गर्नुभयो । तर, काठमाडौंलाई त्यो कुरा मन परेन । एउटा महानगरपालिकाले पठाएका जनतालाई काठमाडौंले घण्टौंसम्म सडकमा तड्पायो । यो सानो उदारण मात्र हो । यस्ता धेरै घटना छन्, जसले काठमाडौं बाहिरकालाई कहिले आफ्ना नागरिक नठानेका । काठमाडौंलाई दाल, चाम, नुन, तेल र पेट्रोल डिजेलदेखि ग्याँससमेत तराईबाट जान्छ । तर, नागरिक भने जान नपाउने यो कस्तो बैगुनी काठमाडौं ।
देशको प्रमुख कार्यकारी, राष्ट्रपतिदेखि अर्थमन्त्रीसम्म प्रदेश १ कै बासिन्दा हुनुहुन्छ । तर, त्यो खाण्डोमा पसेपछि सबैथोक काठमाडौं नै देख्ने राणाकालिन सोच उहाँहरुमा पनि छ । बजेट आउँछ, त्यहाँ प्रदेशको अनुहार त्यहाँ देखिदैन । सबै चुप लाग्छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङबोले आँटै गरेर काठमाडौं विरुद्ध बोल्नुभयो । बजेटले संघीयता र प्रदेश सरकारलाई कमजोर बनायो भन्नुभयो । त्यो आँटलाई मान्नुपर्छ । त्यसैले होला काठमाडौंलाई प्रदेशको अर्थमन्त्री पनि मन परेको छैन् अरे । हाम्रो सोच काठमाडौंले दिने र हामीले माग्ने भन्ने छ । यसबाट मुक्त हुन नसक्नु विडम्बना हो ।

आज विदेशमा कोभिड–१९ को सन्त्रासमा लाखौं नेपाली एयरपोर्टमा एक छाक खाएर मृत्युसँग लडिरहेका छन् । उनीहरुका आँसु एकै ठाउँ भेला पार्ने हो भने त्यहाँबाट बगेर नेपाल आइपुग्ला । तर, काठमाडौं उनीहरुलाई ल्याउन चाहदैन । त्यसको एउटै कारण हो, उनीहरु काठमाडौंका बासिन्दा हैनन् । अनि उनीहरुलाई ल्यायो भने काठमाडौ रोगी हुन्छ रे ।

अब हाम्रो सोचको कुरा गरौं । काठमाडौंबाट जुन दर्जाको नेता आउँदा पनि हामी फुलका माला लिएर एयरपोर्टमा लम्पसार हुनपुग्छौं । गाडीका लाइन लाग्छन् । अनि हामीचाही यहाँ आफ्नै पार्टीका नेताका कुरा चिया पसल बसेर काट्छौं । एक पटक सोचौं त तपाईहामी काठमाडौं जाँदा कस्ले हामीलाई एयरपोर्टमा लिन आएको हुन्छ । उल्टै भेट पाउनका लागि विन्ती चढाउँदा पनि निलो अनुहार लगाएर फर्कनुपर्ने बाध्यता सबैमा छ । हुन त हामीले संघीयता पाएका छौं । तर, हाम्रो वडाअध्यक्षको टिकट पनि काठमाडौंकै गोजीमा हुन्छ । त्यसैले होला हामीलाई पनि मर्ने बेलामा भएपनि काठमाडौंमा एउटा घर चाहिएको छ । अरु केहि नपाएपनि काठमाडौको पशुपति आर्यघाट त पाइएला । यो सोचबाट हामी कहिले मुक्त हुने ?