–भवानीप्रसाद पोखरेल
बर्जु–५, सीतागञ्ज, सुनसरीमा जन्म भई विराटनगर महानगरपालिका वडा नं. ६, मोरङलाई कर्मथलो बनाउँदै शिक्षण पेसामा आबद्ध रही साहित्य सिर्जनामा रमाइरहने गजलकार भूपाल अधिकारीको ‘दिव्यदीप’ गजलसङ्ग्रह २०८२ साहित्यको फूलबारीमा मगमगाएको पाइन्छ । म आज यसै पुस्तकको छोटो समीक्षा गर्दैछु ।
प्रकाशक नोवेल साकोस साहित्य संस्था, विराटनगर शाखा, मूल्य रु. ती सय मात्र, समर्पण पिता, मातामा गरिएको छ । यो अग्रजहरूका लागि सम्मान पनि हो । बाहिरी आवरण दीप बलिरहेको चित्रले सुन्दर देखिएको छ । पछाडिको पातोमा गजलकारको सुन्दर तस्बिर र थप विवरणले पुस्तकको ओज झनै बढेको पाइन्छ ।
प्रकाशकीयको तर्फबाट मञ्जु घिमिरे दाहाल, अध्यक्ष नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाको तर्फबाट आफ्ना भनाइहरू राख्दै शुभकामना दिएको छ । शुभकामना भनी ऋषि तिवारी, त्यसैगरी डा. घनश्याम परिश्रमी, साहित्यकार राजन प्र. न्यौपाने, साहित्यकार हरि कट्टेल, साहित्यकार बाबुराम पोखरेल, साहित्यकार स्वर्णशिखा दाङ समेतले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
गजल लेख्न सजिलो छैन भनी प्रा.डा. देवी पन्थी, चारु साहित्य प्रतिष्ठानद्वारा आफ्ना सारगर्भिक विचारहरू लेख्दै शुभेच्छा व्यक्त गर्नुभएको छ । मेरो भनाइ भनी स्वयम् गजलकारले आफ्ना मनका भावनाहरू यसभित्र मुखरित भएका छन् । सबै शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
यस ‘दिव्यदीप’ गजलसङ्ग्रह भित्र पैसठ्ठ थान राम्रा, चोटिला, पोटिला गजलहरू लहलहाएका छन् । भाषा सरल छ, पढिरहँदा प्रेमिल छ, आफूले देखेका भोगेका, सुनेका कुराहरूलाई टपक्कै टिपी गजलमा उतारेका कार्य स्तुत्य रहेको छ । ५ देखि ६ सेरका गजलहरू छन् । गललको सिद्धान्त, मूल्य, मान्यतालाई शिरोधार्य गरी लेखकीय धर्मलाई उच्चता दिई राम्ररी ख्याल गरिएको बडो मेहनत र लगनका साथ यो गजलसङ्ग्रह हामी पाठक सामु आएको मेरो ठम्याइ रहेको छ ।
गजलकार एक सशक्त साहित्यकार हुन् । प्रायःजसो विराटनगर बाहिरका साहित्यक कार्यव्रmममा पनि उनको बाक्लै उपस्थिति देखिन्छ । सुनसरीको इनरुवा, इटहरी, मोरङको बेलबारी, उर्लाबारी समेत स्थानमा पुगेर आफ्ना सुन्दर रचनाहरू पस्केको हामीले सुनेका छौँ । उनका गललमा माटोको सुवास, प्रेमभाव, समाजको विकृति, विसङ्गतिप्रति दह्रो प्रहार गरी समाजलाई उन्नत बनाउने प्रेरणादायी गजलहरू उनका रहेका छन् ।
गजल विधा एउटा प्राविधिक विधा हो, गजल काव्यको एउटा अत्यन्त प्रभावकारी प्रमेद हो । अरबीबाट फारसी, उर्दू र हिन्दी हुँदै नेपाली भाषामा आइपुगेको गजलले धेरै देशमा विस्तार भएको छ । आज संसारका धेरै भाषाले यसलाई अङ्गीकार गरेको पाइन्छ । गजल युवायुवतीले मात्र मन नपराई जेष्ठ नागरिकहरूले पनि अत्यधिक मनपराएको हामी पाउँछौँ । विराटनगरमा रहेर सशक्त गजल लेखेर गाउने व्यक्ति तारानाथ पोखरेलको ‘सितारा’ गजलसङ्ग्रहलाई हामी लिन सक्तछौँ । ‘खोलामा बाढी आए पनि पुलबिनै तर्न सक्छु’ भन्ने मनसायको हिम्मतिला गजलहरू रहेका छन् । अरू पनि थुप्रै गजलकारहरू हुनुहुन्छ । भूपाल अधिकारीका पनि प्रेमिल, राम्रा मन छुने गजलहरू रहेको मेरो ठम्याइरहेको छ ।
उनका केही गजलका भावहरू पढौँ – उनी पहिलो गजलमा भन्दछन् – मतलबी र पापिनीको भरोसा गर्नु हुँदैन । दोस्रो गजलमा बुद्ध जन्मेको देशमा रगतको आहाल छ भनी गजलकार चिन्तामा परेका छन् । तेस्रो गजल हमेसा म काठको पुतली बने भनेको छ । चौथो गजल मैन बेच्ने अन्धकारमा बस्छ, तिमी घर हुँदा उज्यालो हुन्छ । पाँचौँ गजल सर्वहाराको महल पाएर झोपडी बिर्सेको प्रसङ्ग रहेको छ । यस्तै यस्तै राम्रा राम्रा प्रेमिल गजलहरू छन् । शुभकामना र कभरबाहेक ६५ पेज रहेको छ । उनको गजल नं. ९ को दुई सेर पढौँ त –
निवास जसको पुगेर आए
उखान उसैको सुनेर आए ।
सदेव भन्थे हुँ स्वाभिमानी
परन्तु दैलो ढुकेर आए ।
गजल नं. छत्तिसको दुई सेर पढौँ –
प्रेमको जाल रच्ने एक पापी हुन्
निष्ठुरी हुन् उनी विश्वासघाती हुन् ।
प्यार खोज्दै हिँडेकी हुन् उनी साँच्चै
मित्र भन्छन् उनी यौटा सुराकी हुन् ।
गजल पैसठ्ठीको एक सेर पढौँ –
प्रेमको हमेसा जो गीत गाउँदै होला
बैँसमा उसैले यौवन लुटाउँदै होला ।
यसरी उनको गजलको केही सेर पढिसकेपछि थाहा पायौँ उनका गजलका स्वादहरू । उनी केही संघसंस्थामा आबद्ध भएका छन् । जस्तैः उपाध्यक्ष नोवेल साकोस साहित्य संस्था विराटनगर, कोषाध्यक्ष छन्दवाटिका नेपाल, विराटनगर, आजीवन सदस्य कण लघुकथा मञ्च बेलबारी मोरङ । म गजलकारलाई केही सुझाव दिन चाहन्छु । उनका गजलका सेरहरूमा महँगी सम्बन्धी, सिमाना मिचेको कुरा, किसानका कुरा, जेष्ठ नागरिकका कुरा, विदेश पलायनका कुरा, बालअधिकार जस्ता विषयमा पनि गजल आएको भए धेरै राम्रो हुन्थ्यो । बहुविधामा हुन्थ्यो अनि मूल्य पनि तीन सय अलि बढी भयो कि ? यो त मेरो व्यक्तिगत विचार मात्रै हो । जे होस् ‘दिव्यदीप’ मुक्तकसङ्ग्रह उहाँको पहिलो कृति हो । कमीकमजोरीको बाबजुद पनि राम्रो रहेको छ । एकपटक पढिदिनहुन अनरोध गर्दछु । लेखकलाई बधाई तथा शुभकामना दिन्छु । धन्यवाद ।
विराटनगर–१०, ब्रह्मकुमारी मार्ग
मो. ९८४२५२६५६६

