विराटनगर । कात्तिक १९ गते विभिन्न पार्टीहरू मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले देशव्यापी सभाहरूको आयोजना गर्ने भएको छ। नेकपाले तीन चरणमा सभाहरू गर्ने निर्णय गरेको हो।
मंसिर ९ गतेदेखि मंसिर २७ गतेभित्र देशभर सबै प्रदेश, जिल्ला र पालिकास्तरीय सभाहरु सम्पन्न गरिसक्ने गरी नेकपाले सभा आयोजना गर्ने कार्ययोजना पारित गरेको हो ।
नेकपाले मंसिर ९ गते सुदूरपश्चिम प्रदेशबाट प्रदेश स्तरीय एकता सन्देश सभाको सुरुवात गर्नेछ। यसपछि मंसिर १० गते कर्णाली प्रदेश, मंसिर ११ गते लुम्बिनी प्रदेश, मंसिर १२ गते गण्डकी प्रदेश, र मंसिर १३ गते मधेश प्रदेशमा सभाहरू आयोजना गरिनेछ। मंसिर १४ गते कोशी प्रदेश (प्रदेश नं.१) मा सभा सम्पन्न हुनेछ। बागमती प्रदेशको सभाको मिति भने पछि तय गरिने बताइएको छ।
यसैगरी जिल्ला स्तरीय सभाहरू पनि विभिन्न मितिमा आयोजना हुनेछन्। मंसिर १३ गते बागमती प्रदेशका सबै जिल्लामा एकैदिन सभा गरिनेछ। त्यसैगरी, मंसिर १५ गते सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, मंसिर १६ गते कर्णाली प्रदेशका सबै जिल्ला, मंसिर १७ गते लुम्बिनी प्रदेशका सबै जिल्ला, मंसिर १८ गते गण्डकी प्रदेशका सबै जिल्ला, मंसिर १९ गते मधेश प्रदेशका सबै जिल्ला, र मंसिर २० गते कोशी प्रदेश (प्रदेश नं. १) का सबै जिल्लामा एकैदिन सभा सम्पन्न हुनेछ।
अन्तिम चरणमा, नेपाली कम्युनिष्ट पार्टीले मंसिर २७ गते देशैभरिका पालिकाहरूमा एकैदिन पालिका स्तरीय एकता सन्देश सभाको आयोजना गर्नेछ। यी सभाहरूले नवगठित पार्टीको एकताको सन्देशलाई स्थानीय तहसम्म पुर्याउने विश्वास गरिएको छ।

