विशाल घिमिरे
विश्व पर्यटन दिवस कोशी प्रदेश सरकारले महत्वका साथ मनाउँदै छ । अन्तर्राष्ट्रिय समुदायमा पर्यटनको महत्व र भूमिकाको बारेमा चेतना जगाउँदै पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले हामी ४५औं पर्यटन दिवस मनाइरहेका छौं । पूर्वीय दर्शनमा पर्यटकलाई भगवान मान्ने प्रचलन छ । त्यसैले अतिथि देवो भवः भनिन्छ । आज ती पाहुनालाई हामी पर्यटकको रुपमा चिन्दछौं र ती पाहुनाहरु मुलुकको आम्दानीमा महत्वपूर्ण स्रोतको रुपमा रहने गर्दछन् ।
प्रकृति, संस्कृति र विविधताले भरिपूर्ण हाम्रोजस्तो देशमा पर्यटनको साथै यो दिवसको पनि धेरै ठूलो महत्व छ । पर्यटनले एक ठाउँको भाषा, संस्कृति, रहनसहन, चालचलन, परम्परा, भेषभूषा, खाना, गीतसंगीत र सभ्यतालाई अन्य क्षेत्रमा विस्तार गरिरहेको हुन्छ । नेपाल प्रकृतिका हिसाबले धेरै धनी छ । यहाँका खोलानाला, वनजंगल, नदी, भरना, पहाडी सडक, हरियाली, घाँसेमैदान तथा अरु धेरै पर्यावरणीय विविधता हामीसँग उपलब्ध छ । यो सानो ठाउँमा यति धेरै प्राकृतिक विविधता र अनेकौं जातजाति, भाषा, संस्कृति र भेषभूषा, जलवायुजन्य विविधता उपलब्ध रहेकोले पर्यटनबाट मुलुकले निकै राम्रो र दिगो लाभ लिन सक्ने आधार छ ।
कोशी प्रदेशमा हात्तीदेखि हाब्रेसम्मका जनावरहरु छन् । चियादेखि चौंरीसम्म हामीसँग छ । रेडपाण्डा, डाँफे आदि हिमाली जनावर र पंक्षीहरु मात्र होइन हजारौंको संख्यामा चराहरु हेर्न सकिने कोशीटप्पु क्षेत्र, विभिन्न धार्मिक र सांस्कृति क्षेत्रहरु जस्तै हलेसी, वराह क्षेत्र, पाथीभरा, चतरा, मुसाफिरखाना आदि हामीसँग भएका पर्यटन केन्द्रहरुको प्रचुरतालाई स्पष्ट गर्छ । जसलाई देखाएर हामी धेरै भन्दा धेरै पर्यटकहरुलाई मनोरञ्जन दिन सक्छौं ।
गर्मी ठाउँबाट एक दुई घण्टाको छोटो यात्राबाट हामीले चिसो अनुभूति गराउँदै हिमालयको दृश्य देखाएर पर्यटकहरुलाई रमाइलो गराउन सक्ने विविधता पनि हामीसँग भएकोले कोशी प्रदेशमा पर्यटनको धेरै राम्रो सम्भावना छ । पर्यटनभित्र प्रकृतिमैत्री पर्यटन र पर्यापर्यटन (ईको टुरिजम) महत्वपूर्ण मानिन्छ । ईको टुरिजमले प्रकृतिलाई विनास नगरी जस्ताको त्यस्तै राख्न जोड दिन्छ । ‘लिभ नथिङ्स एक्सेप्ट योर फुट प्रिन्ट एण्ड टेक नथिङ्स एक्सेप्ट फोटोग्राफ’ भन्ने यसको अवधारणा हो । हामी पनि यो दिशामा अगाडि बढ्नुपर्छ ।पर्यटन प्रवद्र्धन गर्न संघीय सरकारले १०० गन्तव्यहरु पहिचान गरेको छ । जसमध्ये ३० वटा कोशी प्रदेशमा छन् । हामीले पनि नयाँ गन्तव्यहरु पहिचान गरेका छौं ।
कोशीमा पर्यटनका क्षेत्रहरु :
सन् १९५३ मा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि नेपालमा हिमालय क्षेत्रको अवलोकन गर्ने पर्यटकहरु आकर्षित छन् । यहाँ पर्वतीय, पदयात्रा, प्रकृतिमैत्री, पानीमा आधारित, जीवजन्तुमा आधारित, खानामा आधारित, सांस्कृतिक र धार्मिक, स्वास्थ्य, कृषि, खेलकुद पर्यटन, पाराग्लाइडिङ, वाल क्लाइम्बिङ, ¥याफ्टिङ आदि साहसी पर्यटनका अनेकौं क्षेत्रहरु छन् । त्यसको योजनावद्ध विकास र प्रवद्र्धन गर्दै जानुपर्छ ।
रामसार सूचिमा सूचिकृत सम्पदा
कोशी प्रदेशका केही सम्पदाहरु रामसार सूचिमा सूचिकृत छन् । रामसार क्षेत्रमा सुचिकृत इलामको माइपोखरी, सोलुखुम्बुको गोक्यो ताल र कोशीटप्पु वन्यजन्तु आरक्षण बाह्य पर्यटनको दीगो आधार हुन् । त्यसबाहेक कञ्चनजंघा संरक्षण क्षेत्र, मकालुवरुण संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज आदिले वन्यजन्तु र वनस्पती संरक्षणमा योगदान गरिरहेको छ । जुन प्रकृतिका धरोहरहरु हुन् । विश्वका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, लोत्से, यालुङ्काङ, मकालु, चोयु आदि हिमालहरु, हिमालदेखि तराईसम्म पाइने वन्यजन्तु र वनस्पती पर्यटकलाई देखाउनसक्ने सम्भावना हामीसँग छ ।
विविधताले पर्यटकलाई आकर्षित गर्नसक्छ । हामीले चौंरी महोत्सव गर्दै आएका छौं । प्रदेश सरकारले पर्यटकीय आकर्षणका क्षेत्रहरुलाई प्रवद्र्धन गर्ने र त्यस ठाउँसम्मको पहुँच र पूर्वाधारमा लगानी गरिरहेको छ । केही धार्मिक महत्वका स्थानहरु, सामुदायिक र सांस्कृति महत्वका ठाउँहरुलाई पर्यटनको केन्द्रको रुपमा रहेका छन् ।
प्रदेशले छानेका बहुवर्षे पर्यटन योजना
चार वटा फरक सांस्कृतिक, धार्मिक र मनोरञ्जनात्मक पर्यटन केन्द्रहरुको विकासमा बहुवर्षे योजनासहित कोशी सरकारले काम गरिरहेको छ । रंगेलीको संसारी माइस्थान, विराटनगरको मुसाफिरखाना, सुनसरीको कोशी गाउँपालिकामा फनपार्क, पाँचथरको सिलौटी लब्रेकुटीलाई नयाँ पर्यटन र मनोरञ्जनको केन्द्रको रुपमा विकास गर्ने योजना सरकारको छ ।
विकासमा सहकार्य
पर्यटन विकासका लागि बहुसरोकारवालाहरुको संलग्नता आवश्यक पर्छ । सरकार एक्लैले पर्यटन विकास गर्न सक्दैन । सरकारले पूर्वाधारमा काम गर्छ र पर्यटन विकासको आधार तयार गर्न निजी क्षेत्रलाई सहयोग गर्छ । तर पर्यटनमा सबैभन्दा ठूलो लगानी निजी क्षेत्रले गर्नुपर्छ । निजी क्षेत्र सँगै अन्य बहुसरोकारवालाहरुको सहकार्यबाट मात्र पर्यटनको विकास सम्भव हुन्छ । हाम्रो व्यवहारहरु सभ्य र सांस्कृतिक हुनुपर्छ । त्यसका लागि शीप विकासमा व्यवसायीहरुको क्षमता विकासमा मिलेर काम गर्नुपर्छ ।
‘गर्मीसे बेहाल चलिए नेपाल’
हाम्रो पर्यटनको मुख्य स्रोत भारत नै हो । नेपालबाट दक्षिणमा पर्ने भारतमा धेरै गर्मी छ, जहाँ धेरै ठूलो जनसंख्या छ । त्यहाँबाट धेरै पर्यटक ल्याउने र हाम्रो प्रकृतिको आनन्द प्रदान गर्नेतर्फ नै हाम्रो योजना बन्नुपर्छ । हामीले ‘गर्मीसे बेहाल चलिए नेपाल’ भन्ने नारा अगाडि सारेर प्रवद्र्धनमा लाग्नुपर्छ । सँगसँगै पर्यटनका प्रोडक्टहरु विविधीकरण गर्ने र नयाँ उत्पादन गर्ने काममा ध्यान दिनुपर्छ । त्यसका लागि पर्यटन सर्किटहरुको विकास गर्दै प्रवद्र्धन गर्नुपर्छ । यसमा निजी क्षेत्रको भूमिका बढी हुन्छ । हवाइ यात्रालाई प्रदेश राजधानीबाट जिल्ला र अन्तरप्रदेशमा विस्तार गर्न पनि जरुरी छ ।
धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन
बराह क्षेत्र, हलेसी, पाथीभरा, चतरा आदि क्षेत्रमा अलि ठूलो योजनासहित धेरै पर्यटक ल्याउने योजना बनाउन सरकार अगुवाइ गर्न तयार छ । पर्यटनलाई समयानुकुल बनाउँदै अगाडि बढ्न समस्या पार्ने हाम्रा नीति नियमहरुलाई समयसँगै परिमार्जन र परिस्कृत गर्दै संघीयता अनुकुल बनाउँदै लैजाने प्रक्रिया सुरु गर्नुपर्छ । निजी क्षेत्रले पर्यटनमैत्री व्यवहार आवलबन गर्न जरुरी छ । सरकारले सहयोग गर्नुपर्छ । पर्यटनहरुले विगतमा भेल्दै आएका समस्या समाधान गर्न सरकारले पहल अगाडि बढाइसकेको छ ।
पदमार्गमा आधारित पर्यटन
प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटनको विकास र प्रवद्र्धनमा पनि जोड दिइरहेको छ । कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा टिटिडिपी आयोजना अन्तरगत चारवटा पदमार्गहरुको पहिचान गरेर काम भइरहेको छ । तीनजुरे मिल्के जलजले क्षेत्रमा लालीगुँरास पदमार्ग, इलाममा चियाबारी पदमार्ग, भोजपुरमा मुन्धुम पदमार्ग र इलाम–फिदिम क्षेत्रमा फालेलुङ पदमार्गको काम अगाडि बढिरहेको छ ।
भारतीय पर्यटकलाई सहज बनाइने
पर्यटन वर्ष २०८२ मा भारतबाट आउने पर्यटकहरुको यात्रालाई सहज बनाउने उद्देश्यले सुरक्षा व्यवस्थापन कार्ययोजना तयार पारिसकेको छ । यसले भारतीय सवारी साधनमा आउने पर्यटकहरुको आवागमनलाई सजिलो बनाउन आवश्यक सुझाव दिएकोले प्रदेश सरकारले अध्ययन गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको छ । भारतीय पर्यटकहरुले यात्रा गर्दा सडकमा र मुद्राको विषयमा भोग्नु परेको समस्या समाधान गर्ने पहल सरकारले अगाडि बढाइसकेको छ । यसको लागि नेपाल राष्ट्र बैंक तथा सुरक्षा निकायसँग छलफल भइरहेकोले समाधान हुनेमा आशावादी रहन सकिन्छ ।
पर्यटक ल्याउन विशेष कार्ययोजना
पर्यटन वर्षको लोगो तयार भएसँगै सरकार योजनाबद्ध गतिविधिहरु अगाडि बढाउने तयारीमा छ । सगरमाथा महोत्सव, चौंरी महोत्सव, भक्का महोत्सव, विभिन्न सांस्कृतिक महोत्सवहरुमार्फत पर्यटकहरु ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, प्रवद्र्धन र प्रचारात्मक कामलाई अगाडि बढाउनेतर्फ सरकारको ध्यान हुनुपर्छ । प्रचारप्रसारतर्फ मुख्य गन्तव्यहरुको मोबाइल एप निर्माण गर्ने, पर्यटन सर्किट र केन्द्रहरुको क्युआर वितरण गर्ने, सामाजिक सञ्जालको अधिक प्रयोग गर्ने, छिमेकी मुलुकका राजदूत र कन्सुलेटहरुलाई ल्याएर घुमाउने, धार्मिक गुरु र मौलानाहरुलाई सहभागी गराएर अन्तरक्रिया गर्ने तथा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गराउने, छिमेकी मुलुकका ठूलो जनसंख्या भएका सहरहरुमा टोली पठाएर पर्यटनका प्रोडक्टहरु प्रदर्शन गराएर पर्यटक ल्याउन पहल गर्ने आदि योजना बनाएर काम गर्दा पर्यटन वर्ष २०८२ मा थप २५ प्रतिशत पर्यटक ल्याउन सकिन्छ भन्ने विश्वास छ ।