भीम रावललाई जवाफ माग गर्ने केपी ओलीको भनाइ (भिडियो)

सर्वोच्चका प्रध्यानन्यायाधिशले राजीनामा दिनुपर्छ या पर्दैन भन्ने विषयमा एमाले तटस्थ बस्ने

विराटनगर । सुदूरपश्चिममा वडा सम्मेलन नभएको विषयम अभिव्यक्ति दिने उपाध्यक्ष भीम रावललाई एमाले अध्यक्ष ओलीले जवाफ माग्ने भएका छन् ।

विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले रावलसँग जवाफ माग गर्ने बताएका हुन् ।

उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताएका थिए । सोही विषयमा पत्रकारले सोधेको प्रश्नमा ओलीले ‘एक दुई जनाले के भन्छन् त्यसको कुनै मतलब भएन, उहाँ (भीम रावल)ले किन त्यस्तो भन्नुभयो, म सोध्छु ।’

अर्को प्रसंगमा ओलीले सर्वोच्च अदालतमा भएको तमासाको विषयमा एमाले तटस्थ बस्ने पनि बताए । ‘हामी हेर्दैैछौं, पहिलेदेखि नै सेटिङको चर्चा थियो, के सेटिङ हो कस्तो सेटिङ हो हामी हेरिरहेका छौं,’ उनले भने ।

सर्वोच्चका न्यायाधीशहरुले र सवोच्च बारले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग गरिरहेका बेला एमालेले भने त्यसविषयमा मौन बस्ने ओलीले बताए । ‘अदालत लोकतन्त्रको एउटा स्तम्भ हो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने विषयमा एमालेले कतैपट्टी पक्षधरता दिनुपर्ने विषय होइन,’ ओलीले भने, ‘संवैधानिक इजलाशले गरेको फैसला न्यायाधीशहरुले नै किन नमानेको ? न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका ४ जनासहितको संवैधानिक इजलास बनाउने संवैधानिक प्रावधानलाई त्यसैबेलादेखि इच्छाअनुसार चलाउन किन खोजेको, सो संविधान विपरीत छ ।’

त्यसैबेलादेखि नै अदालतमा त राजनीति सुरु भएको रहेछ होइन भन्ने प्रश्नको जवाफ दिन भने ओलीले अस्वीकार गरे । ‘अर्को विषयमा जाऔं न यही विषयमा कति जानु,’ ओलीकै नजिकै बसेका पार्टी नेता शंकर पोखरेलले भनेपछि ओलीले पनि त्यसैमा सहमति जनाए र जवाफ दिएनन् ।

ओलीले ओलीले अहिले न्यायालय र संसमा तमासा भइरहेको बताए । ‘जुन राजनीति सर्वोच्च अदालतमा भइरहेको छ । हाम्रो चिन्ता अदालतको विश्वसनीय र महत्वपूर्ण अंगको रुपमा रहोस्, दलीय गुटबन्दीमा फस्नु हुँदैन, त्यहाँभित्रको खिचतानीमा पस्नु हुँदैन,’ ओलीले भने, ‘५ जनाको फैसला आउँदाखेरि त बारले डेलिगेसन गएर इजलास तोकेको होइन ? अधिवक्ताहरुले उफ्रिउफ्री इजलाश तोकेको होइन र ? आफैंसँग बसेका इजलासका फलाना फलाना न्यायाधीश हुँदैन भनेर भनेको होइन र ? न्यायाधीशको बेञ्चमा बसेर न्याय निरुपण गर्न नदिएको त्यहीको न्यायाधीशहरुले होइन र ? अधिवक्ताले वेञ्च गठन गर्ने, बारले वेञ्च गठन गर्ने वा आफूले भनेजस्तो भएन भने न्यायाधीश मान्दिन भन्ने तमासा परमादेशभन्दा अगाडिकै सेटिङ होइन ? ।’

अर्को प्रसंगमा उनले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए । ‘हामी सरकारमा हुँदा एकजना उभियो संसद्मा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो,’ उनले भने, ‘अहिले नेकपा एमाले जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा त छँदै छ नि ।’

 

मङ्गलबार, ०९ कार्तिक, २०७८, बिहानको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर