अनि उनी हामीलाई रुवाउँदै गइन् !

 सनम रोक्का

‘ल है छोरा ! हामी मर्नुभन्दा पहिला नाति खेलाउन पाउनुपर्छ । नातीको मुख हेरेर मर्यो भने स्वर्ग पुगिन्छ । खोई कहिले पूरा गर्छस, तैंले हाम्रो सपना ।’

यहि भन्दै सँधै मलाई झस्काईरहनु हुन्थ्यो मेरो बुढा भएका बाआमा । मैले बिहे गरेको पनि ४ बर्ष पुगिसकेको थियो । मेरा ३ जना छोरीहरू थिए ।
म पनि घरी–घरी झस्किरहन्थे । मलाई एउटै डर थियो कि फेरि पनि मेरो सन्तान छोरी भँइ भने मेरो बुबाआमाको सपना के होला, के सोच्नुहोला ? के सोच्ला यो पुरुष प्रधान समाजले अनि के संज्ञा देला मलाई ?

म एक पढेलेखेको युवा ! मलाई थाहा छ, छोरा र छोरी एक हुन्। आजको आधुनिक युगमा छोराछोरीमा फरक छैन । र, फरक देखाइनु पनि हुँदैन । म सोच्छु । छोराले गर्न सक्ने धेरै काम छोरीले पनि त गर्न सक्छिन। तर, फेरि कहिल्यै सोच्छु उसो भए छोरा मान्छेको पनि पाठेघर हुनु पथ्र्यो, छोरीको रुद्रघण्टी हुनुपथ्र्यो, पुलिङ्ग र स्त्रीलिङ्ग एउटै हुनुपथ्र्यो ।

छोरी जन्मिनुलाई घरमा लक्ष्मीको आगमनको रुपमा लिइन्छ। छोरी घरको सौन्दर्य हो । छोरी हामीले पूजा गर्ने लक्ष्मी, सरस्वती, कालीको रुप हो । फेरि व्यवहारमा चै छोरी जन्माउने नारीलाई अलक्षिना, अभागी, रुखो भनेर पुकारिन्छ।

हो ! यस्तै समाज र परिवारको पुरातनवादी सोच, नैतिक आचरण र व्यवहारिक चलनदेखि निकै पीडित हुँदै आइरहेको थिए म । एकान्तमा बसेर ती मेरा तीन छोरी सन्तानहरुको भविष्य, मेरि उनीले दोश्रो छोरी जन्माउँदा उनले व्यहोरेको र मैले महसुस गरेको पीडा, चार महिनासम्म बेडबाट उनी उठ्न नसकेको कुरा सम्झँदै एक्लै भक्कानिए ।

बुढा भएका बाआमाको टुट्न लागेको सपना, छोरीले तिहारमा हात खाली राख्नु परेको दृश्य र मेरि उनीको कमजोर शरीरको भुमरीमा म फसिरहेको थिए। हिन्दू धर्मका अनुसार छोरा नहुनेको स्वर्गको बाटो खुल्दैन भनेर भनिरहनु हुन्थ्यो मेरा बाआमा । उहाँहरूलाई पौराणिक कथाले बेस्सरी पक्डेको छ । यो उहाँहरूको दोष हैन, समाज नै यस्तै छ ।

उनी फेरि गर्भवती भइन् । उनको शरीर निकै कमजोर देखिन्थ्यो । नारी हुन् नि उनी ! लाखौं बोझ भएपनि परिवारको खुसीको लागि उनी ती पीडालाई सहजै सहने कोसिस गरिरहेकी हुन्थिन । ‘यसपटक त नाति नै जन्मिन्छ छोरा, हेर त तेरि बुढी कति अल्छि भाकी छे,’ भन्दै आमा खुसी बन्नुहुन्थियो ।

‘यसपाली चै तिमिहरूको भाई नै जन्मिन्छ, के नाम राख्छौं,’ भनेर आमाले घरि–घरि नातिनिहरूलाई सोध्नु हुन्थ्यो । उनीहरू पनि मुसुक्क हाँस्थे, ‘अहिले त पक्कै नाति नै जन्मिन्छ । हिंजो सपनामा पनि नाति जन्मिने लक्षण देखेँ ।’ बा गुनगुनाउनु हुन्थ्यो ।

करिब एक महिनापछि उनलाई व्यथाले च्याप्यो, हामीले नजिकैको अस्पतालमा लग्यौं । उनी प्रस्रव पीडामा छट्पटी रहेकी थिइन् । छेउमा बसेकी मेरि आमाको अनुहारमा खुसी र कताकता निराशाको बादल छाईरहेको पाउँथें ।

घरिघरि मलाई हेरेर छोरै जन्मिछ होला है भन्दै मनको वहाब पोख्नु हुन्थ्यो । ‘छोरा जन्मियो भने के नाम राख्ने होला ? कति माया गर्छस नि ?’ भनेर मलाई सोध्नु हुन्थियो। म भने मौन थिएँ । मलाई छोरा या छोरी जन्मिने चिन्ताभन्दा उनको बढी चिन्ता लागिरहेको थियो ।

हाम्रो बिहे हुँदा उनी १८ वर्षकी थिइन, म भने २० वर्षको । हाम्रो सानै उमेरमा परिवारको दबाबले विबाह भयो । तीनजना छोरीको जन्मपश्चात उनी निकै कमजोर भइसकेकी थिइन् । उनको पीडादायी अनुहार हेर्दा म माथि झनै ठूलो पहाड खसिरहेको महसुस हुन्थ्यो । मैले कतै गल्ती त गरिन, उनी माथि अब के बित्ने होला मलाई बारम्बार पिरोलिरहेको थियो ।

यत्तिकैमा उनलाई प्रसूति कक्षमा लगे डाक्टरले । ‘हे भगवान् मेरो नाति नै होस्,’ आमा हात जोड्दै प्रार्थना गरिरहनु भएको थियो । ‘अहिले हात जोडेर नाति–नातिनी हुने हो र, कस्तो बुद्धि होला ?’ छेउमै उभिएका गार्ड दाइले कटाक्ष गरे ।

उनलाई भित्र लगेदेखि मेरो मनमा अनेकन प्रश्नहरु उब्जिरहेका थिए । कुनै सकारात्मक थिए त कुनै नकारात्मक। केहि छिनमा डाक्टरहरु आएर उहाँको अप्रेसन गर्नुपर्छ भने, ‘अवस्था गम्भीर हुँदै गइरहेको छ । हामी सक्दो प्रयास गर्छौं ।’

त्यसपछि उनलाई अप्रेसन थिएटरमा लगियो । हामी स–परिवार भगवान र डाक्टरको भरोसामा थियौं । त्यतिबेला मैले नारीको पीडालाई अझ बढी महसुस गर्ने मौका पाएँ । नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा भनेर वर्णन र व्याख्या गर्नु पनि निरर्थक लाग्न थाल्यो ।

छोरीको बाबुले त समाज र परिवारमा सम्मान पाउँदैन भने त्यो छोरी कसरी समाज र परिवारमा सम्मानित भएर बाँच्न सक्ली ? मलाई त छोरा र छोरीमा भिन्नता छैन भन्ने लाग्थ्यो तर यो समाजका बुज्रुकहरूले यो कुरा आत्मसात गर्न सकेका रहेनछन् ।

कर्तव्य बिर्सेर अधिकार मात्र खोज्ने आजको समाजले आफ्नो चिन्तनमा आमूल परिवर्तन नगर्दासम्म छोरा र छोरीको भेद हट्दैन । त्यसो त भेद हटाएर समानता ल्याउन खोज्दैमा आउने पो कहाँ हो र ? म एक्लैले समानताका कुरा गरे पनि प्रकृतिले नै फरक बनाइदिएको छ ।

जन्मेदेखि नै नारी र पुरूषलाई बोली र व्यवहार दुवैमा फरक बनाउँदै हुर्काइएको रहेछ । उदाहरण पनि खुब दिन्छौं हामी । महिलाले राष्ट्रपति भएर देश चलाएका छन्, प्रधानमन्त्री बनेका छन्, डाक्टर, इन्जिनियर, पाइलट त कति हो कति ! भाषण सजिलै छाँट्छौं हामी ।

मञ्चमा नारी स्वतन्त्रताको वाक्यहरु कुर्लीकुर्ली छाँटेर आफ्नो घरमा गई श्रीमती कुट्ने महान काजीहरू थुप्रै छन् हाम्रो समाजमा । जिउँदै छँदा जगल्ट्याउने र मरेपछि शोक काव्य लेख्ने कविहरू पनि छन् यहि समाजमा ।

नारीले यसो गरि त्यसो गरि भन्दै चोकमा गफ छाट्ने शासक घरमा गएर छोरीको कामै छैन भन्ने स्वाभामानी पनि ट्न्नै पाइन्छन् । आधा आकाश ढाकेको नारीलाई सम्मान खोइ ? किन सधैं अपहेलित हुनुपर्ने ? हिंसा किन ? भन्ने कुरा मनमा खेलिरहेको थियो ।

एक्कासि कसैले मलाई बोलाएको जस्तो आभाष भयो । त्यहाँ एकजना नर्स आइपुगिन र आत्तिएर मलाई केही भन्न खोजे जस्तो गरिरहेकी थिइन् । त्यतिकैमा आमा पनि मेरो नजिकै आउनुभयो । मेरो मनमा अनेकन कुराहरु खेल्न सुरू गरिसकेका थिए ।

ती नर्सले एकै शब्दमा भनिन्, ‘हामीले उहाँलाई बचाउन सकेनौं, छोरी भनी सकुसल छिन् ।’

ठूलो आँधीले सबै तहसनहस बनाए जस्तो लाग्यो । म उभिएको जमिन भाँसिएको महसुस भयो । मैले एकटकले उनलाई मात्र हेरिरहेको थिएँ । र मैले सोचें, ‘उनको मृत्युको एक मुख्य जिम्मेवार म पनि हुँ ।’

शुक्रबार, ०७ जेठ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर