लीलावल्लभ घिमिरे
अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्णरुपमा लकडाउन गर्नुपर्ने बताएका छन् । कुनैपनि देश लकडाउनमा जान नचाहे पनि कोरोना संक्रमणको चक्र तोड्नका लागि केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भएपनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य समाग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उनको भनाइ छ ।
छिमेकी देश भारतमा आजबाट दैनिक ४ लाखभन्दा माथि कोरोना संक्रमीतको संख्या पुगेको छ । त्यसको असर हाम्रो देश नेपालमा पनि देखिएको छ । गत वर्ष यही समय हो, जतिबेला दैनिक १ सयको संख्यामा कोरोना संक्रमण पुष्टि भएको समाचारले हाम्रो जिउ जिरिङ्ग हुन्थ्यो । आज एक वर्षपछि हाम्रो पनि पनि दैनिक ५ हजारभन्दा बढि संख्या पुष्टि हुन थालेको छ । यसले के प्रष्ट हुन्छ भने हामी पनि भारतको सुनामीबाट जोगिने छैनौं ।
कोरोनाविरुद्धको खोपको प्रभावकारिताका बारेमा विभिन्न कोणबाट कुरा उठिरहेका छन् । विज्ञहरुका भनाइ पनि आइरहेका छन् । तर, अहिले हामीले भेट्दा खोप लगाउने कुरामा दुइमत हुदैन । अवश्य पनि मोटरसाइकल चलाउँदा हामी हेल्मेट लगाउन विर्सदैनौं । हेल्मेट लगाए पनि दुर्घटनाबाट मर्नेको संख्या धेरै छ । तर, त्यो भन्दा बढी हेल्मेट लगाएका कारण बाच्नेको संख्या पनि छ । त्यसैले अरु केही नभएपनि खोपले अवश्य पनि हेल्मेटको काम चाही गर्छ भन्ने विश्वास छ ।
तर, अहिलेको हाम्रो चुनौती भनेको कोरोनाको दोस्रो लहरको चेनलाई ब्रेक गर्नु नै हो । त्यसका लागि एक मात्र विकल्प भनेको कडा लकडाउन हो भन्ने कुरामा अब हामीले दुईमत हुनुपर्ने आवश्यकता छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतलाई दिएको सल्लाह पनि यही हो । यदि उनले नेपाललाई सल्लाह दिए भने पनि यही दिनेछन् । तर, यहाँ लकडाउन गर्नका लागि स्थानीय सरकारदेखि प्रशासनलाई पनि हात जोड्नुपर्ने अवस्था आएको छ । शनिबार रातिबाट प्रदेशको राजधानी विराटनगर र त्यसको आसपास केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । तर, त्यसको पालन कसरी हुन्छ भन्ने कुरा प्रमुख हो । यदि हामीले यो निषेधाज्ञालाई कडाइका साथ पालना नगर्ने हो भने दिल्लीको अवस्था यहाँ आउदैन भन्नसक्ने अवस्था छैन । सबैलाई थाहा हुनपर्छ ‘दिल्ली दुर नही हे’ त्यसैले सबैले सजग हुनुको विकल्प छैन ।
कोरोनाको दोस्रो लहरले देश आक्रान्त बनेको छ । हामीसँग तीन तहका सरकार छन् । तर, जनताले सरकारको अनभुति गर्न सकेका छैनन् । संघीय सरकारले देशमा हाहाकार हुनुभन्दा पहिला हात उठाएको छ । हामीसँग प्रदेश सरकार र स्थानीय सरकार छन् । तर, उनीहरुसँग आवश्यक स्रोत र साधन मात्र हैन, दक्ष जनशक्तिसमेत छैन । कोरोना सबैको घर आँगनमा आईसकेको छ । बजारमा हिँड्नेहरु अहिले पनि माक्स नलगाई हिँडिरहेका छन् ।
अनि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको उर्दी पनि धेरैले मान्ने गरेको पाइदैन । जिल्ला प्रशासनमा निषेधाज्ञा वा लकडाउनमा पास लिनेहरुको भिड लाग्नथाल्छ । अनि पहुँच हुनेहरुका हातमा पास हुन्छ, नहुनेहरुको विल्लीबाठ त हुन्छ नै, कोरोनाको चेनलाई ब्रेक गर्ने काममा समेत असहयोग हुन्छ । केही दिन हामी सबै घरभित्र नै सुरक्षित बस्यौं भने आफू पनि बचिन्छ र अरुलाई पनि बचाइन्छ । यो समय त्यति धेरै जादैन भन्ने विज्ञहरुको अनुमान छ । वैशाख र जेष्ठ महिनामा यसको फैलने क्रम धेरै देखिएको छ । त्यसैले यसलाई जसरी भएपनि चेन तोड्नुको विकल्प छैन । अहिले पनि मोरङका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा विद्यालय खुल्लै छन् । काठमाडौंबाट ठूलो संख्या ग्रामिण क्षेत्रमा आएको छ । यसले गर्दा हाम्रा शहर बजार मात्र हैन, गाउँसमेत असुरक्षित छन् । ग्रामिण इलाकामा त झनै स्वास्थ्य मापदण्डको कुरा कमजोर छ । मास्क लगाउने बानी ग्रामिण क्षेत्रका बासिन्दाहरुमा परिसकेको छैन । शहरी क्षेत्रमा समेत मास्कलाई अनिर्वाय गर्न नसकिरहेको बेला ग्रामिण क्षेत्र झनै असुरक्षित छ ।
यतिबेला हाम्रो मिडियाहरुमा कोरोना संक्रमण र मृत्युको भनेर समाचार मात्र पढ्न पाइन्छ । तर, तीन तहका सरकारले कोरोना नियन्त्रणका लागि गरेको उदाहरणीय र अनुकरणीय काम पढ्न पाइएको छैन । वास्तवमा हाम्रा सरकारहरु यस्तो महामारीको बेला पनि कानमा तेल हालेर बसेका हुन् या उनीहरुले गरेका काम मिडियामा नआएका हुन्, भन्नसक्ने अवस्था छैन । स्थानीय र प्रदेश सरकारले कोरोनाका उपचार र नियन्त्रणका लागि जे गरिरहेका छन्, त्यो बाहिर आउनु आवश्यक छ । जनतामा कोरोनाको त्रास मात्रै छ सरकारसँगको आश शुन्य प्रायः बन्दै गएको छ । यसमा सबैको ध्यान जानु आवश्यक छ ।