राकेश कर्ण
पछिल्लो समय प्रदेश १ मात्रै नभई मुलुकभर नै अपराधिक घटनाहरुको संख्या उकालो लाग्दै गएको छ । नेपाल प्रहरीको तथ्याङ्कले यसको पुष्टि गर्छ ।
१ नं. प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा मात्रै प्रदेशभर ४ हजार ६ सय ८९ वटा विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । जसमा कर्तव्य ज्यान, जबरजस्ती करणी, करणी उद्योग र आत्महत्या जस्ता गम्भीर प्रकृतिका मुद्दाहरुको संख्या थामिनसक्नु छ । प्रदेश प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गत वर्षको तुलनामा चालु आ.ब.मा ८.७ प्रतिशतले अपराध कम भएको हो, तर गम्भीर प्रकृतिका अपराध भने ह्वात्तै बढेको छ । नागरिकले मानवीय संवेदनशीलता गुमाउनुलाई पनि यसको कारक मानिएको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ८ महिनामा देशभर ४ हजार ४ सय ८३ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा कुल ३ हजार ५ सय ३४ वटा आत्महत्याका घटनाहरु भएका थिए । चालु आ.ब.मा वृद्धि भएको आत्महत्याको दरलाई विश्लेषण गर्दा दैनिक सरदर १७ जनाले आत्महत्या गरेको देखिन्छ । यसैगरी गएको ८ महिनामा मुलुकभरि जबरजस्ती करणीका १ हजार ६ सय ५३ वटा घटनाहरु दर्ता भएका छन् भने कर्तव्यज्यान सम्बन्धी मुद्दाहको संख्या ४ सय ४७ रहेको छ । यसरी अपराधहरु दिनानुदिन बढ्दै जानुले समाजमा असुरक्षा बढेको अनुभूति आम सर्वसाधारणले गर्न थालेका छन् ।
ईतिहासले लिच्छवीकालको शासन व्यवस्थालाई ‘स्वर्ण युग’ भनेको छ । नेपालको प्राचीन ईतिहासको उक्त कालखण्डमा जनता ढोका नथुनी आनन्दले निदाउने गरेको कथन छ । चोरी, डकैती र लुटपाट लगायतका घटनाहरु समेत नहुनु त्यो बेलाको समाज समृद्ध रहनुको परिणाम हो ।
तर, आज हाडनाता करणीदेखि छोराछोरीबाटै आमाबाबुसम्म असुरक्षितका घटनाले समाजमा आत्मकेन्द्रीत चिन्तन बढदै गएको प्रमाणित हुन्छ । कोही कसैको नहुने आत्मकेन्द्रित चिन्तन, मानसिकता र व्यक्तिवादी सोचाइले नेपाली समाज इतिहासको गौरवबाट च्यूत हुँदै गएको छ ।
‘सुख र भोगविलास नै अन्तिम विकल्प हुन’ भन्ने मानसिकता बोकेका व्यक्तिले त्यसकै प्राप्तिका लागि अपराधिक कर्ममा उद्दत हुन थालेका छन् । विज्ञानले गरेको विकास, लाखौं खोज र आविष्कारहरुको दुरुपयोगले, पैसा भए संसारको सबै सुख उपभोग गर्न पाइने सङ्कीर्ण सोच मानव जगतको बाधक बनेको आएको छ । यस्तो अपराधलाई न्यूनीकरण गर्न नयाँ पुस्तालाई नैतिक शिक्षा दिन आवश्यक देखिन्छ । हाम्रो परम्परागत मूल्य र मान्यतालाई पुर्नजिवित गर्न तथा विश्वबन्धुत्वको भाव जागृत गर्दै सह–अस्तित्व, सहभागिता र सहकार्यको बाटोमा अगाडि बढ्न यो वर्तमान परिपे्रक्ष्यमा नैतिक शिक्षा अत्यन्तै आवश्यक बनेको छ ।
केवल प्रहरी सक्रियता वा स्तरोन्नतिले मात्र अपराधको मनोरोगलाई नियन्त्रण गर्न सकिँदैन । शासकहरुबाटै सदाचारी, नैतिक र आदर्शसहितको नेतृत्व अघि सार्नुपर्छ । त्यसकै अभिभावकत्व संस्कारित शिक्षाको माध्यमबाट लोकउपकारी कार्य गर्न अभिप्रेरित गरी सभ्य समाज निर्माणमा लाग्नु पर्दछ । अनि मात्र समाजबाट व्यक्तिवादी सोच र अपराधिक गतिविधि नियन्त्रण हुन्छ ।