के होला एमाले ?

 अनन्तराज न्यौपाने

सोमबार आकस्मिक रूपमा आयोजना गरिएको एमालेको धुम्बाराही बैठक निष्कर्षहीन भएको छ । निष्कर्षहीन भएपनि एमाले नेताहरूले यस बैठकलाई निरासाजनक मानेका छैनन् । दुबै पक्षका अभिव्यक्ति सुन्दा लाग्छ, कालो बादलवरिपरि चाँदीको घेरा अझै छ । यति धेरै तिक्त र फोहर भइसकेको अन्तर्कलहलाई स्वादिष्ट र सङ्लो बनाउन एउटै बैठक पर्याप्त हुँदैन पनि । बैठक सुरु भयो, राम्रो कामको आरम्भ भयो । यति भन्न सकिन्छ ।

एमाले र मालेका यसअघिका अन्तरकलह हेर्ने हो भने सजिलै पत्ता लगाउन के सकिन्छ भने यो सहिष्णुता, संस्कार र सभ्यताले ओतप्रोत भएका नेताको पार्टी होइन । यस दलभित्रका नेता अत्यन्त क्रूर, निर्मम, असहिष्णु र असभ्य प्रतित हुन्छन् । दुई विपरित ध्रुवमा बाँडिएका विगत ३÷४ महिना यताका एमाले नेताहरूका भाषा सुन्दा के लाग्छ भने यिनीहरू कुनै राजनीतिक दलका परिपक्व नेता हुँदै होइनन् । बरु विद्यार्थी सङ्गठनका सह–प्रारम्भिक कमिटीका सदस्यहरू हुन् । यसबीच उनीहरू कति अराजनीतिक र अमर्यादित शैलीले आपसमा गालीगलौजमा उत्रिए भने ‘नेपाली राजनीतिमा असभ्यता’ शीर्षकमा शोध गर्ने कुनै पनि शोधार्थीका लागि यो अवधि पूरापूर सामग्री बन्न सक्छ ।

नेपाली काङ्ग्रेसको अन्तर्कलह चुलिएका बेलामा तुलनात्मक रूपमा कम बौद्धिक र चिन्तनशील मानिने शेरबहादुर देउवाले पनि गिरिजाप्रसाद कोइरालालाई तथानाम गाली गरेनन् । हरेक मञ्चबाट उनले सधैँ भनिरहे, ‘गिरिजाबाबु मेरो गुरु र नेता हुनुहुन्छ । तर, आज एउटै पार्टीमा बस्ने अवस्था रहेन । त्यसैले नेपाली काङ्ग्रेस प्रजातान्त्रिकको गठन गर्नुप¥यो ।’ त्यस्तै वयोवृद्ध नेता गिरिजाप्रसादले पनि शेरबहादुरलाई पाँडे गाली गरेनन् । गिरिजाले सार्वजनिक मञ्चबाट देउवाका बारेमा बोल्नुपर्दा सधैँ मर्यादित र शिष्ट भाषा नै प्रयोग गरिरहे ।

तर, एमालेमा यस्तो संस्कारको नितान्त अभाव रह्यो । हुनत, एमाले नेताहरूको यस्तो शैली र परम्परा भूमिगत कालदेखिकै हो । तत्कालीन मालेले केन्द्रीय समितिको बैठकबाट २०३९ सालमा पार्टीका संस्थापक महासचिव सीपी मैनालीलाई जबर्जस्ती अपदस्थ ग¥यो । मालेको सम्पूर्ण पार्टी निर्माणमा सीपीको योगदान उल्लेखनीय थियो । यसबीच सीपीले पार्टीभित्र पार्टी स्वतन्त्रताको लाइन अघि सारे । तर, मदन भण्डारी, वामदेव, प्रदिप नेपाल, मुकुन्द न्यौपाने र झलनाथजस्ता प्रभावशाली नेताहरू कम्युनिज्मको जडसूत्रवादी र रूढीवादी धारमा कायमै थिए । उनीहरूले केन्द्रीय समितिको बहुमतका आडमा सीपीलाई अमानवीय ढङ्गको कारबाही गरे । महासचिवको पदबाट बलात् हट्नु परेका सीपीले बैठक सकिएको २४ घण्टाभित्र देश छाड्नुपर्ने भयो । देशभित्रका कुनैपनि सेल्टरमा उनलाई आश्रय नदिन उर्दी गरियो । शक्तिशाली महासचिव सीपीलाई प्रवास संयोजकमा झारेर लगभग भूमिकाविहीन बनाइयो ।

तर, २०४६ सालको संयुक्त आन्दोलनमा आइपुग्दा मालेले सीपीकै लाइनलाई अङ्गीकार ग¥यो । २०४५ सालको महाधिवेशनमा पनि पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने बहस भयो । पार्टी स्वतन्त्रताको लाइन पास गरियो र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाका लागि नेपाली काङ्ग्रेससित माले पार्टीले सहकार्य गर्ने भयो । सँगै आन्दोलनमा उत्रिने भयो । मदन भण्डारी महासचिव बने । सात वर्षपछिको युगलाई दूरदर्शी सीपीले २०३९ सालमै देखेका थिए । तर, तत्कालीन माले र अहिलेको एमालेमा पनि यस्ता दूरदर्शी नेताको काम छैन । बजारमा अस्वस्थकर चटपटी, झालमुढी र पुच्कामा टिन एजरको भीड लागेजस्तो ओलीका अपाच्य उखान, असभ्य गालीगलौज र भद्दा मजाकका वरिपरि कार्यकर्ता झुम्मिएका देखिन्छन् ।

२०४४ सालको अर्को उदाहरण । त्यस वर्ष तत्कालीन मालेले जनपक्षीय उम्मेदवारका नाममा विराटनगरको प्रधानपञ्चमा ध्रुवनारायण श्रेष्ठलाई उठायो । ध्रुवनारायण स्ववियूको सभापति भएका वाक्पटु र लोकप्रिय युवा नेता थिए । नेपाली काङ्ग्रेसले चुनाव बहिष्कार गरेपछि उनलाई जित्न सजिलो भयो । उनी प्रधानपञ्च बने । तर, आफू विजयी भएको ६ महिना नबित्दै श्रेष्ठ पार्टी लाइनको विपरीत गएर पञ्चायतको समर्थक भए र पार्टी छाडिदिए । त्यहीबेला विराटनगर आएका तत्कालीन मालेको पोलिटब्यूरोका एक नेताले ध्रुवलाई बोलाएर पार्टीले मृत्युदण्ड दिने फैसला सुनाए । ध्रुवले तत्कालै यो धम्कीलाई मिडियासामु प्रस्तुत गरे । देशभरिका साप्ताहिक पत्रिकामा यो समाचारले प्रमुखता पायो ।

यस्ता उदाहरणहरू धेरै छन् । भात पाक्यो कि पाकेन भनेर भाँडाका सबै सिता छाम्नु नपरेजस्तै एकदुई उदाहरणबाट बुझ्न सकिन्छ, एमाले भनेको असभ्य, अमर्यादित, असहिष्णु, क्रूर र निर्दयीहरूको झुण्ड मात्र हो । यी गुणमा माधव, झलनाथ, वामदेव वा केपी कोही कम छैनन् । सबै उत्तिकै हुन् । आखिर उनीहरूको स्कुलिङ त आततायी प्रकारको व्यक्तिहत्याकै न हो ।
प्रसङ्ग सोमबारको धुम्बाराही बैठबाट सुरु गरिएको थियो । इतिहासमा आइपुगियो । तर, हामीले बुझ्नुपर्ने र जान्नुपर्ने त इतिहास र विगतबाटै हो । विगतका परम्परा र इतिहास हेर्दा एमाले अब एउटै भइरहला भन्न चाहिँ सकिन्न ।

मङ्गलबार, ०३ चैत, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर