लीलावल्लभ घिमिरे
एउटा पुरानो र यर्थाथ सत्य फेरी कोट्याउन मन लाग्यो । नेपालमा जब जनयुद्धका नाममा विद्रोह सुरु भयो । त्यसको पहिलो निसानामा परे पञ्चहरु । जब माओवादीले पञ्चहरुलाई विभत्स हत्या गर्न थाले त्यस बेलाका कांग्रेस एमालेहरु मख्ख परे । उनीहरुको बुझाई थियो प्रजातन्त्र ल्याएपछि पञ्चहरुलाई यसै गर्नु पथ्र्यो, त्यो काम गरिएन । अहिले आएर माओवादीले गरे जे गरे ठिक गरे ।
देशभरका ग्रामीण इकालाकाबाट पञ्चहरुका परिवार चित्कारका साथ गाउँ छोडे । पञ्चको पालो पुगेपछि निसानामा परे कांग्रेस । त्यसबेला एमाले यति न खुसी भए । उनीहरुलाई लाग्यो माओवादी उनीहरुका सहोदर भाइ हुन, कांग्रेस प्रमुख शत्रु हो । यसैलाइै ढाल्नु पर्ने । कुचोले बढार्नु पर्ने कँस्यार हावाले उडाएर लग्यो । त्यसपछि धेरै कांग्रेसका टाउका काटीए जग्गा कब्जा भए । घरमा लाल झण्ड फराउन थाले । कांग्रेस पनि गाउँ छोडेर सहर पसे । नसक्नेहरु सास दबाएर त्यँही बसे । कांग्रेसको पालोपछि एमालेको पालो आयो । त्यस बेला मात्र सबैको चेत खुल्यो । एमालेहरुपनि मारीए । खेदीए । मैदान खाली भयो । माओवादीले देशै कब्जा गरे जस्तो भयो ।
आज यहाँ त्यस्तै दृष्यहरु देखिन थालेका छन् । एकपछि अर्को शक्तिलाई सक्ने काम भइरहेको छ र त्यसको प्रमुख मतियार बन्नुभएको छ हाम्रा प्रधामन्त्री केपी शर्मा ओली । मेरो विचारमा आज ओली जुन रोडम्यापमा हिडिराख्नु भएको छ, त्यो उहाँले बनाएको रोडम्याप पक्कै पनि हैन ।
आजको यात्रामा ओलीको गोजीमा हालिदिएको नक्सा कुनै शक्ति केन्द्रले बनाएको हो भन्ने पक्का छ । आज जसरी ओलीले प्रचण्ड र माधवकुमारलाई सके भन्ने भ्रम पाल्नुभएको छ अबको पालो ढिलो चाँडो ओलीमा नै आइपुग्छ । यो योजनाको सुरुवात तत्कालीन सभामुख कृष्णबहादुर महाराबाट भएको हो । यसको अन्त्य केपी शर्मा ओलीलाई सडकमा ल्याएका दिनमात्र सकिने छ । तर आज लाग्छ, ओलीले सबैथोक जित्नु भएको छ । ओली मात्र यस्तो पात्र हो जसले यो देशलाई बुझेको छ र उहाँमात्र यस्तो खेलाडी हो जसले सँधै गोल लगाउने काम मात्र गर्छ । तर, यो बुझाइ गलत हुन सक्छ ।
जब महरालाई सक्ने काममा प्रचण्ड सहभागी हुनुभयो त्यो नै सबैभन्दा प्रचण्डको ठूलो गल्ती थियो । आज महरा हँुदै माधव नेपाल, झलनाथ खनाल मात्र हैन सयौं नेता र लाखौं कार्यकर्ताको भविष्य अन्धकार पार्ने काम केपी शर्मा ओलीबाट भइरहेको छ । यसको पछुतो गर्नका लागि ओलीले धेरै समय कुर्नु पर्दैन ।
अहिले हाम्रो समाजमा यस्तापनि छोरोछोरी छन् जो आफुलाई जन्मदिने बाबुआमालाई घरबाट निकाल्दा रमाउँछन् । समाजमा यस्तापनि अभिवाक छन् जो छोरोछोरीलाई अंश दिनुपर्छ भनेर अनेक तानाबना वुनेर घरबाट निकाल्न चाहन्छन् । आज नेकपा एमाले ओली समूहले त्यही गरिरहेको छ । माओवादीलाई पुरानो घर पठाएर मात्र ओलीलाई सुत्ने ओछ्यान फराकिलो भएको छैन् । त्यहाँ रहेका आफूलाई मन नपराउने सन्तानलाई पनि घरवाट निकालेर उनी एक्लै आन्नदले सुत्न चाहन्छन् । यसमा साथ दिने एउटा ठूलो समूह छ । जसले हिजो संसद विघटन गर्ने असंवैधानिक कदमलाई समेत संवैधानिक देख्यो । सानो बच्चाले ‘सु’ ग¥यो भने उसलाई एकछिन त तातो हुन्छ तर त्यो तातो धेरै समय रहदैन । आज नेकपाको विभाजनले ओली समूहले तातो त महसुस गरेको छ तर, पछि यही सबै भन्दा ठूलो भुल सावित हुनेछ ।
मैले यहाँनेर पुरानो कुरालाई कोट्याउन चाहेकोपनि त्यही हो । आज माधवकुमार र प्रचण्डहरुलाई सक्दा जसरी ओली पक्ष मख्ख परिरहेको छ । त्यो संगै पालो मेरोपनि आइसक्यो भन्ने चिन्ता गर्ने समय धेरै टाढा छैन । यो देशका बलिया शक्तिहरुलाई फुटाएर राज गर्न सफल हुनेहरुले फेरी मेरो देशलाई केहि दशक पछि धकेल्न सफल भएका छन् । यसमा साथ दिने पात्रहरुले यसको पश्चाताप त गर्ने छन् तर, त्यस बेला ढिलो भइसकेको हुने छ ।
तपार्इंहरुले सोध्न सक्नुहुन्छ अब के हुन्छ त ? त्यो त ओली ‘बा’ लाई पनि थाहा छैन । यदि थाहा भए त सम्माननीय प्रधानमन्त्रीले यति गर्नु नै हुने थिएन नि ! त्यसै हामीले चिया गफमा गर्ने राजनितिक विश्लेषणले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको छेउ टुप्पो पनि पुग्दैन ।
अन्त्यमा मेरो आग्रह यति मात्र हो । आज एमाले हुँदैमा सडकमा छाती नै ठोकिनेगरी हिड्नु पर्दैन । अनि अहिले ठूलो कुरो जितेको पनि हैन । यो अनिष्टको बाटोमा हिडेको गाडी कहाँ पुगेर दुर्घटनामा पर्छ भन्ने आंकलन कसैलाई पनि छैन । यति चाँही सत्य हो, गाडीको ब्रेक फेल गराउन योजनाकार सफल भएका छन् । अब दुर्घटना कहाँ पुगेर हुन्छ भन्ने प्रतिक्षामा बस्नुको विकल्प छैन । त्यसैले ब्रेक फेल भएपछि गाडी नै बतासीएर कुद्न थाल्यो भन्ने भ्रममा धेरै हौसिने काम नगरौं भन्ने मात्र हो । आगे कामरेडको जो मर्जी ।