महिला पनि जागरुक हुनुपर्छ

 एलिना दियाली

आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय नारी दिवस । महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्यनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासका लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसँगै महिलाको मानव अधिकारप्रति ऐक्यबद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ का दिन विश्वभर महिला दिवस मनाइँदै आएको छ । यहि अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नारा सहित नारी दिवस नेपालमा पनि मनाईँदैछ । हरेक समाज पूर्ण हुन साथै संसारको अस्तित्व रहनको लागि पुरुष सङ्गै महिलाको पनि उत्तिकै महत्त्व छ । प्रकृतिले दिएको प्राकृतिक भिन्नता बाहेक हरेक पुरुषले गरेका काम गर्न महिला पनि उत्तिकै अब्बल छन । तर मै सर्बैसर्बा भन्ने केही पुरुषको रुढीबादी सोच र म कमजोर छु मैले महिला भएकै कारण सबै दमन सहनु मेरो कर्तव्य हो भन्ने गलत बुझाई साथै कानुनको फितलो कार्यान्वयनले गर्दा अझै पनि लैङ्गिक समानता सहितको समतामुलक समाजको परिकल्पना पूरा हुन सकेको छैन ।

तर बिगतको तुलनामा लैङ्गिक समानता तर्फ समाज अघि नबढेको भने हैन । महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चीन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारिखलाई अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि अन्य धेरै पक्षबाट महिला सहभागितालाई प्राथमिकतामा राखिएको छ । नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ । तर संविधानले प्रदान गरेको हक प्राप्त गर्नका लागि महिला पनि उत्तिकै जागरुक चै पक्कै हुनुपर्छ । कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् ।

अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । समान हकका लागि आफैंले गरेर देखाउने बेला आएको छ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून् र हकका लागि झन्डा बोकेर सडकमा उत्रनु नपरोस । हरेक पटक पुरुषले मारेर दिएको माछा खाएर बस्ने मात्रै हैन अब माछा मर्ने कला सिकेर आफ्नै हातले मारेको माछाको स्वाद लिदै पुरुषलाई अनि यो समाजलाई पनि स्वाद चखाउनु पर्छ महिलाहरुले ।मुस्कान खातुन जस्ता हजारौं मुस्कानहरुले एसिडको सिकार बन्न नपरोस ।भागरथि र निर्मला जस्ता लाखौं निर्मलाहरुको मुनाहरुले फुल्न नपाउँदै चुँडीन नपरोस, निमोठीन नपरोस, ओईलिन नपरोस, झर्न नपरोस । महिला माथी हुने शारीरिक एवं मानसिक साथै कुनैपनि प्रकारका हिंसाका पीडकलाई कानुनको उचित कार्यन्वयन गरि कठघरामा उभ्याईयोस । तब मात्रै भागरथी र निर्मलाका मृत आत्माले शान्ति पाउनुका साथै अन्य देश भित्रका लाखौं निर्मला, भागरथी र मुस्कानहरुले सुरक्षाको बोध गर्न सक्छ्न् । महिला तथा सम्पूर्ण पुरुषहरुमा लिङ्गको आधारमा भेदभाव नगरि हामी सबै एकै हौँ, एक भएर अघि बढ्नुपर्छ तब मात्रै सभ्य साथै सुंस्कृत र समतामूलक समाजको निमार्ण हुन्छ भन्ने प्रेरणा मिलोस १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको तपाईंलाई शुभकामना ।

सोमबार, २४ फागुन, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर