सरकार उदासिन की ठाउँ नै विकट ? पहिरो पीडितले अझै राहत पाउन सकेनन्

बुढाबुढीमा अत्याधिक चिसोका कारण निमोनियाको समस्या देखिएको छ भने केटाकेटीलाई पनि चिसोले सताएको छ/ आलुको भरमा पीडितहरु

विराटनगर । पहिरो गएको चार दिन वितिसक्दा पनि संखुवासभास्थित सिलिचुङ गाउँपालिका बेसिन्दाका पहिरो पीडितले राहत पाउन अझै सकेका छैनन् ।

गत आइतबार बिहान राती गएको पहिरोमा परी ११ जना वेपत्ता भएका छन् भने उद्धार गर्ने क्रममा बेहोर भएर १ जनाको मृत्यु भएको छ । त्यहाँको ७७ घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् । ९ घर पहिरोले पुरै बगाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमध्ये ३ सय ४९ जना विस्थापित भएको तथ्यांक प्रहरीसँग छ ।

पीडितहरु अहिले पनि पहिरो गएको स्थानदेखि झण्डै २ घण्टा पैदल हिंड्दा पुगिने चित्रे भन्ने स्थानमा बसिरहेका छन् । स्थानीय अदल किराँतीका अनुसार त्यहाँको अवस्था चिन्ताजनक छ । बुढाबुढीमा अत्याधिक चिसोका कारण निमोनियाको समस्या देखिएको छ भने केटाकेटीलाई पनि चिसोले सताएको छ । ३ घरमा कोचेर राख्नुपर्दा खाने, बस्ने र सुत्नको लागि धेरै समस्या छ ।

तीन दिनपछि सिलिचुङको बुधबारे भन्ने स्थानमा केही खाद्यान्न र टेन्ट लिएर हेलिकप्टर २ पटक पुग्यो । अहिले पनि उक्त सामान त्यहीं छ । पीडितको लागि पु¥याउन सक्ने अवस्था अझै छैन । यसअघि चित्रेमा राख्ने भनिएको राहत सामाग्री मौसमको खराबीका कारण हेलिकप्टल ल्याण्ड हुन सकेको थिएन ।

राहत सामाग्री लिएर सम्बन्धीत ठाउँमा जान भन्दै हेलिकप्टर सवार गर्ने मन्त्री तथा सांसदहरुको भने लाम लागेको छ । अहिलेसम्म प्रदेशका तथा संघीय संसदका गरी दर्जन बढी मन्त्री तथा सांसदहरु हेलिकप्टर सवार गरिसकेका छन् । तर, पीडितका लागि राहत आकाशको फल, आँखा मरी तर जस्तै भएको छ । चार दिनदेखि नै पीडितहरुले आलु र मकै खाएर जीवन धान्दै आएका छन् ।

‘माथि सामान पु¥याउन समस्या भएपछि नेपाली सेना र नेपाल प्रहरीले बुधबारेमै अहिले टेन्ट टाँग्न सुरु गरेको छ,’ किरातीले भने, ‘तर, सरकारी तथ्यांकमा ७७ घर भने पनि १ सय २० भन्दा बढी घर परिवार विस्थापित भएका छन्, उनीहरुका लागि अहिलेसम्म ५३ वटा टेन्ट मात्रै आएको छ ।’ बुधबारेबाट पीडित बसेको स्थानमा पुग्न कम्तीमा पैदल हिंड्दा ६ घण्टा लाग्ने र पहिरो भएको स्थानमा ४ घण्टा लाग्ने स्थानीय बताउँछन् ।

प्रदेश सरकारले ३ पटक गरेर बुधबारेमा २ हजार २ सय ५० केजी चामल, ४ सय केजी रहर दाल, १ सय २० लिटर खानेतेल, १ सय केजी नुन, ५३ थान टेन्ट, ३ रोल म्याट्रेस, ५ थान त्रिपाल, २ कार्टुन कम्बल, विस्कुट १३ काटुन, चाउचाउ १० काटुन र जीवनजल २ कार्टुन पठाएको तथ्यांक छ । ‘यहाँ चामल र चाउचाउ बाँडेर केही हुने वाला छैन, स्थानीय बाहेक बाहिरका मानिस यहाँ आएर १ घण्टा बसेर हेर्न सक्ने अवस्था पनि छैन, मानिसहरुको रुवाबासी र बेदना सुन्न सकिने अवस्था छैन,’ त्यहाँ पुगेपछि टेलिफोनमा किरातीले भने, ‘सरकारका कुनै पनि अंगहरु अझै राम्रोसँगले पीडितसँग पुगेको छैन, यहाँ राज्यबिहीनताको अवस्था छ ।’

वेपत्ताको खोजीमा सुरक्षाकर्मीहरु जुटिरहँदा विस्थापितको व्यवस्थापनमा भने ध्यान पुग्न नसकेको उनको भनाइ छ । अहिलेसम्म विस्थापितहरुलाई बुधबारेमा राख्ने तयारी गरिएको छ । तर, केही विस्थापितहरुले आफ्नो थातथलोमा वस्तुभाउ तथा सरसामान रहेको भन्दै बुधबारेमा झर्न नमानेको बताइएको छ ।

‘विस्थापितलाई काहाँ राख्ने भन्ने विषयमा अझै अन्यौल छ,’ उनले भने, ‘चित्रे भन्ने ठाउँमा बसेकाहरुमा बिरामी हुने, ज्वरो आउने, निमोनियाको समस्या देखिएको छ ।’ चार दिन वितिसक्दा पनि १ सरो राहत अझै पुग्न नसक्नु विडम्बना भएको उहाँको भनाइ छ । पहिरोले ६० किलोवाटको सिसुवाखोला लघु जलविद्युत् आयोजना र ५८ किलोवाटको चटेक्ना लघु जलविद्युत् आयोजना पनि अवरुद्ध बनेको छ । जसका कारण त्यहाँका स्थानीयमा मोबाइल चार्ज गर्न नपाएर सम्पर्क विच्छेद भएको छ ।

यसअघि प्रदेश १ का मुख्यमन्त्री राईले संचारकर्मीलाई विराटनगर विमानस्थलमा प्रतिक्रिया दिँदै पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्ने र विस्थापितहरुलाई तत्काल राहत दिन कुनै कसर बाँकी नराख्ने बताउनु भएको थियो । त्यसको भोलिपल्ट प्रदेशका आफूर्ति व्यवस्थापन समितिका संयोजक पर्यटनमन्त्री जगदिश कुसियैतसहित आधा दर्जन सांसदहरु तुम्लिङटार पुगेर फर्किएका छन् ।

बुधबार, ३१ असार, २०७७, बिहानको ११:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर