काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केवलकार समूह’ले उठाएका विषयप्रति सरकार गम्भीर भएको उल्लेख गरे । उनीहरूलाई यथाशीघ्र वार्तामा आउन पनि उनले आह्वान गरे।
केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत् समाधान गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए ।
सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको उनले बताए ।
दोषीलाई कारवाही गर्ने उनले बताए । गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए ।
भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताएका छन् ।