बुढी खोलामा अवैध उत्खनन, अवैध उत्खननले बस्ती जोखिममा

विराटनगर । नियामक निकायको फितलो अनुगमनको फाइदा उठाउँदै ठेकेदारले सुनसरीको दुहबी नगरपालिका– ७ वलवाइस्थित दुहबी खोला नजिक मापदण्ड विपरित जथाभावी उत्खनन गर्दा बस्ती जोखिममा परेको छ ।

दुहबी नगरपालिका ५ मा रहेको श्री आलिया कन्स्ट्रक्सन प्रालिले बुढी खोलानजिकै स्थानीय झरिलाल सरदारको २७ कठ्ठा निजी जग्गाको माटो किनेर जथाभावी उत्खनन् गरेको आरोप लागेको छ ।अवैध तरिकाले १५ देखि २० फिटसम्म गहिरो खाडल बनाएर उत्खनन गर्दा दुहबी, मोरङको बुढीगंगा र विराटनगरको केही बस्ती जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । आलिया कन्स्ट्रक्सनले अबैध रुपमा गरेको उत्खनन् क्षेत्रमा दुहबी नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत गरेको छैन ।

वैध उत्खनन हुँदा पनि खोलाको ठेक्का लगाई नियमनको समेत जिम्मेवारी पाएका दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु मौन बस्दा ठेकेदारको मनपरी बढेको छ । स्थानीय तहको मौनताले मिलेमतोको आशंका उब्जाएको स्थानीय बताउँछन् ।
आलिया कन्स्ट्रक्सन प्रालिका संचालक सदाक हुसैनले आर्थिक वर्ष २०८१-८२ मा दुहबी नगरपालिसँग बुढी खोलाको तीन ठाउँबाट बालुवा र भरौट उठाउने ठेक्का १ करोड २५ लाख रुपैयाँमा ठेक्का लिएका छन् । दुहबी नगरपालिका ३ को कदमगाछि, दुहबी ४ को मलहटि र दुहबी १ को प्रास्टुकिबाट बालुवा र भरौट दैनिक ४९.१६ घनमिटर र वार्षिक १३.२७४ घनमिटर उत्खनन गर्न पाउने सम्झौता छ ।

तर, ठेकेदार कम्पनीले सम्झौताविपरीत जथाभावी रुपमा निजी जग्गाको माटो खरिद गरेर बस्ती जोखिममा पारेको स्थानीयले बताएका छन् । नगरपालिकाको सम्झौतामा खोलादेखि ५ सय मिटर टाढा उत्खनन् गर्ने मापदण्ड छ । तर, आलिया कन्स्ट्रक्सनले खोलाकै छेउ ५ मिटरमा १५ देखि २० फिट गहिरो खाडल बनाएर माटो उत्खनन गर्दै आएको छ ।
माटो उत्खननको लागि स्काइभेटर प्रयोग गरिएको छ । बिहीबार सञ्चारकर्मीहरु घटनास्थल पुग्दा ठेकेदारका कर्मचारीहरुले स्काइभेटर खोलादेखि बाहिर निकालेका थिए । पत्रकार आएको सूचना पाएपछि अवैध उत्खनन गरेको माटो लिन आएका टिपर उत्खननस्थल नजिकबाट फर्काइयो ।

एक महिना अगाडि पनि दुहबी नगरपालिकाले मापदण्ड विपरित खोला नजिक आलिया कन्स्ट्रक्सनले उत्खनन् गरेको पाइएपछि रोक्न निर्देशन दिएको थियो । उत्खनन्को ठेक्का लिएको कम्पनीले अवैध उत्खनन गर्दा पर्यावरणीय असर पर्नुका साथै वर्षातमा नजिकका बस्ती र फाँटमा बाढी पस्ने जोखिमसमेत बढेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा ५ फिट गहिराइसम्म मात्र उत्खनन गर्न सकिने उल्लेख भएपनि १५ देखि २० फिटसम्म उत्खनन भइरहेको छ । अवैध उत्खननले जनधन गुम्न सक्ने खतरा जनप्रतिनिधिले नदेखेको स्थानीको गुनासो छ । गत भदौ ११ गते नगरपालिकाले ठेक्का सम्झौता गरेपछि उत्खनन सुरु भएको हो ।

नापजाँच नहुँदा उत्खनन्को परिमाणबारे तथ्यांक नभएको दुहबी नगरपालिकाको वन वातवरण तथा विपद् शाखाका प्रमुख बिमलनारायण चौधरीले बताए । सम्झौता विपरित उत्खनन भएको पाइए कारवाहीको दायारमा ल्याउने उनको भनाइ छ ।
खोला छोउमा निजी जग्गामा पनि उत्खनन् गर्न नपाइने बताउँदै चौधरीले उत्खनन् गर्नेमाथि कार्वाही हुने बताएका छन् । दुहबी नगरपालिका प्रवक्ता तथा ७ का वडाअध्यक्ष विजयकुमार चौधरीले यसअघि बन्द गरिएको ठाउँमा मापदण्ड विपरित उत्खनन् गरेको देखिएपछि कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

शुक्रबार, २१ मंसिर, २०८१, बिहानको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर