विराटनगर ।पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको कला–कानुनशिक्षाशास्त्र संकायको आयोजनामा नेपालमै पहिलोपटक प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक सम्मेलन हुन लागेको हो ।
विश्वविद्यालयका डिन प्रा.डा. अनिलकुमार पोखरेलका अनुसार सम्मेलन आगामी मंसिर २१ र २२ गते हुनेछ । सम्मेलनमा नेपालसहित अमेरिका, मलेसिया, भारत बंगलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रा.डा पोखरेलका अनुसार बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने सम्मेलनको मुख्य उद्देश्य हो । सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई पारेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा अध्ययन अनुसन्धान प्रतिवेदन पेश हुने बताइएको छ ।
सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिबाट ‘की नोट’ तथा विविध प्रकारका कार्यशालामा बालबालिकाहरूका सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस हुने प्रा.डा. पोखरेलले बताए । प्रस्तुत हुने कार्यपत्र एवं कार्यशालाबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकायअन्तर्गत रहने गरी ईसीडी सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ छ ।सम्मेलनका लागि विश्वविद्यालयले काठमाडौं र विराटनगर महानगरपालिका, नबिल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेनलगायतका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेको छ । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।