विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने प्रक्षेपण गरेको छ ।
बिहीबारदेखि भाइटीकासम्म ४ दिन मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको हो । बुधबार तिहार विशेष बुलेटिन निकालेर महाशाखाले चतुर्दशी (१५ गते), औंसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेर हल्का वर्षाको सम्भावना रहेको बताएको हो । महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ । ती दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिउको महाशाखाको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी क्षेत्रमा स्थानीय वायुको आंशिक प्रभाव छ । वायुको प्रभावका कारण बिहीबार कात्तिक १५ गतेदेखि १८ गतेसम्म वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।