मणि दाहाल
सिद्धान्त र व्यावहारबिचको असन्तुलन नै लोकतन्त्रको विकृत पक्ष हो । सिद्धान्त मार्ग हो । लोकतन्त्र आचरण हो । मार्ग अनुरुपको आचरण देखाउन सकिएन भने त्यो मार्ग गन्तव्यमा पुग्न सक्दैन । अनेकौं वादको ढाडमा टेकेर पथविहीन मार्ग अबलम्बन गर्दै अनैतिकताको दलदलमा फस्दा पथभ्रष्ट भइन्छ । पथभ्रष्ट आहालमा सिद्धान्त निम्छरो बन्छ । जहाँ सिद्धान्त निम्छरो बन्छ, त्यहाँ राजनीति केवल राजनीतिको लागि मात्र हुन्छ । राजनीतिका लागि गरिने राजनीतिले धेरैको श्रम शोषण गरेर थोरैलाई धनी बनाउँछ । जसरी हाम्रो राजनीतिमा भैरहेको छ ।
आजको युगमा पनि हामी लोककल्याणकारी राज्यव्यवस्थाको उज्यल प्रकाशबाट बञ्चित रैतीको जीवन बाँचिरहेका छौं । रैतीहरुले मालिकहरुको थिचोमिचोको सामना गर्नु परिनै रहेको छ । प्रहरी प्रशासन तथा शासन प्रणली मालिककै पक्षमा छ । जनसरोकारका जिम्मेवार निकायमा आसिन हाकिम तथा कारिन्दाहरुले मालिकलाई गेटमै स्वागत गर्न पुग्छन् । रैतीरुपि सर्वसाधरणलाई मान्छेको व्यवहारसम्म गर्दैनन् । सिद्धान्तका ठेली र राजकीय विधानहरुमा जे लेखिएको भएता पनि जनता मतदाता र करदाता मात्र छन् । तर मालिक बन्ने वातावरण अझै बन्न सकेको छैन । सामन्तवादको साँचोमा दिक्षित चेतनाले जनता आफैं पनि मालिक बन्न चाहँदैनन् ।
जनता गर्भमै ठालु संस्कृतिका सिकार हुँदै आए । मालिकको भक्तिगानले जनतालाई सार्वभौम बन्न दिएन । ठुलाबडा भनिनेहरुको शंका नगरी पूजाआरधना मात्र गरिनु पर्छ भन्ने मनुवादी पाठशालाले जनतालाई स्वर्गको आस र नर्कको त्रासमा अल्मल्यायो । अहिले पनि सोही मानसिकताको जगजगीले समाज जकडिएको छ । राजनीतिक क्रान्तिपछिको सांस्कृतिक क्रान्तिमार्फत त्यस्तो सामाजिक चेतनालाई रुपान्तरित चेतमा ढाल्न राजनीतिक दलका माहाराजाहरुले आवश्यक देखेनन् । सोही मानसिक चेतनाबाट सृजित जनताको चेतनाले दलीय आवरणमा उदाएका नेताहरु मलिक हुन् भन्ने बुझ्यो । भ्रष्टचारलाई भाग्यवादमा सम्मान ग¥यो । नेताको जयकार मात्र ग¥यो । ठिक बेठिक जे भएपनि उसको आज्ञाको अन्ध समर्थन ग¥यो । परिणामस्वरुप आन्दोलनको राप र तापमा स्थापित लोकतान्त्रिक आयमहरु लुटतन्त्र र गुटतन्त्रमा परिणत भए ।
लोककल्याणकारी राज्यव्यवस्थामा जनता मालीक हुन्छन् । प्रतिनिधि पात्रकोरुपमा जनताले छानेका प्रतिनिधिहरु सेवक हुन्छन् । जनताको मर्म उनीहरुको आवाज हुन्छ । जनजीविका अनुरुपको आचरण हुन्छ । गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत सवालहरुमा बन्ने नीति नियामहरु जनमैत्री हुन्छन् । राज्य संयन्त्रका हरेक निकायहरु सुशासनमैत्री हुन्छन् । राज्यको नजरमा सबै समान हुन्छन् र त्यसै अनुरुपको ब्व्यवहार हुन्छ । अनुकरणीय तथा उच्च नैतिकपूर्ण जीवनशैली हुने भएकोले राजनीति निस्वार्थ समाजसेवा हुन्छ । तर हाम्रो लोकतन्त्रले यस्तो आचरणको विकास गर्नै सकेन ।
बिध्यमान लोकतन्त्र मालिकतन्त्र त थियो नै । अब त लोकतन्त्रको मन्त्रमा फासिवादउन्मुख देखिदै छ । राजनीतिक दलमा नीतिको भन्दा नेताको बर्चश्व छ । शीर्षस्तको देवत्वकरण दलको नीति बनेको छ । भ्रष्ट, तस्कर, अनेकौं क्षेत्रमा माफिया तथा गुण्डा नाइकेलगायतका राष्ट्रिय अपराधीहरुको दान दातव्य दलहरुको आयस्रोत बन्न थालेको छ । त्यस्तो अपराधिक स्रोतबाट राजनीतिक दल चल्नु हुदैन भन्ने आवाज कुनै दलीय कार्यकर्ताबाट सुनिदैन । दलहरुमा सत्यको आवाज अत्यन्तै कमजोर भएको छ । तर दासत्वको जञ्जिरमा बाँधिएका दलीय दासहरु स्वार्थको मुरलीमा ताली बजाइ रहेका छन् ।
लोकतन्त्रका मालिक भनेका जनता हुन् । राजनीतिकदलहरु मालिकरुपि जनताको रक्षक हुन् । जनप्रतिनीधिहरु जनताका सेवक हुन् । तर, हाम्रो लोकतान्त्रिक आवरणको सामन्तवादी आचरणले लोकतान्त्रिक संस्कारको विकास गर्न सकेन । जनतालाई त्यस्तो संस्कार सिकाउन चाहेन । सम्मानको नाममा चाकरी सिकायो । दासवादी शिक्षाले जनताका प्रतिनिधिलाई शासकको अवतारमा ठेकेदार, बिचौलीया र भ्रष्टाचारी बन्न अभिप्रेरित गर्यो । दाँयाबायाँ दासदासी । पछिपछि रैतीको अबिर माला र खादासहितको जयकारबिना मन्त्री, सांसद र नेता भनाउँदाहरुको सम्मान हुनै सक्दैन भन्ने आचरण सिकायो । यस्तै कारणले गर्दा जनताले साँचो अर्थको लोकतान्त्रिक परिभाषा जान्न सकेनन् ।
लोकतन्त्रलाई उत्ताउलो तन्त्रमा बुझ्ने जनताको अर्ध–चेतना दासत्वको मुहान हो । जुन चेतना ज्ञानले पनि जान्दैन भनेको पनि मान्दैन । तर जान्दिन भन्दै भन्दैन । सिक्न चाहँदै चाहँदैन । आफंै जान्ने बन्छ । हावाको पछाडि दौडन्छ । गलत व्यक्तिको मिठास भासमा भीड लाग्छ । सत्यतथ्य जान्नै चाहँदैन । जहिलै पनि आफ्नै स्वार्थको बाँसुरी मात्र बजाइरहन्छ । समग्रता जान्दैन । एकाङ्ग जान्दछ । नीति जान्दैन नेता जान्दछ । धरातल जान्दैन । माथिमात्र जान्दछ । आजको सहरीया मध्यम वर्गमा हावी यो मनोरोगले राजनीतिलाई अपराधीहरुको आरक्षण केन्द्र बनाउँदै छ । तर जनता बुझिरहेकै छैनन् ।
जतिसुकै विकृतिका भेलबाढी जम्मा भएपनि फेरि पनि लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । लोकतन्त्रका अग्रदस्ता भनेका राजनीतिक दलहरु नै हुन् । राजनीतिक दलहरुले नै भावी गन्तव्यको दिशानिर्देश गर्ने हुन् । आजको आधुनिक समाजमा राजनीतिक दलबिनाको राजनीति कल्पनासम्म पनि गर्न सकिदैन । जहाँ दलविहीन राजनीति हुन्छ, त्यहाँ फासिवादको उदय भएर देशलाई दुर्गतिको सिकार बनाउँछ । तर, हाम्रो आचरणमा सुधार नआएसम्म यथास्थितिको मानसिकताले लोकतन्त्र र त्यसले स्थापित गरेका आयामहरुलाई संरक्षण गर्न कदापि सक्दैन ।
उल्लेखित तमाम सवालहरुको सुधारक तत्व भनेको राजनीतिक दलहरुको आमूल सुधार नै हो । अब पनि राजनीक दलहरुलाई आमूल सुधार गर्न सकिएन र राजनीतिज्ञहरुको आचरण अनुकरणीय हुन सकेन भने चाहनाले मात्र लोकतन्त्रलाई जनमैत्री बनाउन कदापि सक्दैन । गरिबी र बेरोजगारीले पीडित जनताको दिनचर्यामा पथभ्रष्ट प्रवृत्तिले कुबेर बनेको सामन्ती नेता कदापि सुहाउँदैन । अब पनि गुण्डाहरुको आरक्षणमा भ्रष्टाचारलाई संस्थागत गर्दै लुटको साम्राज्यमा डुबेकाहरु राजनीतिक दलका हर्ताकर्ता बनिरहने सोच कसैमा छ भने अब त्यो विधिको पनि आयु पुग्यो । दलीय नव माहाराजहरुमा चेतना भया !