बर्दीभित्र लुकेको अपराध

 सम्पादकीय

मोरङमा पछिल्लो करिब ५–७ महिनादेखि खासगरी सिमापार तस्करी, जुवाजन्य खेल र अबैध कारोबार फस्टाएको विषयमा हाम्रोमतले पटक–पटक समाचार लेख्दै आयो । सुरक्षा निकायका प्रमुखहरुकै मिलेमतोमा फस्टाएको यस्तो धन्दाबारे प्रहरीको उपल्लो निकाय र प्रधानमन्त्री कार्यालयम्म उजुरी पनि पुग्यो । तर, त्यसको गम्भीर छानविन नै भएन वा मिलेमतोमा त्यसलाई ढाकछोप गरियो । गृह मन्त्रालयको मातहमा रहेको जिल्लास्थित नेतृत्वकै अगुवाइमा कुनै समय तस्करी फस्टायो, कुनै समय जुवाजन्य खेल, कुनै समय अबैध अनलाईन जुवा र क्रिप्टो कारोबार, कुनै समय अबैध काठ र ढुंगागिटीको तस्करी । सबैमो ठूलो रकमको चलखेल थियो । पछिल्लो पटक अनलाईन जुवा र क्रिप्टोसँग जोडिएको विषय उजागर भएपछि मोरङका एसपी नवराज कार्कीसहित पाँच प्रहरी अनुसन्धानमा तानिएका छन् । तर, मोरङ मिलेमतोमा भएको अबैध धन्दा र कारोबारको यो सानो अंशमात्र रहेको सुरक्षा अधिकृतहरुले नै दावी गर्दै आएका छन् ।
एसपी कार्कीको निर्देशमा जुवा तथा अनलाइन (क्रिप्टो) कारोबारीसँग २५ लाख लिएको प्रकरणमा

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतमाथि पनि अनुसन्धान भइरहेको छ । ४० लाख रुपैयाँ लिएर अबैध कारोबारमा रहेकालाई पक्राउ नगर्ने सहमति कार्कीको टिमले गरेको बताइएको छ । जसमा २५ लाख रुपैयाँको लेनदेन तत्कालै भएको खुलेको छ । तर, प्रहरी, अबैध कारोबारी र बिचौलियाबीचको अविश्वासको कारण घटनाको रिपोर्ट उपल्लो नेतृत्वमा पुग्दा एसपीसहित प्रहरी छानविनमा तानिएका हुन् । यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि प्रहरी नेतृत्वले औपचारिक रुपमा त्यसको आधिकारिक जानकारी दिएको छैन । अबैध कार्य गर्नेहरुलाई कार्वाहीको जिम्मेवारी प्रहरीको हो । तर, उनीहरुको संरक्षण गर्दै उनीहरुबाट रकम लिनु बर्दीभित्रको लुकेको चरम अपराधको नमुना हो ।

अबैध कारोबारमा अहिले एसपी तानिकएका छन् । तर, यसअघि पनि यस्तो विषय बाहिर आएकोमा किन गम्भीर अनुसन्धान भएन भन्ने प्रश्न छ । त्यसलाई मिलेमतो र प्रहरीको उनीमाथिको उपल्लो नेतृत्वसँगको लेनदेनमा गुपचुप पारिएको आशंका पनि छ । पारदर्शी ढंगले प्रहरीले त्यस्ता घटनाको सूचना नदिने गरेकोले आशंकालाई अझै बल दिएको छ । यसअघि सशस्त्र प्रहरीका एसपी विश्व खड्का पनि तस्करको संरक्षण गरेको आरोपमा तानिकएका थिए । तर, ‘सफाई’ पाएर उनी फर्किए । त्यसपछि त मोरङका सुरक्षा प्रमुखहरुको ‘संगठित कारोबार’ झनै फस्टायो । अहिले घानमा भने एसपी र चार प्रहरी मात्र परेका छन् । यस्ता प्रकरणमा विगतदेखि नै संलग्न हुँदै आएकाहरु अहिले पनि अनुसन्धाको दायरमा आएका छैनन् । सुरक्षा निकायको गिरेको मनोबल उठाउन र नागरिकप्रति विश्वास जगाउन यस्ता प्रकरणको गम्भीर अनुसन्धान हुनुपर्छ । प्रहरी संगठनको व्यवसायीक अनुशासन, राज्यले दिएको जिम्मेवारी र नैतिक आचरणको उल्लंघन गर्दै भएको यो घटनाको गम्भीर अनुसन्धान गरि कार्वाही हुनुपर्छ ।

मङ्गलबार, ०६ कार्तिक, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर