स्थलगत रिपोर्ट

उमागौरी सहकारी ठगी प्रकरण : अध्यक्षका अघोषित सल्लाहकार पोखरेल !

कर्सिया(मोरङ) । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारका खुस्बु खातुनका श्रीमान सेराज अन्सारी कुखुराको अण्डा तथा मासु विक्रेता हुन् । २०७८ साल मंसिरमा उनलाई उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले शेयर सदस्य बने ऋण दिने प्रस्ताव गरे ।

बिनाधितो ऋण दिने भनेपछि अन्सारीले ५ लाख रुपैयाँ ऋण मागे । तर, रौनियारले बिनाधितो २ लाख मात्र पाउने भने । त्यसमा सहमति जनाएर अन्सारीले महिला उद्यमी कार्यक्रममार्फत आफ्नी श्रीमती खुस्बु खातुनलाई कागजातमा हस्ताक्षर गरेर आउनु भनि सहकारीको कार्यालय पठाए । कागजपत्रमा हस्ताक्षर गरेको केही दिनपछि उनले २ लाख रुपैयाँ ऋण पाए ।

अन्सारीले प्रत्येक महिना १० हजार रुपैयाँको दरले किस्ता तिर्दै गए । करिब ६ महिनापछि नबिल बैंकबाट फोन आयो, ‘तपाईको ऋणको किस्ता आएको छैन । अब सोझै बैंकमा किस्ता तिर्नु ।’

आफूले सहकारीबाट ऋण लिएको भन्दै अन्सारीले नियमित सहकारीलाई नै किस्ता बुझाए । शेयर सदस्य बन्न २० हजार रुपैयाँ सुरुमै तिरेका उनले थप मैले १ लाख ६० हजार रुपैयाँ किस्ता तिरेँ । उनलाई लागेको थियो, अब २० हजार किस्ता र केहि ब्याज तिनुपर्नेछ ।

तर, बैंकले फेरि ताकेता गरेपछि अन्सारी विराटगरस्थित बैंकको शाखामा पुगे । बैंकमा बुझ्दा उनको नाममा ९ लाख ९० हजार रुपैयाँ ऋण लिएको देखियो । बैंकको स्टेटमेन्ट मगाएर हेर्दा ९ लाख ९० हजार रुपैयाँको चेक भजाएको देखियो ।

सहकारीले बचत तथा ऋण पासबुकमा २ लाख रुपैयाँ लिएको भनेर लेखेको थियो । त्यसपछि उनले सहकारीका अध्यक्ष शम्भु रौनियारलाई गएर भने, ‘मलाई २ लाख दिएर १० लाख किन लिएको ?’ जवाफमा रौनियारले भने ‘हामीले चलायौं । म मिलाइहाल्छु ।’

अन्सारीका अनुसार त्यो ऋण सहकारीले तिरेको छैन । न उनले सहकारीमा बुझाएको किस्ता नै बैंकमा जम्मा गरिएको छ । अहिले बैंकमा उनको नाममा ११ लाख ४७ हजार रुपैयाँ ऋण पुगिसकेको छ । पछिल्लो समयमा रौनियारले तीन लाख रुपैयाँको चेक अन्सारीलाई दिएका छन् । तर, पछि मात्र साटिने मिति राखेर । बैंकको कालोसुचीमा परेका शम्भुले आफ्ना दाई विनोदप्रसाद रौनियारको नामको चेक दिएका हुन् ।

महिला उद्यमकै लागि छोरी सुनिता खनाल तिम्सिनाको नाममा १० लाख रुपैयाँ ऋण लिएका नारायण खनालले प्रतिमहिना २६ हजारको दरले १३ महिनासम्म सहकारीलाई किस्ता बुझाए । तर, बैंकमा एउटा पनि किस्ता नबुझाएको पाइएपछि उनले अहिले सिधै बैंकलाई किस्ता तिरिरहेका छन् । सहकारीमा बुझाएको ३ लाख ३८ हजारको हिसाब उनले पाएका छैनन् ।

स्थानीय राजेशप्रसाद साहले पनि श्रीमती सुनिताकुमारी शाह सोनारको नाममा बिनाधितो ऋण पाइन्छ भनेर सहकारीबाट १० रुपैयाँ ऋण लिने फारममा सही गरे । त्यसवापत उमागौरीले १ लाखको शेयर किन्न लगायो । तर, उनले लामो समयपछि ५ लाख ४२ हजार रुपैयाँको चेक पाएँ ।

सहकारीबाट लिएको ऋणको महिनाको २६ हजारको दरले उनले १२ महिनासम्म किस्ता बुझाए । त्यसपछि उनलाई नबिल बैंकबाट फोन आयो, ‘तपाईले किस्ता तिर्नुभएको छैन । छिटो तिर्नुहोला ।’

विराटनगरमा पुगेर नबिल बैंकमा सोधिखोजी गर्दा बैंकबाट उनको नामको १० लाख रुपैयाँको चेक सहकारीको कर्मचारी लक्ष्मण साहले साटेको देखियो । ‘मेरो नाममा आएको पैसा उसले निकाले खाइसकेको रहेछ’ उनले भने, ‘४ लाख ५८ हजार उनीहरुले नै चलाए, किस्ता बुझाएको ३ लाख १२ हजारको पनि हिसाब छैन । अहिले मैले १० लाखको किस्ता तिरिरहनु परेको अवस्था छ । ’

पछिल्लो समयमा सहकारीका अध्यक्ष रौनियारले ५ महिनापछिको मिति राखेर उनलाई ३ लाखको चेक दिएका छन् । तर, बैंकलाई उनले अब ८ लाख ४० हजार ३९० रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

उल्लेखित पात्रहरु प्रतिनिधि मात्र हुन् । उमागौरी कृषि सहकारीले यसरी थुप्रैलाई दुःख दिएको छ । कर्सिया बजारका उमागौरीको ठगीबाट पीडित भएकाहरु धेरै भेटिन्छन् ।

नबिल बैंकसँगको साझेदारीमा सहकारीले ५ सय महिला उद्यमीलाई ऋण दिलाउने सम्झौता गरेको थियो । तर, ८५ जनालाई मात्रै ऋण उपलब्ध भयो । उपलब्ध सबै ऋण पनि उनले महिला उद्यमीले पाएनन् । केही रकमले सहकारीका सञ्चालकले जग्गा किने भने केही रकम आफ्नो स्वार्थ अनुकूलका व्यक्तिहरुलाई दिए ।

सहकारीको १२ करोड बढि हिनामिना
सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको छ । बैंकबाट ऋण लिनेबेला जमानी बसेकी कोइरालालाई अहिले बैंकले कालोसूचीमा राखेको छ । अध्यक्ष रौनियारले सहकारीका सदस्यको जग्गा मात्रै होइन सहकारीबाट ऋण खाने सर्वसाधारणको पनि घरजग्गा धितोमा राखिदिएका छन् । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण छ ।

सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । तर, कहाँ लगानी गरेको छ विवरण माग्दा उनले दिन सकेका छैनन् ।

उमागौरी कृषि सहकारीको अफिस राखिएको जग्गा सहकारीकै भएको सञ्चालकहरुले बताएका छन् । तर, जग्गा शम्भु रौनियारको बुबाको नाममा रहेको देखिन्छ ।

सहकारीले २०६८/६९ मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाबाट ६ करोड रुपैयाँ ऋण लिएको थियो । जसमध्ये ३ करोड ऋण तिरेको भएपनि बाँकी पैसा तिर्न सकेन । ऋण नतिरेपछि नेपाल राष्ट्र ब्यांक मातहतको कर्जा सूचना केन्द्रले उक्त सहकारी र यसका पदाधिकारीलाई कालोसूचीमा राखेको छ।

केन्द्रले पहिलो पटक २०७९ पुस १३ गते उमागौरी र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखिएको सूचना प्रकाशन गरेको थियो। ऋण दिने वित्तीय संस्थाहरूको अनुरोधमा केन्द्रले कालोसूची निकाल्छ। त्यसपछि समेत उमागौरीले ऋण चुक्ता नगरेपछि २०८० साउन १ गते, कात्तिक १४ गते र २०८१ जेठ ९ गते पनि खराब ऋणीका रूपमा उमागौरीलाई राखिएको छ। यी सबै सूचनामा सहकारीका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आमोद अन्सारी मियाँ र सदस्य अञ्जला कोइराला लगायतको नाम छ।

आरएसडीसी लघुवित्तले पटक–पटक ताकेता गर्दा पनि ऋण नतिरेको भन्दै उमागौरी र यसका ११ जना सञ्चालक समितिका पदाधिकारीको फोटो सहित ३५ दिनभित्र सम्पर्क गर्न २०७९ कात्तिक १६ गतेको नागरिक दैनिकमा सूचना जारी गरेको थियो। तर सहकारीले ऋण चुक्ता नगरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो।

पोखरेलसँग सहकारीको साइनो
२०७४ सालको आसपासमा महिला उद्यमी कार्यक्रमको सुरुवात राष्ट्र बैंकका निर्देशक रहेका रामु पौडेलको उपस्थितिमा भएको थियो । उनलाई कर्सिया ल्याउन व्यवस्थापन एमाले नेता तथा संविधानसभा सदस्य रहेका ऋषिकेश पोखरेलले गरेका थिए । पोखरेलकी श्रीमती अञ्जला कोइराला त्यसबेला सहकारीको सञ्चालक थिइन् । कार्यक्रममा पोखरेल पनि उपस्थित थिए ।

सहकारीका विभिन्न कार्यक्रममा पनि पोखरेल उपस्थित हुने गरेको सदयस्यहरुले बताएका छन् । स्थानीयका अनुसार नेकपा एमालेका स्थानीय कार्यकर्ता रौनियार अध्यक्ष रहेको सहकारी सुरुवातमा राम्रै चलेको थियो । तीन दर्जन जति कर्मचारीहरु नै थिए । कारोबारको चहलपहल निक्कै हुन्थ्यो । सहकारी स्थापना अगाडि साइकल चढ्ने रौनियार गाडी किनेर हुइँक्याउन थालेका थिए । सहकारीको कार्यालय एमालेका नेता–कार्यकर्ताहरूको जक्सन जस्तै थियो । तर, अहिले सहकारी बन्द छ ।

स्थानीयका अनुसार अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति रहेका पोखरेल सहकारीको अघोषित सल्लाहकार थिए । सहकारी स्थापनामा पनि उनको भूमिका रहेको स्थानीीय बताउँछन् । महिला उद्यमी ऋण कर्जादेखि पहुँचवालासम्म भेट्टाइदिने काम उनले नै गर्दथे । पोखरेल पार्टी कार्यक्रममा जाँदा कर्सियामा पुगेर रौनियारको गाडी लिएर हिँंड्थे ।

त्यसबेला पोखरेलको निर्वाचन कार्यक्रमको व्यवस्थापन शम्भुले गर्ने गरेको स्थानीय दाबी गर्छन् । सहकारी संकटमा परेपछि अहिले रौनियार निकटस्थहरुलाई आफूलाई कुनै मुद्दा नै नपरेको कारण कुनै ठगी नगरेको बताउँछन् । ‘मुद्दा त पर्नुपर्यो नि ? मलाई पक्राउ गर्नु पर्यो नि त्यसो भए ?,’ उनले भन्ने गरेका छन् ।

सहकारीमा समस्या आएपछि पोखरेलले केही महीनाअघि अध्यक्ष रौनियारसहितका पदाधिकारीलाई घरमै डाकेर समस्या छिटो मिलाउन भनेको सहकारीका लेखा समिति सदस्य रहिसकेका विजयकुमार यादव बताएका छन् । रौनियारलाई गत असार १२ गते ३२ लाखको चेक नसाटिएपछि प्रदिपकुमार यादवको उजुरीमा मोरङ प्रहरीले पक्राउ गरेको थियो । तर, उनी राजनीतिक दबाबमा ‘मिलापत्र’ गरेर छुटेको पाइएको छ ।

रौनियार छुट्नुमा पोखरेलको दबाब र प्रभाव रहेको सहकारीबाट ठगिएका पीडित कृष्णप्रसाद अर्यालले बताएका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नासाथ रौनियार छुटेको उनले बताए । रौनियारसँग मिलेमतो गरेर पोखरेल पनि ठगीमा संलग्न रहेकोले अहिले रौनियारले पोखरेलको बचाऊमा विज्ञप्ति जारी गरेको पीडितहरु बताउँछन् ।

चेक बाउन्समा परेको उजुरीपछि नेताहरुसँगको हारगुहारपछि उनी छुटेका थिए । ऋषिकेश पोखरेल भने निकटस्थलाई अहिले पनि भन्ने गरेका छन्, ‘मैले सहयोग गरेको सहकारी हो, दर्ता गर्न पनि सहयोग गरेको थिएँ, यो रौनियारले डुबायो, के छ हिसाव भनेर सोध्दा पनि देखाउँदैन ।’

रौनियारको एकलौटी थियो सहकारी
सदस्यहरुबाटै करोडौं ठगेका सहकारीका अध्यक्ष रौनियारले त्यहि पैसाले सम्पत्ती जोडेको स्थानीयले बताएका छन् । सहकारीको अफिस रहेको जग्गा नै डेढ करोडमा किनेको बताइएको छ । पूर्वसांसद ज्ञानेश्वर राजवंशीसँग पनि रौनियारको दोस्ती रहेको स्थानीयले बताएका छन् ।

सहकारीका कोषाध्यक्ष शम्भु सिंह कर्सिया बजारमै सामान्य पसल चलाएर बसेका छन् । आलम अन्सारी सचिव हुन् । उनको एउटा सानो टेलर पसल छ । आलम अहिले फरार छन् । तर, उनीहरु सबै सहकारीमा रबस्टम्प जस्ता थिए । कारोबार सबै उनै अध्यक्ष शम्भु रौनियारले गरे ।

२०६८ सालमा स्थापना भएदेखि सहकारीको अध्यक्ष रौनियार नै छन् । सहकारीमा उनले आफैंलाई प्रोपाइटरसमेत नियुक्त गरेका थिए ।

सहकारीमा झुक्याएर आफ्नी श्रीमतीलाई सदस्य बनाएको दावी यसअघि पोखरेलले गर्दै आएका थिए । तर, कोइराला २ कार्यकाल सहकारीको सञ्चालक भएको पाइएको छ ।

सहकारीका कोषाध्यक्ष सिंहले १२ करोड अनियमितता भएको आरोपलाई अस्वीकार गरेका छन् । लगानी गरेको ऋण नउठेकोले समस्या भएको भन्दै उनले बैंकबाट ऋण लिएकाहँरुले नै नतिरेको दावी गरे । सहकारीले माछापुच्छ्रे बैंकबाट झण्डै साढे ६ करोड, एक्सल डेभलपमेन्ट बैंकबाट ३ करोड, आरएसडिसीबाट ३ करोड, प्रभु बैंकबाट १ करोड ऋण लिएको उनले बताए छ । सञ्चालक समितिकै मान्छे र ऋणीहरुकै जग्गा धितो राखेर ऋिण लिएको र त्यसमा उनीहहरुको सहमति रहेको दावी सिंहले गरेका छन् ।

सहकारीले बैंकबा झिकेको ऋणको रकम सबै ऋणीलाई नदिएको भने सिंहले स्वीकार गरेका छन् । सहकारी डेढ करोडको ऋणी भएपनि धितो राख्ने शेयर सदस्य १ करोडको ऋणी भएको उनले बताए । सहकारीले लिएको ऋण किन नतिरेको भन्ने प्रश्नमा उनले ऋणिले लिएको ऋण तिरेपछि सहकारीले तिर्ने जिकिर गरे ।

अञ्जला कोइराला पहिलेदेखि नै सञ्चालक समितिको सदस्य रहेको बताउँदै सिंहले सञ्चालक समितिले सर्वसम्मत रुपमा निर्णय गरेर सबै कारोबार गरेको दावी गरेका छन् । ‘दुई कार्यकालको सञ्चालक समिति सदस्य भएर उहाँ बस्नुभएको हो,’ उनले भने, ‘अध्यक्षको लिङ्कको कारण उहाँलाई समितिमा राखिएको थियो ।’ संस्थामा राम्रो र पहुँच भएको मान्छे राख्नुपर्छ भनेर अध्यक्षले कोइरालालाई सञ्चालक बनाउन प्रस्ताव गर्दा सबैले स्वीकार गरेको उनले बताए ।

कार्यक्षेत्रबाहिरको सहकारीमा कोइराला सदस्य
कोइराला विराटनगर–८ की स्थायी बासिन्दा हुन् । उनका श्रीमान् ऋषिकेश पोखरेलको ठेगाना रतुवामाई नगरपालिका ५ (साविक गोविन्दपुर गाविस) हो । उक्त सहकारीको कार्यक्षेत्र त्यसबेला कदमाहा, दादरबैरिया, सोराभाग, रंगेली र बबियाविर्ता मात्रै थियो । २०७८ सालपछि मात्र कार्यक्षेत्र विस्तार गरेर मोरङ जिल्लाभर बनाइयो । तर, कार्यक्षेत्र विस्तार नहुँदै अञ्जलालाई सहकारीको सदस्य बनाएर सञ्चालक बनाएको देखिएको छ । सहकारी ऐन अनुसार कार्यक्षेत्र बाहिरको मान्छेलाई सहकारीको सदस्य बन्न पाउँदैन ।

बिधि अनुसार सञ्चालन नभएको सहकारीले स्थापनाको समयको डकुमेन्ट बुझाएको भएपनि पछिल्लो १० वर्षको डकुमेन्ट नबुझाएको कोशी प्रदेश सहकारी रजिष्टार कार्यालय इनरुवाका प्रमुख हरि खत्रीले बताएका छन् । ‘यो सहकारीको कार्यालय खुल्दैन, कार्यालयमा कागजपत्र पनि भेटिदैन, डुकुमेन्ट पनि बुझाएको छैन’ उनले भने, ‘चार पटकसम्म पुगेर अनुगमन गर्दा कार्यालय बन्द रहेको छ ।’

आइतबार, ३० भदौ, २०८१, दिउँसोको ०२:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर