सोलुखुम्ब । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ ले सगरमाथा आरोहीलाई सम्मान गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकाको वडा कार्यालयले सुरु गरेको तीन दिने पर्वतीय पर्यटन प्रशिक्षणमा सम्मान गरेको हो ।
थुलुङ दुधकोशी–७ स्थायी ठेगाना भइ हालसम्म सगरमाथा आरोहण गर्ने आरोहीलाई वडाले सम्मान गरेको हो । सबैभन्दा बढी पाँच पटक सम्म सगरमाथा आरोहण गर्ने किताब सिंह तामाङसहित चार जनालाई सम्मान गरिएको वडाअध्यक्ष कार्कीले जानकारी दिए । सम्मानित हुनेहरुमा दुर्गा तामाङ, तुलबहादुर तामाङ र पासाङ तामाङसमेत छन् । गाउँपालिका अध्यक्ष असिम राईले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।
वडाअध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीका अनुसार जुसुकै क्षेत्रमा काम गर्नेहरुलाई आधारभूत सीप आवश्यक पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको हो । वडाको माथिल्लो क्षेत्रका अधिकांश युवाहरु सगरमाथा क्षेत्रमा ट्रेकिङ जाने र विविध समस्याहरुमा पर्ने भएकाले तालिम दिएको उनले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले हिमाली क्षेत्रको पर्यटनमा काम गर्ने नेपालीहरुको योगदानको प्रशंसा गगर्दै राज्यलाई सहयोग गर्ने गाउँबस्तीका व्यक्तिहरुलाई सम्मान गर्ने कार्य महत्वपूर्ण रहेको बताए । पर्यटन क्षेत्रको वृहतर विकासमा गाउँपालिकाले काम गरिरहेको बताउँदै उनले यस क्षेत्रको प्रवद्र्धनमा लाग्न सबैलाई आग्रह गरे ।
सगरमाथा आरोहीका कारण राज्यले करोडौँ रोयल्टी लिन सफल भएको भन्दै अध्यक्ष राईले आफ्नो ज्यानको बाजी राख्दै आरोहणमा सहयोग गर्ने नेपालीको योगदान अतुलनीय रहेको बताए । देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेल्ने आरोहण क्षेत्रमा योगदान पु¥याउनेहरुको कदर गर्दै वडाले सम्मान गरेको हो ।
सम्मान कार्यक्रमले आफूहरुलाई थप हौसला प्राप्त भएको सगरमाथा आरोही किताब सिंह तामाङले बताए । तालिममा वडाभित्रका ४५ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ । वडाले सञ्चालन गरेको तालिम महत्वपूर्ण तथा जीवनउपयोगी रहेको भन्दै सहभागीले खुसी व्यक्त गरेका छन् ।