काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया ‘लाइभ’ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो । ‘अब हाम्रो बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं’ पौडेलले भने, ‘त्यसो हुँदा समाचार संकलन गर्न मात्रै होइन आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ ।’
यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरेपनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने भएको छ । आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुर्याइने भएको छ ।