नेपालको दोस्रो संक्रमित २७ दिनपछि घर फर्किइन्

काठमाडौं । नेपालको दोस्रो कोरोना संक्रमित काठमार्डौंकी १९ वर्षीया प्रशिद्धि श्रेष्ठ उपचारपछि घर फर्किएकी छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो ।

उनी २७ दिन अस्पताल बसेर शनिबार घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गत चैत ४ गते नेपाल आएपछि होम क्वारेन्टाइन बसेकी थिइन्। उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए।

पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको अस्पतालक डा.अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।

टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको थियो। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जनालाई प्रहरीले सम्पर्क गरेर क्‍वारेन्टाइनमा राखेको छ।

कतारको उडान नम्बर ६५२ मार्फत आएका उनीसहित तीन यात्रुलाई कोरोना देखिएको छ । दुई जना भने उपचारको क्रममा छन् ।

नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस थियो। चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन्।

शनिबार, ०६ बैशाख, २०७७, दिउँसोको ०२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर