विश्व छारेरोग दिवसमा न्यूरोको सचेतानामूलक र्याली

विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालले सचेतनामुलक र्याली निकालेको छ ।

छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालले शनिबार विहान सचेतनामुलक ¥याली निकालेको हो । न्यूरो अस्पताल परिसरबाट निकालिएको र्याली हस्पिटलचोक, शहिद रंगशाला, जिल्ला प्रशासन चौकबाट मेनरोड, सन्सारीमाई स्थान हुँदै नगरक्षेत्र परिक्रमा गरी अस्पताल परिसरमै पुगेर समापन भएको थियो ।

प्रभातफेरीका सहभागीले ‘रातो भाले र कालो परेवा चढाएर छारे रोग निको हुँदैन’, ‘छारे रोग देवीदेउता रिसाएर लाग्ने रोग होईन’ र ‘औषधि सेवन गरे छारे रोग निको हुन्छ’ लगायतका नारा लेखिएका सचेतनामूलक प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा न्यूरो हेल्थ कलेजका विद्यार्थीहरुका साथै न्यूरो अस्पतालका चिकित्सक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरु सहभागी थिए ।

छारेरोग औषधि सेवनबाट निको हुने रोग रहेपनि यो रोगका विषयमा समाजमा व्याप्त अन्धविश्वास तथा भ्रमका कारण न्यूनीकरणमा समस्या देखिएको न्यूरो अस्पतालका न्यूरोलोजिष्ट डाक्टर विरेन्द्रकुमार बिष्टले बताए । ‘यसको उपचार गरे निको हुन्छ,’ डा. विष्टले भने ।

छारे रोग न्यूनीकरण गर्ने उद्देश्यले न्यूरो अस्पतालले चैत १३ देखि १८ गतेसम्मका लागि छारे रोग सम्बन्धि निः शुल्क ओपिडि सेवा समेत संचालन गरेको अस्पतालका आउट रिच विभागका कार्यक्रम संयोजक भारत श्रेष्ठले जानकारी दिए । निः शुल्क ओपिडिमा अस्पतालका न्यूरोलोजिष्ट डाक्टर विष्टसहित, न्यूरो सर्जन डाक्टर यामबहादुर रोक्का र न्यूरो साईक्याट्रिक डाक्टर रंजन थापाले उपचार सेवा दिदै आएका छन् ।

विश्वको १ प्रतिशत जनसंख्यामा यो रोग देखिएको तथ्यांकका आधारमा नेपालमा ३ लाख यो रोगका विरामी हुनसक्ने अनुमान गरिएको छ । १० बर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकामा यो रोगको प्रभाव बढी देखिएको चिकित्सकहरू बताउँछन् । ३ वर्षसम्म निरन्तर औषधि सेवनबाट यो रोग निको हुने चिकित्सकहरूको भनाइ छ । न्यूरो अस्पतालले विभिन्न प्रत्येक वर्ष यस्ता सचेतनामूलक कार्यक्रमहरू गर्ने गरेको अस्पतालले जनाएको छ ।

शनिबार, १२ चैत, २०७८, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर