विराटनगरमा नक्कली ‘रेमडिसिभर’को बिगबिगी : गिरोह पक्राउ

९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर ७ हजादेखि २५ हजारसम्म बिक्री गर्ने गरेको फेला

विराटनगर । कडा खालको लक्षण भएका कोरोना संक्रमितको उपचारमा ‘रेमडिसिभिर’ इन्जेक्सनको माग बढेपछि विराटनगरमा नक्कली ‘रेमडिसिभिर’ बनाएर बिक्री गर्ने गिरोह सक्रिय भएको खुलेको छ ।

सो गिरोहले ९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै कारोबार गर्ने गरेको पाइएको हो ।

स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिसिभर भन्दै विरामीलाई विक्री वितरण गरेको आरोपमा विराटनगरबाट फार्मेसी संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी विक्री वितरण गरेको आरोपमा विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिशिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरूलाई फार्मेसीदेखि पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

‘विराटनगरमा नक्कली रेमडिशिभरको विक्री वितरण हुने गरेको सूचना पाएपछि केही फार्मेसीमा हामीले छापा पनि हानेका थियौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘अहिले यस विषयमा हामीले अनुसन्धान गर्दै आएका छौं । सोधपुछको लागि केहीलाई नियन्त्रणमा पनि लिएका छौं ।’ अनुसन्धानपछि थप विषय खुल्ने एसपी खड्काले बताए ।

नक्कली रेमडिसिभिरको कारोबार गर्ने गिरोहले अहिले विराटनगरमा ९० रूपैयाँमा पाइने ‘स्टासेफ’ इन्जेक्सनमा लेबल लगाएर रेमडिसिभिर भन्दै चर्को मूल्य लिएर विरामीका आफन्तलाई विक्री गर्दै आएका छन् । स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नयाँ नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै विक्री गर्दै हिंड्ने गरेको स्वास्थ्य क्षेत्रका जानकार स्रोतले बताएको छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबायोटिक औषधि हो । भारतमा पाइने रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो हुने गरेको छ । त्यही भएर औषधी क्षेत्रका गिरोहले नक्कली स्टिकर र लेबल बनाएर स्टासेफ इन्जेक्सनको बट्टामा रेमडिसिभरको लेबल लगाएर ७ हजारदेखि २५ हजार रूपैयाँसम्ममा कोभिड अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीका आफन्तहरूलाई विक्री गर्दै आएका छन् । यसरी अहिले विराटनगरमा नक्कली रेमडिशिभर विक्री वितरण गर्ने गिरोह केही औषधी व्यवसायी रहेका छन् । उनीहरूको सम्पर्कमा आउने विरामीलाई नक्कली रेमडिशिभर चर्को मूल्य असुली गरेर विक्री गर्दछन् ।

पक्राउ परेका फार्मेसी संचालक आलमले कति मूल्य नक्कली रेमडिशिभर र कहाँबाट नक्कली लेबल बनाएर कतिजनालाई विक्री गरे त्यो भने थप अनुसन्धानपछि खुल्ने एसपी खड्काले बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । स्रोतको अनुसार आलम यसअघि फार्मेसीमा कामदारको रुपमा काम गर्दै आएका थिए । फार्मेसीमा काम सिकेपछि केही वर्षअगाडिदेखि उनले आफै नोबेल अगाडि औषधी पसल खोलेका हुन् । उनले स्टासेफ इन्जेक्सन भने विराटनगरको औषधीको होलसेल पसल गणेश ड्रक्स हाउसदेखि खरिद गरेर लैजाने गरेको प्रहरीले जनाएको छ ।

यसअघि तस्करी, अहिले नक्कली

यसअघि ‘रेमडिसिभिर’ इन्जेक्सन तस्करी भएर विराटनगर आउने गरेको थियो । प्रहरीले कडाइ गरेपछि गिरोहले नक्कली रेमडिशिभर बनाएर विक्री वितरण गर्ने गरेको खुलेको हो ।

खरिद गरेकोभन्दा तीन गुणाबढी मूल्यमा नेपालमा ल्याएर ‘रेमडिसिभिर’ इन्जेक्सनको कालोबजारी गरी विक्री गर्ने भएकोले अहिले यसको तस्करी भारतदेखि अधिक हुने गरेको थियो । भारतमा प्रतिभाइल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयमा पाइने यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म विक्री हुने गरेको जानकारहरू बताउँछन् । अहिले नेपालमा कडा लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेपछि यसको माग पनि बढेको छ । ८ मंसिरमा मोरङ प्रहरीले विराटनगर–१३ सैनिक टोलका ३६ वर्षीय नरेश यादवको घरदेखि तस्करीको औषधी बरामद गर्दा १० भाइल रेमडिसिभिर इन्जेक्सन नियन्त्रणमा आएपछि यसको तस्करी हुने गरेको पुष्टि भएको थियो ।

प्रहरीले यादवको घरबाट तस्करी गरी ल्याएको रेमडिसिभरसहित औषधी व्यवस्था विभागमा दर्ता नभएका ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेक्सन’ लगायतका अन्य विभिन्न नाम गरेको चार कार्टुन औषधी बरामद गरेको थियो । प्रहरीले त्यसबेला आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको थियो । तर, विभागका राजनैतिक दलका नेता र सांसदहरुले दबाव दिएपछि हाजिर जमानतमा तस्करलाई छोडिदिएको थियो ।

अहिले नेपालमा कम्पनी अनुसार फरक–फरक दुइ खालका मूल्य भएको रेमडिसिभिर इन्जेक्सन आउने गरेको छ । भारु २ हजार ८ सय र ४ हजार ५ सय रुपैयाँमा यो इन्जेक्सन नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ । यसको तस्करी गरि कालोबजारीमा स्वास्थ्य क्षेत्रका केही समूहको संलग्न हुने गरेको देखिएको छ । तस्करीको गिरोहसँग मिलेर रेमडिसिभिर इन्जेक्सनसहित अन्य प्रतिबन्धीत औषधीहरू विराटनगर ल्याएपछि विभिन्न क्षेत्रमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘तपाइँको विरामीलाई इन्जेक्सन चलाउनुपर्दछ । चाँडै जोहो गर्नुहोला । फार्मेसी र स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको १५ हजारदेखि २५ हजार रुपैयाँसम्म भन्ने गर्दछन् ।’ धेरै बार्गेनिङ गरेपछि केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए । ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ? संक्रमितका एक जना आफन्तले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’

विकृति रोक्न संघको माग

नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीमा देखिएको कालोबजारी, नक्कली औषधीको विक्री वितरण र विकृति नियन्त्रण गरि राज्यले सहज रूपमा लाइभ सेभिङ औषधी सहज रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका राखेको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले औषधी क्षेत्रमा देखिएको विकृति नियन्त्रण गर्दै राज्यले मानव जीवन बचाउनका लागि अत्यावश्यक पर्ने लाइफ सेभिङ औषधी सहज उपलब्ध गराउनुपर्ने राज्यसँग माग राखेका हुन् ।

शुक्रबार, २४ बैशाख, २०७८, दिउँसोको ०२:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर