विराटनगर । प्रदेश १ मा पछिल्लो समय २१ देखि ३० बर्ष उमेर समुहका युवाहरुमा कोरोना संक्रमणको दर उच्च देखिएको छ ।
सरकारी तथ्याङक अनुसार कुल संक्रमितको २६.१८ प्रतिशत युवा उमेर समुहमा संक्रमणको दर उच्च देखिएको हो । प्रदेश नं. १ मा बैशाख १ गतेदेखि २३ गतेसम्मको अवधिमा कुल ५ हजार ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ हजार १ सय ९१ महिला र ३ हजार १ सय ९४ जना पुरुषहरु रहेका छन् । उक्त आँकडामा सबैभन्दा बढी २१ देखि ३० बर्ष उमेर समुहका १ हजार १ सय ६४ जना युवाहरु संक्रमित भएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार उक्त उमेर समुहका ४ सय ७८ जना महिला र ६ सय ८६ जना पुरुष संक्रमित भएका हुन् ।
प्रदेश नं. १ मा हालसम्म कुल ३५ हजार ९ सय २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी संक्रमित हुने २१ देखि ३० बर्ष उमेर समुहका ९ हजार ८६ जना युवाहरु रहेका छन् । संक्रमित उमेर समुहमा ३ हजार ६ सय ५९ जना महिला र ५ हजार ४ सय २७ जना पुरुष छन् ।
युवाहरु रोजगारी, पठनपाठन र अन्य पेशागत जिम्मेवारीको शिलशिलामा आफ्नो अत्याधिक समय बाहिर नै व्यतित गर्ने भएको हुँदा उनीहरुमा संक्रमणको दर उच्च हुने गरेको विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनले यो उमेर समुहले कोरोना भाईरस विरुद्धको भ्याक्सिन समेत नलगाएको हुनाले संक्रमण जोखिममा पर्ने गरेको दाबी गरे । ‘युवा उमेर समुहको तुलनामा वृद्धवृद्धा तथा बालबालबालिकाहरु प्रायः घरमै बस्छन् । त्यसकारणले पनि उनीहरु सुरक्षित छन’ – उनले भने ।
उमेर अनुसार संक्रमितको वर्गीकरण गर्दा ३१ देखि ४० बर्षको उमेर समुह पनि संक्रमणको उच्च जोखिममा देखिएका छन् । प्रदेशको २३.७० प्रतिशत संक्रमितहरु ३१ देखि ४० बर्षको उमेर समुहका रहेका छन् । प्रदेश १ मा हालसम्म सो उमेर समुहका ८ हजार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैशाख १ देखि २३ गतेसम्मको अवधिमा मात्रै १ हजार ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
यसबाहेक प्रदेश १ मा बैशाख १ गतेदेखि २३ गतेसम्मको अवधिमा ४१ देखि ५० बर्ष उमेर समुहका ८ सय १०, ५१ देखि ६० बर्ष उमेर समुहका ६ सय १८ र ११ देखि २० बर्ष उमेर समुहका ३ सय ७५ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । यस्तै ६१ देखि ७० बर्ष उमेर समुहका २ सय ९९, ७१ बर्ष माथिका १ सय ५२ र ० देखि १० बर्र्ष उमेर समुहका १ सय २२ जनामा पनि कोरोनाको नयाँ संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले प्रदेश १ मा पछिल्लो समय ४ हजार ५ सय १२ जनामा नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रदेश १ मा गत चैत्रयता मात्रै २ हजार १ सय ६३ महिला र ३ हजार १ सय ७ जना पुरुषमा डबल म्युटेन्ट भेरिएन्ट सहितको संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी मोरङमा २ हजार ४ सय ९७, झापामा १ हजार १ सय १६ र सुनसरीमा ९ सय ६३ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । छिमेकी मुलुक भारतसँगको खुल्ला सीमानाका कारण हुने दोहोरो आवागमनले यी जिल्लाहरुमा संक्रमणको दर उच्च रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी र झापापछि प्रदेश १ को ईलामको ६७, धनकुटाको ५६, उदयपुरको ५७, सङ्खुवासभाको ५७, ताप्लेजुङ्गको ७७, भोजपुरको १४, खोटाङको ११, तेह्रथुमकोे १५, पाँचथरको ७ र ओखलढुङ्गाको २ जनामा नयाँ भेरिएन्ट सहितको संक्रमण पहिचान भएको छ । जसमा स्थायी ठेगाना पहिचान नभएका संक्रमितहरुको संख्या भने ३ सय ३१ रहेको छ ।
प्रदेश १ मा हाल ५ हजार २ सय ७० जनाको आईशोलेसनमा उपचार भईरहेको छ भने कुल ५ सय ३७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । प्रदेशमा हालसम्म भने ३० हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् ।