मान्छे घरघरै छिपेका थिए । एक जनासँग अर्को मान्छे त्रस्त हुनुपर्ने बेला थियो । परिवारकै सदस्यहरुबीच पनि दुरी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था आउँदै थियो । सधैं अंकमाल गर्ने स्वजनहरु पनि परपरैबाट देखादेखमै सीमित थिए ।
कोरोना त्रासदीको प्रारम्भिक बेलामा हल्ला थियो, कोरोना लाग्यो कि जीवन सकियो । यही हल्लाले धेरैलाई घरभित्रै थुनिन बाध्य पारेको बेला केही यस्ता पात्र पनि थिए, जसले आफ्नो ज्यानको पर्वाह नगरी कोरोना संक्रमितको उपचार र सेवामा महिनौं बिताए । भन्नेहरुले त त्यसलाई स्वास्थ्यकर्मीको पेशागत दायित्व भनेर अथ्र्याउन पनि सक्लान् । तर, घरभित्रै डराउनुपर्ने बेलामा संक्रमितहरुसँगै दिनरात समय बिताउने साहस गर्नु सेवाभावको उच्चतम नमुना थियो ।
यसरी खटिने लाखौं स्वास्थ्यकर्मीमध्येकै पात्र हुन्, रञ्जु उराँव र तुलसी शर्मा । चौतर्फी रुपमा त्रास उच्च भएका बेला परिवारबाट नितान्त टाढा, काखैमा हुर्किँदै गरेकी छोरीलाई घरैमा छाडेर कोरोना अस्पतालमा खटिन जानु भीषण युद्ध लड्न गएको सिपाही सरहको जोखिममा हेलिनुथियो । पेशागत चुनौती स्वीकार गरेर यी दुई अनमीले यो जोखिम लिएका थिए ।
‘कोरोना लागे मरिन्छ भन्ने हल्ला व्यापक थियो, त्यहीबेला छोरीसहितको परिवार छाडेर अस्पतालमा ढुक्कै बस्नुपर्ने थियो’, विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा खटिएकी रन्जुले त्यसबेलाको तनाव सम्झिइन् ‘सुरुका दिनमा त्रासले काममा ध्यान दिनै सकिएको थिएन । के होला र कसो होला भन्ने डरले मनमा घर गरेको थियो ।’
संक्रमणकालमा समयमा अस्पतालमा स्वास्थ्य मापदण्ड अनुसारका गुणस्तरीय ‘पिपिइ सेट’ उपलब्ध थिएनन् न उपचारका लागि पुग्दो सामग्री नै अस्पतालमा थियो । सुरक्षा सामग्री चाहियो भनेर उनीहरुले अस्पतालभित्र आन्दोलन नै गर्नुपरेको थियो । बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने भएपनि समयमा सुरक्षा सामग्री हात परेकै थिएन ।
अस्पतालमा भर्ना हुन आउने संक्रमितको उपचार र रेखदेखका लागि एक हप्ता बिहान, एक हप्ता साँझ गरेर, एक हप्ता राति गरेर खटिएकी रञ्जु भन्छिन् ‘सुरुमा धेरै त्रास थियो । तर, जब टिम नै अभ्यस्त हुँदै गयौं, डर कम हुँदै गयो ।’
गत वर्ष विराटनगरको कोरोना उपचार केन्द्रमा यस्तो अवस्था पनि आयो, हरदम संक्रमितको चाप भइरह्यो । आँखैअघि धेरैले ज्यान पनि गुमाउँदै थिए, कसैको अवस्था गम्भीर बन्दै जान्थ्यो । चिकित्सकहरु उनीहरुलाई बचाउन हरसम्भव प्रयास गरिरहेका हुन्थे । त्यस्तो बेलामा रञ्जु र उनका साथीहरु घण्टौंसम्म पीपीई सेटभित्र गुम्सिएर रहन्थे । न परिवारसँग सम्पर्क न आराम गर्ने फुर्सद । जेलभन्दा ठूलो सास्ती सरह थियो, अवस्था । उनले सुनाइन् ‘छोरी छोडेर, ड्युटीमा खटिँदा एक हप्तासम्म त काममा ध्यान नै गएन, पछि टिमसँग घुलमिल हुन थालेपछि थोरै सहज भयो ।’
काम गर्दै जाँदा उनलाई हुर्किँदै गरेकी छोरीसँग लुटुपुटु गर्ने रहर औधि जाग्थ्यो । घरमा छोरीले खोज्दा उनका पतिले उनी ‘आइसोलेट’ भएको होटलमा ल्याइदिन्थे । परबाटै हेरेर चित्त बुझाउनु पथ्र्यो । उनीसामु आउन छोरी रुने कराउने गर्थिन् । आमाको मन न हो, छोरी आफूसँग आउन नपाएर डाँको छाडेर रुँदा उनलाई पनि भक्कानो छुट्थ्यो । ‘छोरीलाई काखमा राख्न मन लाग्थ्यो, ग्वाम्लाङ्ग अंगालोमा बेर्न मन लाग्थ्यो’ उनले भनिन् ‘तर, आफ्नो जिम्मेवारी र त्यसले निम्त्याएको जोखिमले त्यसो गर्न सक्दिनँ थिएँ ।’
यसबीचमा उनले जे–जे भोगिन्, त्यो सानोतिनो अनुभव थिएन । कोरोनाले परिवारदेखि टाढा रहँदाको पीडा र समाजलाई नजिकबाट नियाल्ने अवसर दियो । उनलाई परिवारको साथ र हौसला भने कायम थियो । परिवार नै स्वास्थ्य क्षेत्रमा आवद्ध भएकाले पनि काम गर्न सहज भएको थियो । कोरोना संक्रमण भए मरिन्छ भन्ने सोच हाबी भएको त्यो अवस्थामा परिवारले भन्दा पनि घर जाँदा छिमेकमा हुने विभेदपूर्ण व्यवहारले मनोबल टुटने गरेको तितो अनुभवका पोका फुकाउदै उनी भन्छिन्, ‘सधैँ बोलिरहने छिमेकी पनि मलाई देख्दा नचिने झैँ गर्नुहुन्थ्यो ।’ त्यसबेला उनका लागि अस्पतालमा उपचाररत एक जना ९० वर्षीया वृद्धा हौसला दिने पात्र बनेर देखा परिन् ।
भर्ना भएका अरु धेरै विरामीलाई टेलिफोन सम्पर्क, सिसी क्यामेराको माध्यमबाट उनीहरुको अवस्थाबारे जानकारी लिन सकिन्थ्यो । तर, ती ९० वर्षकी वृद्धा न टेलिफोन चलाउँथिन्, न अन्य विद्युतीय सामग्री नै । उनको रेखदेख प्रत्यक्ष रुपमा गर्नुपथ्र्यो । उनी घरीघरी डराउँथिइन् । तर, ती वृद्धाको आत्मबल उच्च थियो । आफूले उपचार गर्दै गरेको उनै आमाको आत्मबल देखेर हौसला बढेको अनुभव सुनाउँदै उनले भनिन, ‘हामी आमाको हेरविचारका लागि नजिक हुनपर्ने हुन्थ्यो, उहाँको रोगसँग लड्ने क्षमता देखेर पनि आत्मबलले कोरोना जित्न सकिने रहेछ जस्तो लाग्थ्यो ।’
रुपनी सप्तरीकी २१ वर्षीया तुलसी शर्मा अनमी हुन् । हाल खोटाङस्थित जिल्ला अस्पताललमा कार्यरत उनको पनि कोरोनाकालको खटाइको अनुभव उस्तै छ । विराटनगरको एक प्राइभेट अस्पतालमा कार्यरत उनी कोरोना महामारीको समयमा कोसी कोभिडमा नियुक्ति पाइन् ।
उनलाई रोगकै कारण भौतिक र भौगोलिकरुपले परिवारबाट धेरै टाढा भएको महशुस भएको थियो । त्रासले भरिएको मन लिएर आफूले पाएको जिम्मेवारी पुरा गर्न कोभिड अस्पतालभित्र प्रवेश गरिरहँदा उनलाई जिवितै फर्कन्छु या फर्कन्न, परिवारसँग भेट होला या नहोला भन्ने चिन्ताले सताइरहन्थ्यो ।
उनी भन्छिन् ‘कोरोना त्यो समय हाम्रा लागि विल्कुलै नयाँ थियो, त्यसैले पनि अनुभव थिएन तर सिनियर दिदि, डाक्टरहरुको सहकार्यले धेरै हौसला मिल्यो । ९ महिनासम्म कोभिड अस्पतालमा खटिरहँँदा उनलाई आफ्नै टिमले उपचार गर्दै गरेका कोरोना संक्रमितको मृत्यु हुँदा मनभरी मृत्युको भय र पीडाले सुत्न नसकेका रातहरु पनि धरै छन्, उनको । सुरुवातका दिनहरुमा लक्षणबिनाका संक्रमित आउँदा खासै असहज नभएपनि पछिल्लो समय लक्षणसहितका बिरामी आउँदा काम गर्न थोरै सकस भएको उनी सुनाउँछिन् ।
‘लक्षणविनाका बिरामीहरु थिए, त्यो समय खासै समस्या थिएन’, उनी भन्छिन्, ‘जब पछिल्लो समय लक्षणसहितका बिरामीहरु आउनथाले त्यो समय बिरामी नजिक नै जानुपर्ने अवस्था भएकाले राति लगातार ५ घण्टासम्म पिपिइ लगाएर बसेको छु ।’ उनी थप्छिन्, ‘६ घण्टाको ड्युटीमा दुई या तीन जना छौँ भने तीन घण्टा बस्नैपर्ने हुन्थ्यो, राति ४ घण्टासम्म बस्नुपर्ने हुन्थ्यो ।’ आफूलगायत टिम खटेर रेखदेख गरेका बिरामी निको भएर घर फर्कदा जीवनकै सबैभन्दा धेरै खुशी मिलेको बताउँदै उनी भन्छिन्, ‘कुनै निको भएका बिरामीले घर फर्किने समय हाम्रो कामको प्रशंसा गर्दा हामीलाई हौसला पनि मिल्थ्यो ।’
दिनरात विरामीसँगै हेलमेल गर्दा संक्रमणको जोखिम हरक्षण उच्च रहन्थ्यो । तर, सावधानी अपनाउँदा आफू जोगिएको उनको भनाइ छ । आफूलाई जोखिममा राखेर विरामीको सेवामा खटिएका यी स्वास्थ्यकर्मीहरुको लगन साँच्चै अनुकरणीय थियो र छ । अहिले पनि संक्रमित बढिरहेका छन् । अस्पताल भरिन थालेका छन् । उनी र उनीहरु जस्तै स्वास्थ्यकर्मी फेरि उसैगरी खटिरहेका छन् ।