विराटनगर । दोस्रो चरणको कोरोना महामारीको जोखिम तीब्र भएसँगै मोरङमा मास्कको कृतिम अभाव सिर्जना गरि कालोबजारी सुरु भएको छ । उत्पादकहरुले नै छोटो अवधिमा धेरै लाभ कमाउने मनसायका मास्कको कालोबजारी सुरु गरेको थोक बिक्रेताहरुले बताएका छन् ।
मोरङका आधा दर्जन उद्योगहरुहरुले बजारमा मास्कको कृतिम अभाव सिर्जना गरि बढी मूल्यमा बिक्री वितरण गरिरहेको स्थानीय बिक्रेताहरुको भनाई छ । स्वदेशी बजारमा मास्कको अभाव देखिए पनि बढि मूल्यमा भारततर्फ हुने निर्यात पनि रोकिएको छैन ।
मोरङमा ६ वटा उद्योगहरुले औरा, रिजालको, राठी, डिजिलाईफ, टु–लिप्स र जि.डी.एस ब्राण्डका थ्री लेयर मास्क उत्पादन गर्दै आएका छन् । एउटा उद्योगले दैनिक ७० देखि ८० हजार पिस मास्क उत्पादन गर्छ । मोरङको कुल उत्पादन क्षमता दैनिक करिब ७ लाख पिस हो । तर, अहिले बजारमा मास्क पाउन सहज नरहेको थोक तथा खुद्रा बिक्रेताहरुले बताएका छन् ।
दोस्रो चरणको महामारी आउनुअघि थोकमा १ रुपैयाँ ५० पैसादेखि १ रुपैयाँ ९० पैसा प्रतिगोटाका दरले बिक्री भइरहेको मास्क अहिले ४ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँ प्रतिगोटाका दरले बिक्री भईरहेको भैरवी ईन्टरप्राईजेजका सञ्चालक सञ्जीवकुमार दासले बताउँछन् । ‘एक त मास्क पाउँदैन, पाईहाल्यो भनेपनि मूल्य बढेको छ’, उनले भने, ‘उद्योगमा सम्पर्क गर्दा ७ दिनका लागि बुक भइसकेको छ भन्छ, तर भारततर्फ पनि मास्क तस्करी भईरहेको बुझिन्छ ।’
मोरङका उद्योगहरुले उत्पादन गरेको मास्क देशैभर निर्यात हुने गर्छ । आम उपभोक्ता र अस्पतालहरुमा यसको खपत हुन्छ । पहिलो चरणको महामारीमा पनि मास्कको मूल्य सन्तुलित अवस्थामा थियो । त्यसबेला थोक व्यापारीहरुले अधिकतम् २ रुपैयाँ प्रतिगोटाका दरले मास्क खरिद गरेका थिए । तर, अहिले चर्को मूल्यबृद्धि भएको उनीहरु बताउँछन् ।
पहिलो चरणको महामारीमा सामान्य मास्कको मूल्य प्रतिप्याकेट ९० थियो । अहिले सोही मास्क १८० रुपैयाँ प्रति प्याकेटका दरले बिक्री भइरहेको छ । मास्कसँगै ग्लब्स र स्यानिटाईजरको मूल्य पनि आकासिएको विराटनगरस्थित रोयल मेडिकोका सञ्चालक उमर फारुकले बताए । उनले पहिलो चरणको कोरोना महामारीमा ३५० रुपैयाँ प्र िप्याकेटका दरले बिक्री भएको ग्लब्स हाल १ हजार ३ सयमा बिक्री भईरहेको जानकारी दिए ।
कोरोनाको जोखिम बढेसँगै थान कपडा व्यावसायी र उद्योगी स्वयम्ले पनि मास्क लुकाएर राखेको स्थानीय बिक्रेताहरुले बताएका छन् । दोश्रो चरणको महामारीअघि ७० प्रतिशत मास्क भारत निर्यात भएकाले हाल बजारमा मास्कको अभाव देखिएको उनीहरुको बुझाई छ ।
उद्योगीहरुले भने मास्क बनाउन चाहिने आवश्यक कच्चा पदार्थको अभावमा उत्पादन ठप्प भएकाले माग बमोजिमको मास्क आपुर्ति गर्न नसकिएको बताएका छन् । मास्कका लागि चाहिने मेलब्लन पेपर, नोज वायर र ईयर लुकलगायतका कच्चा पदार्थको अभावमा मास्क उत्पादन ठप्प भएको रिजालको मास्क उद्योगका सञ्चालक तथा मास्क नविन रिजालको भनाइ छ ।
तिरुपति बालाजी उद्योगका सञ्चालक सरोज खड्काले मास्क अड्याउने डोरी (इयर लुक) को अभावमा नेपालभर सञ्चालित २० भन्दा बढी मास्क उद्योगहरु बन्द भईसकेको बताएका छन् । उनले अबको केही दिनभित्रै सहज रुपमा ईयर लुक उपलब्ध नभए ९० प्रतिशत मास्क उद्योग बन्द हुने अवस्थामा रहेको जानकारी दिए ।
मास्क बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात हुने गरेको छ । दोश्रो चरणको महामारीअघि सबै उद्योगीहरुसँग मास्कको पर्याप्त स्टक भएकाले कसैले थप आयात गरेनन् । तर, महामारीले पुनः ढोका ढकढक्याएपछि बजारमा मास्कको माग बढेसँगै कच्चा पदार्थको अभावमा नयाँ मास्क उत्पादन गर्न नसकिएको र भारतमै महामारी बढेकोले कच्चा पदार्थ पाउन नसकेको उद्योगीहरु बताउँछन् ।
मोरङमा मात्रै दैनिक ३ टन ईयर लुक (डोरी) को खपत रहेको मास्क एशोसिएशन अफ नेपालले जनाएको छ । तर, हाल भारतबाट आयात रोकिएपछि ४० दिन पर्खिएर चीनबाट कच्चा पदार्थ आयात गर्नुको विकल्प नरहेको उद्योगी खड्काको भनाई छ ।
प्रथम चरणको कोरोना महामारीमा बजारमा मास्कको कृतिम अभाव सिर्जना गरेर कालोबजारी भएको थियो । त्यसबारे प्रशासनसहितको बजार अनुगमनपछि कालोबजारी गर्नेलाई कार्वाहीसमेत गरिएको थियो । अहिले बजारमा कालोबजारी बढेपनि अनुगमन हुन सकेको छैन ।