बाँसको पुल विवादमा हत्या : मुख्य योजनाकार पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका ५ कसेनीको लोहन्द्रा खोलामा तीन साता अगाडिको ग्याङफाइटमा भएको हत्यामा प्रकरणका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको टोलीले बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदारलाई सोमबार पक्राउ गरेको हो ।

घटनाको मुख्य योजनाकार मानिएका सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र ११ मधुवानबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । भदौ १२ गते भएको ग्याङ्ग फाइटमा धारिलो हतियार प्रहारबाट चन्द्रकुमार राईको हत्या भएको थियो ।

घटनामा घाइते भएका राईको उपचारको क्रममा विराट टिचिङ्ग हस्पिटलम मृत्यु भएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा यसअघि पाँच जनालाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमरा खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई प्रहरी नियन्त्रणमा छन् । घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।

स्थानीय लोहन्द्रा खोलामाथि मानिस र दुई चक्के सवारी साधन आवतजावत गर्न बनाइएको बाँसको पुलबाट संकलन गरिएको रकमको विवादकोकारण घटना भएको थियो । स्थानीय राजन चौधरी, मञ्जा माझीलगायतका युवाहरुले मोटसाइकल तार्दा २५ रुपैयाँ लिने गरेका थिए । भदौ ११ गते राति मादक पदार्थ सेवन गरेर आएका कसेनीकै दिनेश श्रेष्ठलगायतका युवाहरुले पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनुपर्ने भन्दै विवाद गर्न थालेपछि घटना सुरु भएको थिययो ।

सो क्रममा केही युवा लिएर सरदार आइपुगेपछि उग्र बनेको विवाद स्थानीयले साम्य पारेका थिए । तर, भोलिपल्ट रिसईबी साँधेर बसेका सरदारले २५÷३० जना युवा बटुलेर अघिल्लो रात विवाद गर्नेको खोजी गर्दै आक्रमण सुरु गरेका थिए । झगडा सुरु भएको चाल पाएर सम्झाउन पुगेका चन्द्रकुमारको घटनामा मृत्यु भयो ।

अघिल्लो दिनको घटनासँग जोडिएका युवाहरू भएको भन्दै राई परिवारमाथि आक्रमण गरिएको थियो । तर, उनीहरुको अघिल्लो घटनामा कुनै संलग्नता थिएन ।

मङ्गलबार, ३० भदौ, २०७७, दिउँसोको १२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर