रोटरीद्धारा स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सुनसरीको बर्जु गाउँपालिकामा खाद्यान्न र स्वास्थ्य सुरक्षा लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

क्लबले बिहीबार मास्क, रोग प्रतिरोद्यात्मक क्षमता वृद्धि गर्ने होमियोपैथिक औषधी र खाद्यान्न वितरण गरेको हो । कोरोना महामारी विरुद्धको लडाईमा सरोकारवाला निकायहरुसँगको सहकार्यमा काम गर्दै आएको रोटरी क्लबले बिहीबार एक अनौपचारिक कार्यक्रमकाबीच स्थानिय रोटरी कम्युनिटी कप्सका संयोजक पुष्पराज चौधरीमार्फत स्थानीयबासीलाई स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेको हो ।

क्लबले बिहीबार कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी हाल जारी निषेधाज्ञाका कारण २ छाक टार्न हम्मे हम्मे परेका गरिब तथा विपन्न वर्गका २ सय ५० जनालाई खाद्यान्न वितरण गरेको छ । यसका साथै क्लबका तर्फबाट कोरोना संक्रमणको जोखिम न्युनीकरण गर्ने उद्देश्यका साथ ५ सय थान मास्क र आवश्यक होमियोप्याथिक औषधी समेत हस्तान्तरण गरिएको क्लबकी सचिव गिरिजा सारडाले जानकारी दिनुभयो ।

क्लबले यसअघि पनि स्थानीय तह, सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुलाई मास्क, पञ्जा र स्यानिटाईजर लगायतका आधारभुत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिसकेको छ ।

शुक्रबार, २६ भदौ, २०७७, दिउँसोको ०२:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर