मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवामा कोरोना

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार जवरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएका सुनवर्षी नगरपालिका–४ का २६ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

कोरोना देखिएपछि ती थुनुवालाई विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ । मोरङ प्रहरीको हिरासतमा मंगलबार बिहानसम्ममा २६ जना थुनुवा रहेकोमा अरु २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

अनुसन्धानका लागि पक्राउ परेकालाई हिरासतमा राख्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बलात्कारको आरोपमा पक्राउ गरेर अनुसन्धान थालिएका थुनुवामा कोरोना देखिएपछि अरु थुनुवालाई संक्रमण नफैलिओस भनेर हिरासतमा सर्तकता अपनाएको बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत धेरै प्रहरीमा कोरोना देखिएको भएपनि जिल्ला प्रहरी कार्यालयका प्रहरीमा कोरोना देखिएको थिएन ।

मङ्गलबार, २३ भदौ, २०७७, बिहानको ११:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर