भारतीयको कुटाईबाट घाइते यादवको मृत्यु्

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा घाइते भएका सप्तरीका एक बृद्धको मृत्यु भएको छ ।

गत भदौ ६ गते भारतीयको कुटपिटबाट घाइते भएका सप्तरीको डाक्नेश्री नगरपालिका ६ औरहीका ६५ वर्षीय रामदेव यादवको उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

यादवको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । आफ्नो धानबालीमा भैंसी चराउन आएका भारतीयको समूहलाई गाली गर्दा उनीमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हुँदै विराटनगर ल्याइएको थियो । तर, विराटनगरका कुनैपनि अस्पतालले उपचार गर्न नमानेपछि धरान लगिएको यादवका छोरा ललनले बताउनुभयो ।

धानबालीमै भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताउनुभयो ।

कुटपिटमा संलग्नमध्ये एकजना भारतीयलाई नेपालतर्फ नै भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ परेका भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादव हुन् ।

सोमबार, २२ भदौ, २०७७, दिउँसोको ०३:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर