धरान । स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरु सोमबारदेखि आन्दोलित भएका छन् ।
प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएकोले बाध्य भएर आन्दोलित हुनु परेको नर्सहरुको भनाइ छ ।
बिरामीको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले पीपीइ, पन्जा र माक्ससमेत नदिएको गुनासो छ । सोमबार मात्रै प्रतिष्ठानको आइसीयूमा उपचाररत ८ जना बिरामीमा कोरोना संक्रमण रहेको पुष्टि भएछ । कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा नपठाइ डीउटीमै खटाएपछि उनीहरु आन्दोलित भएका हुन् ।
संक्रमितको कन्ट्रयाकमा रहेकाहरुको पीसीआर चेक गरी तत्काल क्वारेन्टाइन पठाउनुपर्नेमा प्रतिष्ठानले डिउटीमा नै खटाएको छ । जसले गर्दा अन्य बिरामी र आफूलाई पनि जोखिम बढेको नर्सहरुको भनाइ छ । प्रतिष्ठानमा हालसम्म दर्जन बढी स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ।
आइसियुमा उपचाररत अन्य विरामीका आफन्तहरुले पनि स्टाफ नर्सहरुको आन्दोलनलाई समर्थन जनाउदै धर्नामा बसेका छन् । उनीहरुले पनि आइसियुमा पिसिआर रिपोर्ट नआई संक्रमितहरुलाई राखेर अन्य विरामीहरुलाई संक्रमणको जोखिममा पारेको बताएका छन् ।
प्रतिष्ठानले मास्क नदिएको कारण आफूहरुले नै नर्सहरुलाई मास्क दिनुपरेको विरामीको कुरुवा जशोदा लिम्बूले बताउनुभयो । नर्सहरुलाई विरामीका कुरुवाहरुले नै मास्क र पञ्जा किनेर दिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
बिरामीको उपचारमा संलग्न डाक्टरलाई क्वारेन्टाइनको व्यवस्था गरेपनि नर्सलाई भने क्वारेन्टाइनको व्यवस्था नगरी विभेद गरिएको आन्दोलित नर्सहरुले बताएका छन् । प्रतिष्ठान अस्पताल निर्देशक डा.गौरीशंकर साहले आर्थिक संकटका कारण नर्सहरुलाई भनेअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको जवाफ दिनुभएको छ ।