कोरोनाबाट मृत्यु भएका ८६ प्रतिशत संक्रमित दीर्घरोगी

विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ भने प्रदेश नं. १ मा १५ पुगेको छ ।

प्रदेश नं. १ मा ३२ देखि ८५ बर्ष उमेरसमुहका १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । ज्यान गुमाउनेहरुमा १३ पुरुष र २ महिला रहेका छन् । प्रदेश नं. १ मा मृत्यु भएका ३ पुरुष र १ महिलाको स्थायी ठेगाना प्रदेश नं. २ हो । प्रदेशमा कोरोना पुष्टि भएर मृत्यु भएकामध्ये ८६ प्रतिशत पहिलेदेखि दीर्घरोगी रहेको देखिएको छ ।

प्रदेशको राजधानी विराटनगरमा हालसम्म ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु अधिकांश पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, दम, मिर्गौला र श्वासप्रश्वासको समस्याबाट ग्रसित रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रदेशमा सबैभन्दा पहिले गत साउन १ गते सुनसरीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भयो । असार ३१ गते भर्ना गरिएका उनमा मधुमेह, उच्च रक्तचाप र मुटु रोगको समस्या थियो । उपचारकै क्रममा असार ३१ गते बुधबार वृद्धको स्वाब संकलन गरिएकोमा भोलिपल्ट साउन १ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोही दिन मृत्यु भयो ।

कोरोना पुष्टि भई साउन १९ गते मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय वृद्धमा पनि पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियो । यस्तै कोरोना पुष्टि भई गत साउन २१ गते मृत्यु हुने विराटनगर–९ का ४५ वर्षीय पुरुष र रङ्गेली–८ का ४५ वर्षीय पुरुषमा पनि श्वासप्रश्वासको पुरानै समस्या थियो ।

साउन २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ का ५८ वर्षीय पुरुषको पनि अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । उनको शवलाई आइसोलेशनमा राखेर स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै साउन २८ गते बुधबार अपरान्ह ५ बजे मृत्यु भएका विराटनगर–३ का ५७ वर्षीय एक पुरुष पनि दम र सुगरका बिरामी थिए । सोही दिन बिपी कोईराला स्वास्थ्य विज्ञान प्रष्ठिानमा मृत्यु भएका बुढीगंगा–२ का एक ५५ वर्षीय एक पुरुष पनि लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित थिए । साउन २९ गते मृत्यु भएका विराटनगर–१५ का ३२ वर्षीय युवकमा श्वासप्रश्वासको समस्या देखिएको थियो भने सोही दिन मृत्यु भएका सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष पनि निमोनिया भई श्वासप्रश्वासको जटिल समस्याबाट ग्रसित थिए ।

साउन २९ गते धरानको बिपी कोईरालामा ज्यान गुमाएकी धनुषाको ढल्केबर–७ की ६५ बर्षीया कोरोना संक्रमित महिलामा पनि निमोनिया भएको थियो । त्यसैगरि कोरोना पुष्टि भई साउन ३२ गते आईतबार धरानको बिपी प्रतिष्ठानमा मृत्यु भएकी विराटनगर–२ की ५० वर्षीया महिलामा पनि फोक्सो र थाईराईडको समस्या थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई गत साउन ३१ गते कोशी अस्पतालको आईशोलेसनमा भर्ना गरिएका मोरङको कटहरी गाउँपालिका–१ का ४७ वर्षीय पुरुषको पनि उपचारको क्रममा सोमबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । प्रदेशमा कोरोना पुष्टि भई ज्यान गुमाएका ८६ प्रतिशत संक्रमितहरु पहिलेदेखि नै जटिल प्रकृतिका रोगबाट ग्रसित पाईएको डा. दासको भनाई छ ।

उहाँले भन्नुभयो, “रोग प्रतिरोधात्मक क्षमता उच्च भएका ८५ प्रतिशत कोरोना संक्रमित स्वयं निको हुने गरेका छन् । प्रतिरोधात्मक क्षमता न्युन भएका संक्रमितहरुमा लक्षण देखिए केहीले औषधि खानुपर्ने अवस्था छ ।”

प्रदेश नं. १ मा सोमबारसम्म २ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ०.७१६ प्रतिशतको मात्र मृत्यु भएको छ ।

दीर्घरोगीहरुले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन बिशेष ध्यान दिए कोरोनालाई सजिलै परास्त गर्न सक्ने चिकित्सकहरुको भनाई छ । पछिल्लो समय नेपालमा मिर्गौला, दम र फोक्सो लगायतका स्वास्थ्य समस्या भएका जटिल प्रकृतिका रोगीहरुले ज्यान गुमाउने गरेका छन् । प्रदेश १ स्थायी ठेगाना भई मृत्यु भएका ११ संक्रमितहरुमध्ये ४ जना संक्रमितहरु पहिलेदेखि नै मिर्गौला, दम र फोक्सोको रोगबाट सिकिस्त रहेको देखिएको छ । तर, उनीहरुले ज्यान गुमाउनुको मुख्य कारण उनीहरुले सही उपचार नपाउनु नै रहेको चिकित्सकहरुको दाबी छ ।

कोशी अस्पतालको आईशोलेसनमा सामान्य स्वास्थ्य समस्या भएका कोरोना संक्रमितहरुलाई राखेर मोनिटरिङ गर्ने गरिन्छ । जटिल प्रकृतिका स्वास्थ्य समस्या भएका संक्रमितहरुलाई कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरि उपचार गरिन्छ । तर, कोभिड–१९ अस्पतालमा अक्सिजन, आईसियु र भेन्टिलेटर सञ्चालन नहुँदा संक्रमितको मृत्यु हुने गरेको छ । अर्कोतिर कोभिड अस्पतालमा बेड नहुँदा जटिल प्रकृतिका दीर्घरोगीहरुलाई पनि कोशी अस्पतालकै आईशोलेसनमा राख्नुपर्ने अवस्था सिर्जना भएकाले उचित उपचारको अभाव उनीहरुको ज्यान गएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासको तर्क छ ।

तर अब कोभिड–१९ उपचार केन्द्रमा लक्षण देखिएका संक्रमितहरुलाई मात्र राखिने तयारी भईरहेको जनाईएको छ । हाल भने कोभिड–१९ अस्पतालको भुँई तल्लामा लक्षण नदेखिएका र माथिल्लो तल्लामा लक्षण देखिएका संक्रमितहरुलाई राखिँदै आएका छन् ।

मङ्गलबार, ०२ भदौ, २०७७, दिउँसोको ०१:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर