विराटनगर । विराटनगरका एक दम्पत्तीसहित शुक्रबार प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगरका २, झापाका ४ र सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छध ।
विराटनगर– ६ मा ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु श्रीमान्–श्रीमती हुन् । उनीहरू भारतको नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए ।
उता झापाको दमक नगरपालिकामा १ जना महिला र दुई जना पुरुष तथा मेचीनगरमा १ जना पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको कोशी गाउँपालिकामा ३ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देवानगञ्ज गाउँपालिकामा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ ।
मोरङका २, झापाका १ जना र सुनसरीका १० जनाको कोशी अस्पतालमा र झापाका तीन जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा कोरोना देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।
संक्रमितमध्ये ३७६ जना उपचारपछि घर फर्किएका छन् । बिहीबार मात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २१ जना र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेशनबाट ७० जना डिस्चार्ज भएका थिए ।