नेपाल प्रिमियर लिग : उद्घाटन खेलमा काठमान्डु गोर्खाजको प्रभावशाली जित

नेपाल प्रिमियर लिग : उद्घाटन खेलमा काठमान्डु गोर्खाजको प्रभावशाली जित

विराटनगर । बलिङ र ब्याटिङ दुवै विभागमा समान रूपले चम्किएको काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उद्घाटन खेलामा सानदार जित निकालेको छ ।

डिफेन्डिङ च्याम्पियन जनकपुरलाई ५ विकेटले पराजित गर्दै काठमाडौंं गोर्खाजले जित निकालेको हो ।

सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा पहिलो पटक फ्लड लाइटअन्तर्गत खेलिएको प्रतिस्पर्धामा काठमान्डुले १३१ रनको लक्ष्य २ ओभर बाकी छँदै पूरा गरेको थियो । करिब १० हजार दर्शकबीच भएको खेलमा
राम्रो सुरावात गरेको काठमान्डुका बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन र आकाश त्रिपाठीले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रन बनाएका थिए । भीम सार्की ३ रनमा आउट भए।

बलिङमा चम्किएका मिलिन्द कुमारले ब्याटिङतर्फ पनि २२ बलमा १ छक्काको मद्दतमा १९ रन बनाए । मिलिन्द कुमार आउट भएपछिको अर्को ओभरको पहिलो बलमा जोन सिमसन पनि १३ रनमा अनिलकुमार साहको एलबिडब्लूको धरापमा परेका थिए । तर, आदिल अन्सारी ४ बलमा १ छक्काको मद्दतमा नटआउट ८ रन बनाउँदा काठमान्डु २ ओभर बाँकी छदै लक्ष्य पूरा गर्‍यो ।

बलिङमा जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, यान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । चार ओभरभित्र ३३ रन जोडेको जनकपुरले पाँचौं ओभरमा दुई विकेट गुमाएको थियो ।

पाँचौं ओभरमा काठमाडौंका लागि मिलिन्द कुमारले दुई विकेट लिँदा एक रन मात्र खर्चिएका थिए । उनले जनकपुरका ओपनर लाहिरु मिलान्थालाई विकेट किपर सिमसनबाट क्याच गराए भने एक बलपछि कप्तान अनिलकुमार साहलाई शून्यमा इरासमसबाट क्याच गराउँदै पेभिलियनको बाटो देखाए ।

दुई ओभरपछि मिलिन्दले यान निकोल लोफ्टी इटनलाई २ रनमा बोल्ड गरेपछि जनकपुर दबाबमा परेको थियो । भारतको रणजी ट्रफी तथा आइपिएल खेलेका मिलिन्द कुमार अहिले अमेरिकाको राष्ट्रिय टोलीमा छन् । उनले आफ्नो चार ओभरको स्पेलमा १५ रन खर्चिदा काठमाडौंको पक्षमा दबाब बनाएका थिए ।

जनकपुरका लागि ओनपिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ४१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए । शाहब अलामको बलमा काठमाडौंका विकेटकिपर सिमसनबाट आसिफ स्टमपिन हुनुअघि जनकपुरका अर्का विदेशी खेलाडी सन्जय कृष्णमूति २ रनमा सन्तोष यादवको बलमा बोल्ड भएका थिए ।

मयन कुमार र लाहिरु समाराकूनले पाँचौ विकेटका लागि ४८ रनको साझेदारी गरे । समाराकूनले २१ बलमा २ छक्काको मद्दतमा २२ रन बनाएर अन्तिम ओभरको पाँचौ ओभरमा करण केसीको बलिङमा शाहबबाट क्याच भए । मयन यादवले नटआउट ३४ रन बनाए । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

बलिङमा मिलिन्द कुमारले ३ विकेट लिँदा करण केसी, सन्तोष यादव र शाहब अलामले १–१ विकेट लिए।

एनपिएलमा मंगलबार दुई खेल हुँदैछन् । पौने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने अपरान्ह चार बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।