विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार सामान्य अंक घटेर बन्द भएको नेप्से सोमबार सामान्य अंक बढेर बन्द भएको हो ।
सोमबार नेप्से परिसूचक ९.७८ अंक बढेर २५५०.३६ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.४३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ६१ हजार ६३५ पटकको कारोबारमा ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँबराबरको ८८ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । कारोबारमा आएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १८ करोड ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १६ करोड नाघेको छ।
बजारका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ भने निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

